इलाम : इलाममा सुरक्षित प्रसुती गराउने भन्दा गर्भपतन गराउने महिलाको संख्या धेरै पाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यलय इलामको तथ्याङ्क अनुसार तीन आर्थिक वर्षमा चार हजार आठ सय ५ जनाले सुरक्षित गर्भपतन सेवा लिदाँ चार हजार एक ५४ जनाले मात्र सुरक्षित प्रसुती सेवा लिएको पाइएको छ ।
यो संख्यामा सुरक्षित प्रसुती गराउने भन्दा गर्भपतन गराउने महिलाको संख्या छ सय ५१ ले बढी देखिन्छ । सुरक्षित गर्भपतन सेवालाई निःशुल्क बनाएपछि संख्यामा वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यलय इलामका दिपेन्द्र आचार्यले बताए ।
उनका अनुसार सुरक्षित गर्भपतन गराउनेमा २० वर्ष माथिका चार हजार तीन सय २२ जना छन् भने २० वर्ष मुनीका चार सय ८३ जना रहेको छ ।
कार्यलयको तथ्याङ्क अनुसार आव ०७१/७२ मा एक हजार एक सय ७४, आव ०७२/७३ मा एक हजार आठ सय १५ र आव ०७३/७४ मा एक हजार आठ सय १६ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
यस्तै आव ०७१/७२ मा एक हजार चार सय ७०, आव ०७२/७३ मा एक हजार दुई सय ८८ र आव ०७३/७४ मा एक हजार तीय सय ९६ जनाले सुरक्षित प्रसुती सेवा लिएको पाइएको छ ।
भौगोलिक बनावटमा विविधता भएका कारण इलामका विभिन्न स्थानमा २२ वटा स्वास्थ्य संस्था तथा बर्थिङ्ग सेन्टरले सुरक्षित गर्भपतन तथा प्रसुती सेवा दिदै आएको छ ।