सन्तोष नेम्बाङ
इलाम : इलाम नगरपालिका-२ नविन चोकका स्व. जसमाया लिङदमको परिवारलाई किरात याक्थुङ चुम्लुङ याक्थुङ फासिङ सजुम इलामले १५ हजार तीन सय ४५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बिहीबार एक कार्यक्रमको आयोजना गरी सजुमले मृतकका छोरा सुरेन लिङदमलाई सो रकम उपलब्ध गराएको हो । इलाम साङरुम्बा स्थायी घर भएका ७३ वर्षीया जसमाया लिङदमको गत ९ जेष्ठमा उपचारको क्रममा झापामा निधन भएको थियो ।
त्यस्तै गत ७ बैशाखमा ३१ वर्षको उमेरमा निधन भएकी स्व. मनमाया आङ्गवुहाङको परिवारलाई पनि फासिङ सजुमले १३ हजार सात सय रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराईएको छ । हाल इनपा-२ फुलगाछी स्थित थेवे चोकमा अस्थाई बसोवास गर्दै आएका मनमायाको श्रीमान् वीरबहादुरलाई सो रकम उपलब्ध गराईएको याक्थुङ फासिङ सजुमका अध्यक्ष बखतबहादुर आङ्गदेम्बेले जानकारी दिए ।
लिम्बूसमुदायको मृत्यु संस्कारको मौलिक परम्परा तथा सँस्कृतिहरुलाई युवापुस्ताहरुले बुझ्न र सिक्न आवश्यक रहेकोले इलाम नगरपालिकामा स्थायी र अस्थाई रुपमा बसोवास गर्ने सबै लिम्बू समुदायबाट संकलित कोषमार्फत बिगत ६ वर्षदेखि मृतकका परिवारलाई आर्थिक सहयोग फासिङमार्फत गरिदैं आएको अध्यक्ष आङदेम्बेले बताए ।
२०६६ सालदेखि हालसम्म ३१ महिला, ३६ पुरुष र २ बालबालिकाका गरी जम्मा ६९ जना मृतकका परिवारलाई ८ लाख ९७ हजार रुपैयाँ फासिङ सजुमले आर्थिक सहयोग गरिसकेको कोषाध्यक्ष कौशिला लिम्बूले जानकारी दिइन् ।
इलाम नगर क्षेत्रमा बसोवास गर्ने लिम्बूसमुदायका मृतकलाई खोला तथा डाडाँमा लगी जलाउने र कतिपयले स्थानिय समाधिस्थलहरुमा किरात परम्परा अनुसार दाहसंस्कार गर्ने चलन रहि आएकोले हाल याक्थुङ फासिङ सजुमको पहलमा सामुहिक समाधिस्थलको खोजी पनि गर्दै गरेको अध्यक्ष आङदेम्बेले बताए ।






















































