इलाम : इलाम उद्योग वाणिज्य संघ इलामले इलाम नगरपलिकाले लिने व्यवसाय करका सम्बन्धमा आफ्नो धारणा स्पष्ट पारेको छ ।
संघले संघमा आबद्ध विभिन्न व्यवसायीहरुसँग पटक पटक व्यक्तिगत तथा सामुहिक रुपमा छलफल गरि आएको निचोडलाई पदाधिकारीहरुमाझ राखि करका विषयमा धारणा बनाएको हो ।
इलाम उद्योग बाणिज्य संघले १९ औँ नगर परिषद्ले पारित गरेको दररेटमा व्यवसायको हकमा मात्र ३० प्रतिशत मात्र बृद्धि गर्न सकिने धारणा बनाएको हो । सो धारणा नै संघको धारणाको रुपमा इलाम नगरपालिकाको राजस्व परामर्श समितिमा लाने तयारी गरिएको संघका अध्यक्ष आनन्द कट्टेलले जानकारी दिए ।
इलाम नगरपालिकाको राजस्व परामर्श समितिले दिएको परामर्शलाई समेत मध्यनजर गर्दै राजनैतिक दलको संयन्त्रमा र संयन्त्रले पारित गरेको करको दररेट आसन्न विशेष नगर परिषद्ले बृहत छलफलपछि निर्णय गरि लागु हुने समेत उनले जानकारी दिए ।
इलाम नगरपालिकाले भने प्रतिशतका आधारमा हरेक व्यवसायमा समान दरको कर बृद्धि गर्नु व्यवहारिक नहुने बताएको थियो । इलाम नगरपालिकाको कार्यालयले २० औं नगर परिषद्बाट पारित गरेको विभिन्न करहरु व्यवहारिक नभएको भन्दै नगरक्षेत्रका व्यवसायीहरुले व्यापक रुपमा विरोध गर्दै आएका छन् ।
१९ औै नगर परिषद्ले तोकेको भन्दा २० औं नगर परिषद्बाट पारित करमा पाँच सय प्रतिसतसम्म करमा बृद्धि भएको भन्दै नगर परिषद्को निर्णयको विरोध भइरहेको हो ।
नगरवासीको सल्लाह र सुझावलाई ध्यान दिदै इलाम नगरपालिकाले विषेश नगर परिषद् बोलाएर करमा समायोजन गर्ने घोषणा गरेलगत्तै इलाम नगरपालिका विभिन्न सरोकारवालाहरुसँग परामर्श लिन शुरु गरेको छ । तर २० औं नगर परिषद्ले बृद्धि गरेको करका पनि निश्चित शिर्षकहरुमा मात्र न्युनतम रकम घटाउने दाउमा नगरपालिका लागेको छ ।
वि.स. २०५६ सालमा तोकिएको करको दररेट १६ बर्षसम्म सामायोजन नभएको भन्दै २० औ नगर परिषद्बाट नगरपालिकाले लिने विभिन्न राजश्वमा भारि प्रतिशतले नगरपालिकाले बृद्धि गरेको आजको चियाबारी दैनिकले खबर छापेको छ ।






















































