सुजता सुनुवार
इलाम : गरिबी परिचय पत्र नहुँदा गरिबिको रेखामुनि रहेका इलामका अधिकाँश मानिसहरु स्वास्थ्य बिमाबाट पाउने स्वास्थ्य सेवा पाउनबाट बञ्चित भइरहेका छन् । इलाममा असार मसान्तसम्ममा २१ हजार २ सय ६४ जनाले स्वास्थ्य बिमा गरीसकेको सामाजिक सुरक्षा विकास समिती इलामका दर्ता अधिकारी खेमराज अधिकारीले बताए ।
गरिबी परिचय पत्र बितरण भएको भए त्यस्ता व्यक्तिलाई बिमाबापत दिइने सुविधा हामी दिन सकिने पनि उनको भनाई छ । स्वास्थ्य बिमामा योगदान रकममा अति गरिबलाई १०० प्रतिशत , गरिबलाई ७५ प्रतिशत र सिमान्तकृत गरिबलाई ५० प्रतिशत योगदान रकम छुट पाइने व्यवस्था छ । यसैक्रममा सामाजिक सुरक्षा विकास समिती इलामको तथ्याङ्क अनुसार इलाम जिल्लाबाट मात्रै स्वास्थ्य सेवा लिने १५ हजार आठ सय ९५ जना छन् ।
झापाबाट तीन हजार नौ सय ६५ जना र अन्यबाट सात सय २५ जनाले स्वास्थ्य सेवा लिइरहेका छन् । यस्तै ४० बर्ष उमेर पार गरेका ७ सय २० जनाले पहिलो चरण अन्तरगत स्वास्थ्य परिक्षण समेत गराएका छन् ।
जिल्लामा रोग पहिचान नभएका, ग्याष्ट्रिक, मधुमेह, तल्लो पेट दुख्ने विरामीको संख्या बढी रहेको जनाइएको छ । विमितका उपचारका लागी हाल नौ सय २८ प्रकारका औषधी निः शुल्क उपलब्ध गराइन्छ । इलाममा २०७३ भाद्र १ गतेबाट विमितहरुलाई स्वास्थ्य सेवा दिन सुरु गरिएको हो ।


















































