नयाँ बुलन्द
काठमाडौं : नेपाली राजनीतिमा जब—जब सरकार बनाउने र गिराउने चलखेल सुरु हुन्छ, त्यतिबेला एकजना पात्रको चर्चा हुन थाल्छ । कांग्रेसका निर्वाचित सांसदसमेत रहेका डा. अमरेशकुमार सिंह तिनै पात्र हुन्, जसको भारतीय संस्थापनसँग रहेको भनिएको सामीप्यका कारण थुप्रै नेताहरू निकट सम्पर्कमा रहन्छन्, सँगै सन्देहको दृष्टिले पनि हेर्छन् । तर जब सत्ता चलखेल हुन थाल्छ, उनैको पहुँचको सहारा खोज्छन् । यसपटक पनि सरकार परिवर्तनको खेलमा लागेर चर्चामा आएका सिंहसँग कुलचन्द्र न्यौपानेले गरेको कुराकानी :
केपी ओली नेतृत्वको सरकार परिवर्तनको प्रयासमा तपाईं समेतको संलग्नता देखियो, जो अन्तिम अवस्थामा सम्भव भएन । त्यो किन विफल भए जस्तो लाग्छ ?
संविधानको कार्यान्वयन, शान्ति प्रक्रिया अन्तर्गत संक्रमणकालीन न्यायसंँग जोडिएका विषय, भूकम्पपछिको पुनर्निर्माण, मधेसका समस्या सम्बोधन गर्ने सवाल, कालोबजारी नियन्त्रण गर्ने लगायतका विषयमा सरकार असफल भएपछि हामीले यसको विकल्प खोजेका हौं । सरकारमै संलग्न रहेको घटक एमाओवादी पनि यिनै मुद्दा उठाएर सरकारबाट अलग हुन चाहिरहेको थियो । सरकार परिवर्तनका लागि एमाओवादीले व्यक्तिगत रूपमा मलाई र कांग्रेससमक्ष प्रस्ताव ल्याइरहेको थियो ।
तपाईंमार्फत नै प्रस्ताव किन आएको होला ?
प्रचण्ड र मबीच १२ बुँदे समझदारीदेखि नै विशेष खालको सम्बन्ध छ । शान्ति प्रक्रियामा मेरो पनि कतै न कतै भावना जोडिएको छ । त्यसैकारण पनि उहाँले मसँग ‘कांग्रेससँग मिलेपछि मात्रै शान्ति प्रक्रिया अघि बढ्छ, मधेसको समस्या पनि समाधान हुन्छ, मधेसी मोर्चालाई पनि विश्वासमा लिन सकिन्छ’ भनेर सैद्धान्तिक रूपमा कुरा गर्नु भएको थियो । उहाँले चार ‘स’ अर्थात शान्ति प्रक्रिया, संविधानको संशोधन तथा कार्यान्वयन, सत्तासाझेदारी र समृद्धिको बिषयमा दुई पार्टीबीच एउटा सम्झौता गरेर अघि बढौं भन्ने प्रस्ताव राख्नुभएको थियो ।
- पर्दा पछाडि सरकार जोगाउन अरू नै शक्ति लागेको छ ।
- यो सरकारको कामकारबाहीले कहीँ न कहीँ भारतलाई अप्ठेरो परेको छ ।
- वामदेव एमाले र एमाओवादीलाई एकीकरण गर्न सकिन्छ भन्ने धङधङीमा हुनुहुन्छ ।
- ओली चीन भर्सेज अमेरिका/भारत ध्रुवीकरण गराउनेतर्फ उद्यत हुनुहुन्छ ।
कांग्रेस संसदको ठूलो पार्टी– आफैंले नेतृत्वको दाबी नगरेर एमाओवादी अध्यक्ष दाहाललाई अघि सार्नुको कारणचाहिँ के नि ?
प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नका लागि हामीलाई केही समय सरकारको नेतृत्व दिनुहोस्, बरु सरकारको नेतृत्व चक्रिय प्रणालीअनुसार गरौं भन्नुभयो । आफ्नो पार्टीको पनि बाध्यता उहाँले हामीलाई सुनाउनुभयो । मेरो नेतृत्वमा सरकार बन्दामात्रै सरकारबाट हट्न मलाई सजिलो हुन्छ भनेर उहाँले पार्टीका बाध्यताहरू सुनाउनुभएको थियो । शान्ति प्रक्रियालाई पूर्णता दिने र संविधान संशोधन गर्ने काम सम्पन्न गरेर प्रधानमन्त्री पद हस्तान्तरण गर्छु भन्ने उहाँको प्रस्ताव थियो ।
सरकार परिवर्तन गर्न खोज्दाका यी सबै परिदृश्यमा दक्षिण छिमेक भारतको मुख्य हात रहेको र त्यसमा तपाईं पनि जोडिएको कुरा के हो ?
मैले बुझेसम्म भारत सक्रिय भएर लागेन । नेपालको पछिल्लो घटनाक्रम (संविधान जारी भएपछि) बाट भारत नेपालको आन्तरिक मामिलामा प्रत्यक्ष संलग्न हुनुहँुदैन भन्ने विषयमा सचेत छ । तर भारतले घटनाको विकासक्रमलाई एकदमै नजिकबाट नियालिरहेको थियो/छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा, एमाओवादी महासचिव कृष्णबहादुर महरा र तपाईं दिल्ली गएपछि नै यो सबै घटनाक्रम भएको होइन र ?
म आफ्नै व्यक्तिगत कामका लागि दिल्ली गएको थिएँ । हाम्रो पार्टी सभापति शेरबहादुर देउवा श्रीमती आरजु र आफ्नैसमेत उपचारका लागि दिल्ली जानुभएको हो । महरा पनि
श्रीमतीको उपचारको ‘फलोअप’का लागि दिल्ली जानुभएको थियो ।
एकैचोटि तीनैजना बिरामी परेर भारत जानुपर्ने कस्तो संयोग मिलेछ है ?
म त बिरामी होइन, त्यत्तिकै गएको हो । त्यहाँ छँदा महरासँग भेट भएको होइन, फोनमा मात्र कुराकानी भएको हो ।
देउवा दिल्लीबाट फर्केपछि सरकार परिवर्तनको विषय एक्कासी अघि बढेको होइन र ?
एमाओवादी स्थायी कमिटीको बैठकको निर्णय हेर्दा नै थाहा हुन्छ कि कसरी सरकार परिवर्तनको विषयले प्रवेश पाएको थियो भनेर । तत्काल सरकार नछाड्ने र कांग्रेससँग सहकार्य नगर्ने हो भने शान्ति प्रक्रिया अघि बढ्दैन, एमाले निकट ‘एनजीओ’हरूको गतिविधि, अदालतमा भएका मुद्दाहरू (सत्य निरुपण) आयोगमा नल्याउनु लगायतका कारणले हामीलाई केही महिनामा नै जेलमा लैजाने अवस्था आउँछ भनेर एमाओवादीका नेताहरूले भन्नुभएको हो । यी सबै परिदृश्यमा सरकारको विकल्प खोज्ने दिशामा सरकारमै रहेका दुईजना बाहेक एमाओवादीका अन्य मन्त्रीहरूको समेत समर्थन थियो ।
एमालेका उपाध्यक्ष वामदेव गौतमले आइतबारको कान्तिपुरमा भारतकै बलमा सरकार परिवर्तन गर्न खोजिएको आरोप लगाउनुभएको छ नि ?
वामदेव एमाले र एमाओवादीलाई एकीकरण गर्न सकिन्छ भन्ने धङधङीमा हुनुहुन्छ । बाहिर वामदेवले सरकारलाई जोगाउनसकें भनेर आएको छ । त्यस्तो होइन । पर्दा पछाडि सरकार जोगाउन अरु नै शक्ति लागेको छ ।
पर्दा पछाडि रहेको त्यस्तो शक्ति कुन हो त ?
कुनै शक्ति छ । त्यो शक्ति को हो भनेर भनिराख्नै पर्दैन, हाम्रो मुलुकमा आफंै परिभाषित छ । वामदेवले प्रचण्डलाई पहिलोचोटि भेट्न जाँदा ‘हामी मिलेर स्थानीय निकायको निर्वाचन गराउने र निर्वाचनमा तालमेल गर्ने’ भनी प्रस्ताव राख्नुभएको थियो । ओली सरकार बन्ने बेलामै बामदेव एमालेको कार्यबाहक सभापति हुने र त्यसपछि दुई पार्टीको एकीकरणको प्रक्रिया अघि बढाउनेसम्मको कुरा भएको थियो । तर ओलीले न बामदेवलाई कार्यबाहक सभापति दिनुभयो, नत गठबन्धनको भावनाअनुसार नै सरकार अघि बढ्यो । त्यसैले आफू सरकार छाड्ने निक्र्योलमा पुगेको प्रचण्डको भनाई थियो । तर एमालेले बामदेवमार्फत ‘सरकारको नीति तथा कार्यक्रम आएपछि वामपन्थीकै सहयोगमा तपाईं नै प्रधानमन्त्री हुनुहोस्, प्रधानमन्त्री तपार्इंलाई हामी नै बनाउँछौं’ भन्यो । तर, त्यसैको कारण प्रचण्ड परिवर्तन हुनुभएको होइन । मिडियामा वामदेवको कारणले भनेर आयो, त्यो पनि होइन । बुधबार राति नै नाटकीय रूपमा प्रचण्ड परिवर्तन भइसक्नुभएको थियो । त्यसको ‘सिरिज अफ इभेन्ट’ नै छ ।
सरकार ढाल्न भारतीयहरू र त्यसलाई टिकाउन चीनियाँहरू लागिपरेका थिए भन्न खोज्नुभएको हो ?
हो, प्रचण्डको चाइनिजहरूसँग पनि भेट भएको थियो । बिहीबार (कृष्णबहादुर) महराको पनि चाइनिजसँग भेट भयो । चीनको तीनवटा चासो मुख्य थियो । पहिलो, प्रधानमन्त्री ओली चीन भ्रमणबाट फर्केलगत्तै सरकार परिवर्तन भयो भने भविष्यमा कुनै पनि प्रधानमन्त्री चीन जाँदैनन् भन्ने छाप पर्छ भन्ने थियो । दोस्रो, वामपन्थी सरकार नै रहोस् भन्ने थियो । त्यसमा प्रचण्डको विश्वसनीयतामाथि चीन र भारत दुवैको शंका छ । प्रचण्ड कुन कुरामा कति दिन टिक्नुहुन्छ भन्ने सुनिश्चित हुन्न । तर ओलीको त्यस्तो छैन । त्यसैले यतिबेला चीनको सबैभन्दा अनुकूल नै ओली सरकार हो । तेस्रो, निकट भविष्यमा हुने भनिएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण पनि यसमा जोडिएको छ ।
तपाईं चीनकै बलमा सरकार जोगिएको भन्नुहुन्छ, तर सरकार बदल्न भारतले पनि सक्दो कोशिश गरेको, बरु नसकेको यथार्थ होइन र ?
यो सरकार भारतका लागि सुविधाजनक छैन भन्ने जगजाहेर छ । यो सरकारको कामकारबाही र गतिविधिले कहीँ न कहीँ भारतलाई अप्ठेरो परेको छ । एकातिर प्रधानमन्त्री भारतसँग राम्रो छ भनेर भन्नुहुन्छ, अर्कोतिर भारतसँग काम गर्न सुविधाजनक छैन पनि भन्नुहुन्छ । प्रधानमन्त्री ओलीकै गलत कामकारबाहीले ध्रुवीकरण भएको छ । ओलीले सबैभन्दा पहिला मधेस र पहाडबीच ध्रुवीकरण गराउने काम गर्नुभयो ।
उहाँ अहिले अन्तर्राष्ट्रिय ध्रुवीकरण गराउनेतर्फ उद्यत हुनुहुन्छ । जस्तो कि चीन भर्सेज अमेरिका/भारतको स्थिती भयो भने देशको अवस्था के हुन्छ ? तपाईं कस्तो सम्भावना देख्नुहुन्छ ?
मुलुक अहिले त्यतैतिर अघि बढ्दैछ । नेपालको आन्तरिक राजनीतिमा भारतले अनावश्यक चासो राखिरहन्छ ।
यसपटक सरकार परिवर्तन गर्ने प्रयासमा ऊ असफल भएको स्पष्ट संकेत मिलेको होइन ?
एउटै घटनाले सफल र असफल भन्ने हुन्न । आउने दिनमा स्थिति कस्तो हुन्छ भन्ने हो । यो घटनाले कहीँ न कहीँ नेपालको राजनीतिक स्थिति अप्ठ्यारोमा पर्छ । राष्ट्रपतिको भ्रमण स्थगित गर्ने र राजदूत फिर्ता बोलाउने जस्तो सरकारको केटाकेटीपनले अप्ठ्यारोमा पार्ने संकेत दिँदैछ । राष्ट्रपतिको भ्रमण राष्ट्रपति स्वयम्को इच्छाका कारण भएको हो । राष्ट्रपतिको जोड भएपछि मात्रै भारतबाट निमन्त्रणा आएको हो । पहिला ‘प्राइभेट भिजिट’ थियो, पछि ‘सरकारी भिजिट’ भयो । त्यसपछि ‘स्टेट भिजिट’को रूपमा सम्मान दिने भनियो । तर एकाएक ओलीको झोंँकका कारण स्थगित भयो । परराष्ट्रमन्त्री कमल थापा त अस्थिरतामै भविष्य हुने भएकाले नेपालमा स्थिरिता होस् भन्ने चाहना राख्नुहुन्न ।
यो घटनाक्रमले कांग्रेस सभापति शेरबहादुर देउवाको छविलाई पनि धक्का पुगेजस्तो लाग्दैन ?
कांग्रेस कतै पनि चुकेको छैन । कांग्रेस प्रधानमन्त्रीका लागि आफू अघि बढेको होइन । लिखित रूपमा कसैलाई समर्थन दिने काम पनि गरेको होइन । पार्टी सभापतिले सार्वजनिक रूपमा बोल्नु पनि भएको छैन । सत्तारुढ घटक मध्येकै दलले सरकारसंँग असन्तुष्टि जनाएर बाहिरिन खोज्दा कांग्रेसले सहयोग गर्ने भनेको मात्रै हो । सरकार ढाल्ने प्रयास एमाओवादीले गरेको हो, कांग्रेसले होइन ।
अब नेपालमा भारतको दृष्टिकोण/व्यवहार कस्तो रहला ?
भारत र नेपालको सम्बन्ध धेरै गहिरो छ । नेपाल–भारत बीचको सम्बन्धलाई देश–देशबीच र सरकार–सरकारबीच अलग्गै रूपमा हेर्नुपर्ने हुन्छ । सरकार–सरकार बीचको सम्बन्ध अहिले पनि राम्रो छैन । भोलिको दिनमा पनि राम्रो हुने देखिन्न । प्रधानमन्त्री केपी ओलीको बोलीचाली र व्यवहारमा धेरै कुरा निर्भर रहन्छ । उहाँको छुच्चो बोली छ । भारतलाई ‘म देखाइदिन्छु’ भन्दै आउनुभएको छ । यसले मलाई के पनि शंका छ भने कतै भारतलाई हस्तक्षेप गर्नका लागि बाटो बनाइरहेको त होइन ? राष्ट्रियताको खोल ओढेर यो संविधानलाई ‘डिरेल’ गराउने षडयन्त्र त भइरहेको होइन भन्ने मलाई शंका लागिरहेको छ ।
तपाईं भारतीय संस्थापनदेखि नेपालका राजनीतिक दल र तिनका नेताहरूसमेत धेरैसँग निकट सम्पर्कमा बस्ने गर्नुहुन्छ, यस्तो रुची किन नि ?
मैले भारतमा पढेंँ । माओवादी र नेपालका तत्कालीन सात राजनीतिक दलसंँग भएको १२ बुँदे समझदारी भारतको दिल्लीमा नै भएको हो । त्यस बेलादेखि नै म जोडिएको हँु । अर्को कुरा म राजनीतिबाहेक अरु केही सोच्दै सोच्दिनँ । बिहानदेखि बेलुकासम्म राजनीतिकै बारेमा सोच्छु, पढ्छु र कुराकानी गर्छु र कुनै काम गर्दा इमानदारीपूर्वक गर्छु । त्यसैले पनि यहाँसम्म आइपुगेको हुँ ।
तपार्इंले जे बोल्नुहुन्छ, त्यसमा भारतीय धारणा झल्किन्छ भनिन्छ नि ?
मैले नेपाल र भारतको सम्बन्धलाई राम्रोसँग बुझेको छु । भारतसँग राम्रो सम्बन्ध कायम नभएसम्म नेपालको विकास सम्भव छैन भन्ने मेरो अध्ययनको ठम्याइ हो । नेपालमा चीनसंँग मिलेर भारतलाई प्रहार गर्ने र भारतसंँग मिलेर चीनलाई प्रहार गर्ने संस्कृति नै देखियो । यसैले हाम्रो विकास ठप्प भएको हो । दुई छिमेकीलाई सन्तुलनमा लिन नसक्दा नेपाल अघि बढ्न सक्दैन । इकान्तिपुरबाट