मरब क्याम्पसमा पाँच विद्यार्थी संगठन दर्ता

नयाँ बुलन्द

इलाम : त्रिभुवन विश्वविद्यालय आवद्ध क्याम्पसहरूमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया आइतबारबाट सुरु भएको छ ।

मतदाताको सूची देशैभर आइतबार प्रकाशन गर्ने कार्यतालिका भएको भए पनि इलाम क्याम्पसमा यो समाचार तयार पार्दा सम्ममा सूची प्रकाशन गर्न नसकिएको क्याम्पस प्रशासनले जानकारी दिएको छ ।

करिब साढे छ बजे सम्ममा पनि सूची प्रकाशनमा अन्योल नै रहेको चियाबारी दैनिकलाई प्राप्त जानकारीमा उल्लेख छ । नेपाल विद्यार्थी संघले सूची प्रकाशन गर्न नहुने माग गरेको छ । उसले क्याम्पस बाहिर राखेको झण्डा र नारामा कालोपोतो दलिएको भन्दै त्यसको उचित छानबिन नगरेसम्म मतदान नामावली प्रकाशन गर्न नहुने माग गरेको हो ।

यस विषयमा छानबिन गर्न प्रतिवेदन आयोग समेत गठन गरिएको र त्यस आयोगले उचित छानबिन सहितको प्रतिवेदन बाहिर नल्याएसम्म सूची दर्ता गर्न नहुने बताउँदै आएको छ । क्याम्पस प्रशासनले नियमित कार्यक्रम गर्नै पर्ने भन्दै यो समाचार पार्दा नेवि संघसँग वार्ता गर्दै गरेको खुलेको छ  ।

आठ वर्षपछि हुन लागेको स्ववियुको निर्वाचन प्रक्रिया आइतबारबाट नै शुरू भएको हो । पहिलो दिन मतदाता सूची प्रकाशित गर्ने कार्यतालिका रहेको छ । सोहि अनुसार महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा पाँचवटा विद्यार्थी संगठन दर्ता भएका छन् । क्याम्पसमा क्रमशः अखिल क्रान्तिकारी, अनेरास्ववियु, नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी फोरम र नेपाल विद्यार्थी संघले संगठन दर्ता गराएका हुन् ।

महेन्द्ररत्न बहुमुखी क्याम्पसमा करिब एक हजार छ सय विद्यार्थी भर्ना भएको क्याम्पसका निर्वाचन समिति अध्यक्ष केशरबहादुर राईले जानकारी दिए । फागुन ३ गते मतदाता सूचीउपर दाबी विरोध गर्ने, सोही दिन अन्तिम मतदाता सूची सार्वजनिक गर्ने, फागुन ४ गते मनोनयनपत्र वितरण गर्ने, फागुन ५ गते प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशित गर्ने, फागुन ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र फागुन १४ गते मतदान गर्ने गरी कार्यतालिका तय गरिएको छ ।

त्रिविका ६० आङ्गिक क्याम्पसका साथै सम्बन्धन लिएका अन्य क्याम्पसहरूमा पनि निर्वाचन हुनेछ । २०६५ सालमा ३५२ वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । हाल त्रिविबाट एक हजार ८४ क्याम्पसले सम्बन्धन लिएका छन् । त्रिविका रजिस्ट्रार डिल्ली उप्रेतीले के–कति क्याम्पस निर्वाचनमा सहभागी हुनेछ भन्ने अहिले नै बताउन नसकिने स्पष्ट गर्दै अधिकांश निजी क्याम्पसले निर्वाचन नगर्ने गरेको बताए ।

त्रिवि स्ववियु निर्वाचनमा करिब साढे दुई लाख विद्यार्थी सहभागी हुने बताइएको छ । उनले मतपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था नै प्रयोगमा ल्याइने बताउँदै पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा विद्युतीय मतदानको व्यवस्था गर्ने भनिए पनि अझै टुङ्गो नलागेको जानकारी दिएको खबर चियाबारी दैनिकले छापेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार