नयाँ बुलन्द
इलाम : इलामको माईजोगमाई गाउँपालिकाको आधा क्षेत्र डेढ महिनादेखि अन्धकार बनेको छ । विद्युत अवरोध भएको डेढ महिना बितिसक्दा समेत मर्मत नहुँदा स्थानीय अन्धकारमा जीवन बिताउन बाध्य भएका छन् । विद्युत नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ ।
त्यस क्षेत्रमा गाडिएका काठका पोलहरु सडक निर्माणका क्रममा ढलेपछि गाउँपालिकाको वडा नम्बर २, ४, ५ र ६ का करिब दुई सय ५० घरधुरी बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका हुन् । त्यहाँका काठका पोलहरु जिर्ण भएकाले सडक निर्माणका क्रममा ढलेको वडा सचिव गोविन्द भट्टराईले जानकारी दिए ।
उनका अनुसार सडक निर्माण गर्ने क्रममा गाउँपालिकाका शनिश्चरेदेखि गोर्खेढापसम्मका ६ वटा पोल ढलेका थिए । तर त्यस ठाउँमा नयाँ पोल प्रतिस्थापनमा ढिलाई भएको छ । त्यहाँ १५ वटा नयाँ पोल फेर्नुपर्ने भएकाले ढिलाई भएको बताईएको छ ।
साथै त्यस क्षेत्रमा नयाँ ट्रान्समिटर जडान गर्नुपर्ने समेत भइकाले विद्युत सुचारु हुन अझ केही दिन लाग्न सक्ने नेपाल विद्युत प्राधिकरण उपशाखा कार्यालय पशुपतिनगरका विनोद मास्केले जानकारी दिए । पोल गाडी सकिएकाले नयाँ ट्रान्समिटर जडान गर्नसाथ विद्युत सुचारु हुने उनले बताए ।
त्यस क्षेत्रमा स्थानीय र तत्कालिन गाविसको पहलमा चार वर्षअघि विद्युत विस्तार गरिएको थियो ।