असोज ३ गते संविधान दिवस हो, तर यो संविधान दिवसको दिन नेपालमा जुन खुशियाली छाउनुपर्थ्यो, त्यो खुशियाली देखिँदैन । संविधान दिवसका दिन पहाडमा खुशियाली मनाइए पनि तराईका २० जिल्लामा भने खुशियाली मनाइँदैन । कारण, २०७२ को असोज ३ गते, जुन दिन संविधान लागू भयो, र जुन दिन तीन ठूला दलहरुले संविधान लागू भएको दिनलाई व्यापक दीपावलीको आयोजना गरी मनाउने निर्णय गरे, ठीक त्यसै दिन त्यो संविधान विभेदकारी छ भनेर विरोध जुलुसमा भाग लिने वीरगञ्जका शत्रुघन पटेलको सुरक्षाकर्मीले चलाएको गोली लागेर शहादत प्राप्त गरेको दिन हो । आफ्नो घरमा लास भएपछि कुनै पनि परिवारले त्यो दिन कुनै खुशियाली मनाउन सक्दैन ।
मधेसमा पचासभन्दा बढी वीरहरु सहादत भए संविधानमा समान अधिकार माग्दै । परिवारका सदस्य मारिएका दिन हाम्रा लागि बार्षिकी हो । त्यो अशुभ दिन हाम्रो संविधान दिवस हुनै सक्दैन । असोज ३ का दिन हामी बार्षिकी मनाउँछौं कालो दिवस मनाउँछौं । असोज ३ गते त्यसकारण समानताका लागि संघर्षरत मधेसीहरुले एउटा उत्सवका रुपमा मनाउन सक्दैन ।
तपाईं दिपावली मनाउनुस र शुभ दिन भनी उत्सव मनाउनुस् । तर, हामी मधेसीहरुका लागि यो दिन भनेको कालो र अशुभ दिन नै हो । हाम्रो परम्परामा एकजना छिमेकीका घरमा कसैको मृत्य भएको छ भने दाह संस्कारमा छिमेकी सहभागी हुन्छ, जान्छ र यदि कुनै कारणले सहभागी भएन भने पनि छिमेकीले कमसेकम उत्सव र उल्लास चाँहि मनाउँदैन । हो, त्यही कारणले तपाईंका र हामीबीच मतभेद छन् । अहिले पहाड र मधेसबीच जुन फाटो छ, यसको समाधान नगर्ने हो भने दई समुदायबीचको फाटो झन गहिरिँदै जाने निश्चित छ ।
तपाईंलाई हामी भारतीय हो जस्तो लाग्छ । यही माटोमा पुस्ता दरपुस्ता देखिको भूमिपुत्र र पुत्री हौं हामी। हो, यो सही हो कि न त हामी तपाईंलेले परिभाषा गरेको नेपाली हौं र न त भारतीय । हाम्रो आफनो छुटै मौलिक पहिचान छ । सुगौली सन्धिअन्तर्गत ब्रिटिशले गोरखाली शासकलाई भात खान दिएको समथर भुमिका बासिन्दा हौं हामी ।
गोर्खाली शासकले जहिले पनि मधेसको भूमिलाई आफनो बिर्ता सम्झे पनि त्यहाँका जनतालाई कहिले पनि आफ्नो बुझ्न सकनेन् । मधेस र गोरखाली शासनको सम्बन्ध त्यही सुगौली सन्धिले बाँधेको छ, जसमा भनिएको छ तराईका जनतालाई कुनै विभेद र अभियोजन नेपाली सरकारले गर्न पाउने छैनन् ।
फेरि किन हामीमाथि गोली प्रहार र झुठा मुद्दा लगाई अभियोजन गरिन्छ त ? हामी नेपाली हौं, पहाडका बासिन्दासरह हाम्रो अधिकार समान छन, फेरि पनि किन हामीलाई दोस्रो दर्जाको नागरिकसरह विभेद गरिन्छ? हामीलाई किन पराजित समूहको रुपमा व्यवहार गरिन्छ ?
कालो दिवस किन?
असोज ३ मधेसीहरुका लागि कालो दिनका रुपमा रहिरहने छ । जसका यी कारणहरु रहेका छन्।
यो संविधानले मधेसीहरुको कलस्टरलाई विभिन्न प्रदेशमा मिसाएको छ, र यो संविधानले मधेसीहरुलाई आफ्नै भूमिमा विभाजित तुल्याइदिएको छ । यो संविधानले पहाडमा कम जनसंख्यामा स्थानीय तह बन्ने तर त्यसको धेरै गुना बढी जनसंख्याको आधारमा मधेसमा स्थानीय तह बन्ने विभेदकारी सिद्धान्तलाई आत्मसात गरेको छ ।
त्यसैगरी, यो संविधानले महिलालाई पुरुषसरह आफ्ना सन्तानलाई नेपाली नागरिकता दिलाउने अधिकार दिँदैन भने यो संविधानले नागरिकताको प्रकारको आधारमा व्यापक विभेद सिर्जना गरेको छ । संविधानले जन्मसिद्ध र अंगीकृत नागरिकहरुलाई राष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा मुख्यमन्त्री जस्ता १० वटा पदमा निर्वाचित वा नियुक्त हुनबाट रोक लगाएको छ । यस्तो विभेदकारी प्रावधान राणाहरुको क्रुर शासनको पालमा पनि थिएन ।
यो संविधानले विविधतालाई स्वीकार गरे पनि केवल नेपाली भाषालाई राष्ट्र भाषा मानेको छ । संविधानले संघीयता अपनाए पनि संघीयताको सिद्धान्तलाई तिरस्कार गरेको छ । जातीय तथा भौगोलिक पहिचानलाई अस्वीकार गरेको छ । प्रदेशको मातहतमा हुनुपर्ने विषयहरुमा पनि प्रदेशलाई स्वायत्तता दिएको छैन । प्रदेशले गराउनुपर्ने स्थानीय चुनाव केन्द्रले गराएको छ ।
यति मात्र होइन, अन्तरिम संविधानले दिएको अधिकार पनि यो संविधानले खोसेको छ । अन्तरिम संविधानले आरक्षणका लागि सातवटा कल्स्टर छुट्याएको मा यो संविधानले ती कल्स्टरहरुलाई बढाएर १५ पर्याएको छ र खस आर्यको लागि पनि आरक्षणको व्यवस्था गरेको छ ।
तपाईलाई थाहा छ, संविधानको दुईवटा धारामा खस आर्यको परिभाषा गरिएको छ, तर मधेसी, थारु एवं अन्य जनजातिलगायतका आरक्षणका लागि छुट्याइएको कलस्टरहरुको परिभाषा गरिएको छैन । के अन्य कलस्टरहरुको परिभाषा जरुरी छैन ? सबैलाई थाहा छ, खस आर्य भनेको नेपालको रुलिङ क्लास हो, जुन समुदायले पृथ्वी नारायण शाहको पालादेखि अवसरमा एकाधिकार स्थापना गर्दैआएको छ । हो, खस आर्य समाजमा पनि जनता गरीव छन्,तर तिनको समस्या समाधानको लागि आरक्ष्णको व्यवस्था जरुरी थिएन, तिनीहरुलाई गरीवी निवारणको कार्यक्रम मार्फत समाधान खोज्नुपर्थ्यो । तर ठूला तीन दलका नेताहरुले त्यस विषयमा ध्यान दिएको देखिएन । यो संविधानको निर्माणमा ठूला तीन दलका खस आर्य नेताहरु नै हावी थिए र उनीहरुलाई साथ दिने कर्मचारीहरु पनि खस आर्य नै थिए, त्यसकारण शायद आफ्नो समूहहरुको अधिकारबारे बढी सचेत थिए ।
संशोधनको नाटक
तीन दलले संविधानको प्रथम संशोधन त गरे, तर दोस्रो संशोधनका लागि उनीहरुले मिलोमतो गरे र संविधान संशोधन विधेयकलाई असफल बनाए ।
संसोधन प्रस्तावनामा कमल थापाको १७ भाई साँसद रातारात हराएका होइनन् । तिनलाई सबैले मिलोमतो गरी गुप्त स्थानमा पठाएका थिए । हामीलाई थाह छ तँ रोए जस्तो गर, म कुटे जस्तो गर्छु भने रणनीति अनुसार संविधान संसोधन फेल गराइएको हो ।
त्यो संविधान संसोधन जुन मध्यमार्गी प्रस्ताव थियो, जसले मधेसीहरुको अत्यन्त न्यून मागलाई पूरा गर्न सक्थ्यो त्यो पनि फेल भयो । यसबाट संविधानको सर्वस्वीकार्यता र सवैको स्वामित्व पाउने मौका प्राप्त गर्नबाट ठूला दल चुके ।
एमालेले भन्यो, यो संविधान संसोधन राष्ट्रघाती छ । संशोधनको कुन दफा र उपदफामा राष्ट्रघात छ देखाउन चुनौती दिन्छु । त्यसै नेपाली जनतालाई भम्र छरेर झुक्याउन पाइँदैन । भम्रमा बनाइका राष्ट्रियताको व्याख्याको कुनै अर्थ हुँदैन ।
एमालेलाई बर्दिवास कटेपछि थाहा भयो होला नि संविधान संशोधन मधेसको एजेण्डा हो कि होइन भनेर । तातो पानीमा औंला हालेपछि थाहा हुन्छ पानीको तापक्रम । संविधान संसोधन मधेसी जनताको एजेण्डा होइन, भारतीय ईशारामा ल्याइको हो भन्नेहरुलाई अहिले मधेसको गाउँ पस्न पनि रातिको अध्याँरो कुर्नुपर्ने अवस्थाले पक्कै चेत भए होला कि संसोधन कसको एजेण्डा हो भनेर । जातले नै वाकपटुता र तर्कमा महारथि प्राप्त गरेका एमाले नेताहरुले बुझ्न के जरुरी छ भने भावनालाई नछुने भएपछि तपाईंका तर्कको कुनै अर्थ छैन । सम्बन्ध तर्कले होइन हजुर, भावनाले गाँस्छ । संशोधनको विपक्षमा मत हालेर सबै तहको निर्वाचनमा पहिलो दल हुने अवसर गुमाउनु भयो । समय मै चेतना भया राम्रो ।
एमालेले भनेजस्तो हिन्दीलाई भाषालाई कामकाजको मान्यता दिन लाइएको संशोधन हो भन्ने कुरा बिल्कुल झुठ र भम्रको खेती गर्ने मेलो हो । संशोधनमा हिन्दी भाषाको कहीं पनि उल्लेख छैन । भाषा आयोगको सिफारिसमा कुन भाषालाई कामकाजको भाषा बनाउने भने निर्णय हुने हो । आफैले बनाएको संवैधानिक भाषा आयोगलाई विश्वास त गर्नुपर्यो नि ।
वास्तवमा यो संविधान संशोधन नेपाली राष्ट्रियता मजबुत गर्ने आधार बन्न सक्थ्यो । जो केवल एमालेलाई सत्ता भन्दा बाहिर राखिएको झोंकमा तुहाइयो । एमाले कानूनी नेताहरुसँग गफ गर्दा पनि संशोधनको विषयवस्तुमा खासै समस्या नरहेको केवल हामीलाई भारतले पेल्यो सत्तामा जान दिएन भने रीस मधेसीमाथि पोखेको मात्र हो भन्छन्। यो त गोरुको लडाइँ बाछाको मिचाई हो, अहिले मधेशीसँग ठीक यस्तै भइरहेको छ । कहिले चाइना कार्ड गरे कहिले भारत कार्ड हामीलाई कुनै कार्डसंग सरोकार छैन । बस, हाम्रो भूमिलाई आफ्नो रणनीतिक लडाइको अखडा नबनाइदिए हुन्थ्यो । नत्र मधेस सबैका लागि दीर्घकालीन शुल भएर बस्ने छ ।
यी तमाम कारणहरुले गर्दा मधेसीहरुले असोज ३ को दिनलाई संविधान दिवसका रुपमा मनाउन सक्दैन ।
झुक्दैन मधेश अब
अहिलेका मधेसी अब सजिलै झुक्किनेवाला छैनन् । पहिला जस्तो झुक्याउने, फकाउने, भुलाउने र छलछाम गर्ने रणनिति झन आत्मघाती हुन्छ । एक से एक पढेलेखेका र तपाईंका हर तर्कको जवाफ दिने क्षमता भएका पुस्ता आइसक्यो । हाम्रा बाउ बाजेले तपाईंलाई जी हजुरी गरेका होलान् । घीउ र माछा पुर्याएका होलान् । तर, हाम्रो पुस्ता तपाईंको बराबरी चाहन्छ । न एक इन्च घटी, न एक इन्च बढी । सिधा आधा आधा । हाम्रो जनसंख्या झण्डै आधा छ । लोकतन्त्रमा जसको जनसंख्या हुन्छ शासन सत्ता उसकै हुन्छ । छलछाम धेरै टिक्दैन ।
यो उदाहरण हेर्न धेरै पर जानुपर्दैन, कुनैबेला युपी र बिहारमा जगन्नाथ मिश्रा र नारायण तिवारीहरु त्यहाँका ब्राह्मण र राजपुतहरुले शासन गर्थे । लालु र मुलायमसिंह यादवले युपी र विहारबाट अल्पसंख्यक ठालुहरुको सत्तालाई यसरी फाले कि अब भविष्यमा आउन सक्ने कल्पना समेत गर्न सकिँदैन ।
परिवर्तन लोकतन्त्रको नियम हो । यसलाई कसैले रोक्न सक्दैन । जसको जनसंख्या उसको शासन । अब मधेसको दक्षिण भेगबाट पहाडी समुदायको उम्मेदवार जित्न गार्हो छ । कुनै जमाना थियो मधेसको भित्री भु-भागबाट समेत पहाडी समुदायका उम्मेदवार नै निर्वाचनमा जित्थे । अहिले ठूला दल पनि मधेसी समुदायकै उम्मेदवार दिन्छन् आफ्नो अस्तित्व जोगाउन । हो, मधेसमा आएको यो परिवर्तनलाई समयमै बुझेको राम्रो । यसकारण, मधेस आन्दोलन समाप्त भएको छैन । रणनीतिक पर्खाइमा, सही समयको प्रतिक्षामा बसेको छ । कुनबेला कुन क्षण क्लिक हुन्छ ?
यद्दपि मधेसीहरुको भावना बोक्ने राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचनमा भाग लिएको छ । तर, त्यसको मतलव मधेसीहरुले यो संविधानमा आफ्ना स्वामित्व जनाइसकेको छ भन्ने अर्थ निकाल्नु सर्वथा भूल हुनेछ ।
अधिकारका लागि लडाइ तबसम्म भइरहन्छ, जबसम्म अधिकारविहीनहरुले अधिकार पाउँदैनन् । दुनियाँमा भएका संघर्षहरुले यही कुरा प्रमाणित गरेका छन् । नेपालमा मधेसीहरुले अधिकारका लागि ६ महिनासम्म जुन सडक आन्दोलन गरे, त्यो आन्दोलन विश्वमा नै एउटा उदाहरणीय आन्दोलन थियो, जसलाई तीन ठूला दलका नेताहरुले राज्य शक्ति र अहंकारको बलमा निस्तेज पारे । तर, आन्दोलनको पक्षमा त्यतिबेलामा पनि ठूलो जनमत थियो र पछि पनि रहिरहनेछ ।
आन्दोलनको औचित्य र आवश्यकताले मधेसमा एउटा यस्तो समूह तयार पार्नेछ, जसले मधेसीहरुको आत्मस्वाभिमानको रक्षा गर्नेछ र तिनीहरुलाई समानताको अधिकारको प्रत्याभूति गर्नेछ । भलै त्यसो गर्न केही समय लाग्न सक्छ ।
शान्तिपूर्ण आन्दोलनकर्मीहरु आफ्नो उद्देश्य प्राप्तिका लागि धैर्यवान हुन पनि आवश्यक छ र मधेसीहरु पनि धैर्यवान हुन आवश्यक छ।
त्यसकारण मधेसी समुदायहरुले माग गरेका मागहरुलाई सम्बोधन हुने गरी संविधान संशोधन हुनुपर्दछ । र, त्यस्तो भएको खण्डमा संशोधन भएको दिनलाई आम नेपालीहरुले संविधानको खुशीयालीको दिनका रुपमा मनाउन सक्छन् । ठूला दलहरुले संविधान संशोधन असफल भएपछि मधेसीहरुको मुद्दा सकिएको भन्ठानेमा त्यो ठूलो भूल हुनेछ ।
अन्तमा,
संविधान दिवस नै मनाउने हो भने संविधान संशोधन गरौँ र संशोधन भएको दिनलाई साझा संविधान दिवस मनाऔं, जसलाई सबैले शुभ दिनकै रुपमा मनाउँछ । नभए तपाईंको घरमा पन्चे बाजा र हाम्रा घरमा सोह्रश्राद्धको पिण्डदान सदा सर्वदाका लागि भर्ई नै रहनेछ, जसले यो संविधानको वैधतामाथि सधैं प्रश्नचिन्ह रही नै रहने छ ।
अब निर्णय तपाईंको हातमा छ । म न सकौँला, मेरा छोराछोरी लड्लान्, तर, संविधानको लडाईं जारी नै रहन्छ । जसले देशलाई विकास र स्थिरताको पथमा अगाडि बढ्न दिँदैन ।
अब यस्तै गरिबी र अविकासमा तपाईंका सन्ततिलार्इ पनि राख्नुहुन्छ भने मेरो भन्नु केही छैन । नभए,हामीले एक अर्कालाई मन पराउँ, नपराउँ, सँगै बस्नुपर्ने बाध्यता भूगोलले जोडेको छ । र, इतिहासले निर्मम निर्णय गरिसकेको छ । सहअस्तित्वको विकल्प छैन ।
अनलाइनखबरबाट साभार