भाषा नीतिबारे अन्तर्राष्ट्रिय खोज: मातृभाषाले खोल्दछ शिक्षा, ज्ञान, विज्ञान र अङ्ग्रेजी सिक्ने दैलाहरू
१. भूमिका
सङ्घीय प्रसाशनिक सेवाहरूमा अङ्ग्रेजी भाषालाई पहिलाभन्दा अझ धेरै महत्व दिनु अनि भारतीय भाषाहरूको दर्जा अझ कम गर्ने प्रस्तावले भाषाबारे बहसलाई फेरि तीव्र पारिदिएको छ। यो लेख भारत सरकारको यही निर्णयविरूध्द लेखिएको थियो। केन्द्रीय सरकारले आफ्नो प्रस्ताव १५ मार्च २०१३ मा फिर्ता लिएको छ तर भारतमा भारतीय भाषाहरूको दशा अति दर्दनीय नै बनिरहेको छ। यो लेख यसैकारण प्रकाशित गरिँदैछ।
हुन त स्वतन्त्रता प्राप्तिपछि पनि भारतीय भाषाहरूले त्यो स्थान पाउन सकेनन् जुन पाउनु पर्ने थियो । पछिल्ला ३० वर्षमा भारतीय भाषाहरूको दुर्गतिको गति अझ तीव्र भएर गएको छ अनि अङ्ग्रेजी भाषाले भारतीय भाषाहरूलाई विस्थापित गरिरहेको छ विशेष गरी शिक्षाको माध्यमको रूपमा । यसको मूल कारणचाहिँ निहित स्वार्थ नै हो तर यस प्रकारको नीतिको पक्षमा जुन तर्क दिइन्छ‚ त्यो निम्न प्रकारको हुन्छ:
१. अङ्ग्रेजी ज्ञान-विज्ञानको भाषा हो अनि ज्ञान-विज्ञानमा प्रगतिका लागि अङ्ग्रेजीमा पारङ्गत हुन आवश्यक छ;
२. अङ्ग्रेजी भाषा एक अन्तर्राष्ट्रिय भाषा हो अनि यो बिना अन्तर्राष्ट्रिय लेनदेन सम्भव छैन।
माथि दिइएका यस प्रकारका तर्क ज्ञान-विज्ञान, शिक्षा, भाषा अनि अन्तर्राष्ट्रिय स्थितिबारे सत प्रतिशत अज्ञानताको प्रमाण हो।
२. शिक्षा अनि मातृभाषा
सर्वप्रथम वर्तमान समयमा विकासका लागि सबैभन्दा महत्वपूर्ण क्षेत्र ज्ञान-विज्ञान अनि भाषाका सम्बन्धहरूको विषयमा अन्तर्राष्ट्रिय ज्ञान अनि अनुभवमाथि एक नजर लाउनु उचित होला। निम्न उक्ति संयुक्त राष्ट्र सङ्घको शिक्षा, विज्ञान अनि संस्कृतिको सङ्गठन (युनेस्को) को पुस्तक “शिक्षामा स्थानीय भाषाहरूको प्रयोग” को हो :
“के स्वत:सिध्द छ भने नानीहरूका लागि शिक्षाको सर्वोत्तम माध्यम उनीहरूको मातृभाषा हो। मनोवैज्ञानिक आधारमा मातृभाषा सार्थक चिन्हहरूको यस्तो प्रणाली हो जुन प्रकटीकरण अनि बोधका लागि नानीहरूको दिमागमा स्वचालित रूपमा काम गर्दछ । सामाजिक आघारमा जुन जनसमूहका सदस्यहरूसँग उनीहरूको सम्बन्ध हुन्छ तिनीहरूसँग एकात्म हुनुको साधन हो मातृभाषा; शैक्षिक आधारमा नानीहरू मातृभाषाको माध्यमबाट एक अपरिचित माध्यमको अपेक्षा छिटो सिक्छन्“ (युनेस्को सन् १९५३: ११)।
युनेस्कोको यो मत एकदमै विस्तृत अध्ययनको प्रतिफल थियो। यसैगरी युनेस्कोले सन् १९६८ मा आफ्नो पुस्तकमा दोहोर्यापयो:
शिक्षाका लागि “मातृभाषाको प्रयोग जतिसम्म सम्भव छ गर्नुपर्छ” (युनेस्को सन् १९६८: ६९१)।
अनि संयुक्त राष्ट्रको सन् २००४ को विकास रिपोर्टमा यो अङ्कित छ:
“फिलिपिन्समा दोभाषे शिक्षा नीतिका दुई भाषाहरू (टागालोग अनि अङ्ग्रेजी) मा पारङ्गत विद्यार्थी ती विद्यार्थीहरूलाई पछि पारिदिन्थे जो घरमा टागालोगमा कुरा गर्दैनथिए‘’ (पाना ६१)।
अनि निम्न पङ्ति त खासगरी अङ्ग्रेजीभाषी देश अमेरिकाबारे छ:
‘’अमेरिकामा जुन नवायो भाषी नानीहरूलाई प्राथमिक स्तरमा उनीहरूको प्रथम भाषा (नवायो) अनि उनीहरूको द्वितीय भाषा (अङ्ग्रेजी) दुवै भाषामा पढाइयो, ती नानीहरूले नवायोभाषी ती नानीहरूलाई पछि पारिदिए जसलाई केवल अङ्ग्रेजीमा पढाइयो।‘’ (उही) (यस निबन्धमा ‘द्वितीय भाषा’’ अनि ‘विदेशी भाषा’’ समानार्थक छ।)
भारतीय अङ्ग्रेजी भक्तहरूलाई के निवेदन छ भने अमेरिका, क्यानाडा, न्युजिल्यान्ड अनि अस्ट्रेलियाजस्ता मुख्यत: अङ्ग्रेजी भाषी देशहरूमा कति बढी सङ्ख्यामा स्कुलमा शिक्षाको माध्यम अङ्ग्रेजी छैन भन्ने कुरा जान्ने कष्ट गरून् ।
अगाडि दिन लागिएका उक्तिहरू यस विषयमा विश्वभरि भिन्न भिन्न स्थानमा भएका अध्ययनबाट लिइएका हुन् ।
यसरी मोदिआनो (सन् १९६८, सन् १९७३) द्वारा मेक्सिकोमा गरिएको खोज, सकतनब-काङ्गसद्वारा फिनल्यान्डमा गरिएको खोज अनि गुदसिन्सको (सन् १९७५) मा सारांश दिइएका ती ल्याटिनी अमेरिकी अध्ययनको परिणाम मलाई एक समान लाग्छ। माथिका अध्ययनमा देखाइएको छ: जो आफ्नो शिक्षा स्थानीय भाषामा आरम्भ गर्छन्, ती नानीहरूको ठूलो अनुपातले आफ्नो मातृभाषामा साक्षरताको विकास गर्छन् अनि विषय र दोस्रो भाषामा ती नानीहरूले भन्दा राम्रो दक्षता हासिल गर्छन् जसलाई केवल दोस्रो भाषामा पढाइन्छ‘’ (टक्कर, सन् १९७७: ३)। (यहाँ दोस्रो भाषाको अर्थ विदेशी भाषा हो)।
निम्न उक्ति फिनल्यान्डबाट स्विडेनतिर प्रवास गर्ने नानीहरूमाथि भएको अध्ययनबाट लिइएको हो । यस अध्ययनमा के पाइएको छ भने जुन फिनिस नानीहरूको मातृभाषामा दखल राम्रो थियो‚ उनीहरूको शैक्षिक प्राप्ति उत्कृष्ट थियो, भलै स्विडेनमा शिक्षा स्विडिस भाषामा दिइन्थ्यो।
“निरीक्षणबाट के पत्ता लाग्यो भने गणितमा प्राप्त अङ्कसँग फिनिस भाषामा दक्षताको सोझो सम्बन्ध छ । स्विडिस भाषाको तुलनामा फिनिस भाषा गणितमा अङ्क प्राप्तिका लागि धेरै महत्वपूर्ण हुन्छ, भलै गणित स्विडिसमा पढाइयोस् । यो परिणामले कस्तो दृष्टिकोणलाई समर्थन गर्छ भने गणितका सङ्कल्पनात्मक प्रक्रियाहरूका लागि मातृभाषा महत्वपूर्ण सिध्द हुन्छ। जीव विज्ञान, रसायन विज्ञान अनि भौतिक विज्ञानमा पनि सङ्कल्पनात्मक सोचको आवश्यकता हुन्छ। यी विषयमा पनि मातृभाषामा राम्रो दखल भएका नानीहरू ती नानीहरूभन्दा उत्कृष्ट सफलता आर्जन गर्छन् जसको मातृभाषामा दखल राम्रो हुँदैन’’ (सकतनब-काङ्गस अनि टाउकोमा, सन् १९७६) (पाउलस्टोन, सन् १९७७: ९४ मा उद्धृत) ।
अमेरिकाबारे एउटा अर्को कथन हेर्नुहोस्:
‘’यस्तै अमेरिकामा पनि विस्तारै कस्तो घारणा विकसित हुँदैछ भने गैरअङ्ग्रेजीभाषी नागरिकलाई अङ्ग्रेजी शिक्षा प्रणालीमा हुल्ने अनि उनीहरूको मातृभाषाको विकासतिर ध्यान नदिनाले परिणाम राम्रो निस्कँदैन‘’ (टक्कर, सन् १९७७: ३) ।
घानामा भएको एक अनुसन्धानमा के पाइयो भने “…घानामा केवल ५ प्रतिशत नानीहरू माध्यमिक शिक्षा अनि जायरमा केवल ३० प्रतिशत नानीहरू चौथो कक्षा मुस्किलले पार गर्दछन् । अनुसन्धानकर्ता यसको कारण शिक्षाको माध्यमको भाषामा दक्षता आर्जन गर्न नसक्नु बताउँछन्‘’ (उही) ।
‘’विद्यार्थीलाई अङ्ग्रेजी आउँदैन भने उनीहरू विज्ञान र गणित सिक्न पाउँदैनन् भन्ने घारणा पनि गलत हो । किनभने विज्ञानको सङ्कल्प कुनै एक भाषा वा संस्कृतिसँग बाँधिएको छैन। अङ्ग्रेजी भाषाबिनै रूसी, जर्मन अनि फ्रान्सेली भाषा बोल्ने मानिसहरूले उच्चतम वैज्ञानिक खोजहरू गरे । आविष्कार गरे । यसमा उनीहरूलाई गर्व छ । वर्ष २००३ मा गणित अनि वैज्ञानिक अध्ययनहरूको रूझानमा शिर्ष स्थानमा रहने पाँच देश : सिङ्गापुर, कोरिया गणतन्त्र, हङकङ, चीन ताइपेई अनि जापान यस्ता देश हुन् जहाँ अङ्ग्रेजी प्रथम भाषाको रूपमा छैन‘’ (रिकार्डो र नोलास्को, सन् २००९: ६) ।
यसरी नै नर्वेको ग्लोबल मोनेटेरिङ रिपोर्ट (बेन्सन सन् २००५) मा उल्लेख गरिएको छ :
‘’योरूबा माध्यम प्राथमिक शिक्षा प्रोजेक्ट (फोफुन्वा र अन्य सन् १९७५; अकिनासो सन् १९९३; थप सन्दर्भका लागि अडेगप्रिया सन् २००३ हेर्नुहोस्) ले के सिध्द गर्यो भने मातृभाषा माध्यममा पूरा छ वर्षको पढाइ गराउनु तथा द्वितीय भाषा अङ्ग्रेजीलाई एक विषयको रूपमा पढाउनु सम्भव छ । त्यतिमात्र होइन, सम्पूर्ण पढाइ अङ्ग्रेजी माध्यममा गराएको भन्दा असल परिणाम अगाडि आएको छ।‘’
‘’हालसालैको अध्ययनले पनि के प्रमाणित गर्छ भने मातृभाषा आधारित दुईभाषे शिक्षाको सकारात्मक पक्षलाई अझ बल मिलेको छ‘’ (बेन्सन सन् २००५) । (मातृभाषा आधारित दुईभाषे शिक्षाको अर्थ के हो भने मातृभाषा माध्यममा शिक्षा होस् अनि विदेशी/दोस्रो भाषालाई एक विषयको रूपमा पढाइनुपर्छ)।
यसरी हामी देख्छौं: सारा विश्वमा घरीघरी के प्रमाणित भइसकेको छ भने शिक्षामा जति सफलता मातृभाषा माध्यमबाट प्राप्त हुन्छ‚ त्यति सफलता विदेशी भाषाको माध्यमबाट हुँदैन। शिक्षाको सफलता केवल मातृभाषा माध्यमबाटै सम्भव छ‚ यसो भन्नु अनुचित नहोला । निम्न कथनले पनि यसका केही कारणलाई उजागर गरेका छन् ।
‘’नानीहरू आफ्नो भाषामा सजिलै कुरा गर्न सक्छन्, किनभने उनीहरूलाई गल्ती गर्ने डर रहँदैन । मातृभाषा आधारित शिक्षामा विध्यार्थीहरू सिक्ने प्रक्रियामा बडो उत्सुकताले भाग लिन्छन् । किनभने जे उनीहरूलाई बताइन्छ अनि जे सोधिएको हुन्छ त्यसलाई तिनीहरू बुझिरहेका हुन्छन्। कल्पनाहरूको सृजना अनि यथार्थको विवरणका लागि, आफ्नो विचार प्रकट गर्नका लागि अनि जुन कल्पना उनीहरूको दिमागको हिस्सा हो त्यसमा नयाँ कल्पना समावेश गर्नका लागि उनीहरू मातृभाषाको तुरन्त प्रयोग गर्न सक्छन्। मातृभाषा आधारित शिक्षा शिक्षकहरूको सशक्तीकरणका लागि पनि उत्तिकै फलप्रद छ। जब शिक्षक स्थानीय भाषामा द्वितीय भाषाभन्दा धेरै पारङ्गत हुन्छन् यस्तो स्थितिमा विद्यार्थी आफूलाई असल रूपमा प्रकट गर्न सक्छन् अनि शिक्षक सहजै के जान्न सक्छन् भने विद्यार्थीले के के सिकिसके र के सिकाउन बाँकी छ अनि कहाँ धेरै सहायताको आवश्यकता छ। मातृभाषाले जनसमूहको सामूहिक ज्ञानलाई स्कुल प्रणालीसँग जोड्नका लागि पनि आधार तयार गर्दछ। स्थानीय रचनाकारहरू, सांस्कृतिक समूह अनि अन्य प्रासङ्गिक एकाइसँग तादाम्य मिलाएर गुणस्तरीय तथा अर्थपूर्ण शिक्षण सामग्री बनाउन पनि मातृभाषा माध्यमद्वारा सम्भव हुन्छ। स्कुलको भाषा अनि समूहको भाषा एउटै भएपछि अभिभावक पनि विद्यार्थीहरूको शिक्षामा सक्रिय रूपले भाग लिन सक्छन् । यसप्रकार मातृभाषा माध्यमले अभिभावकलाई पनि सशक्तीकरण गराउँदछ जुन द्वितीय माध्यमले गर्न सक्दैन‘’ (रिकार्डो र नोलास्को, सन् २००९) ।
भाषाविद् अनि शिक्षाविद्हरू के पनि तर्क राख्छन् भने यदि नानीहरूको शिक्षा मातृभाषामा छैन भने उनीहरू आफ्नो धेरै साल नयाँ भाषा सिक्नमा खर्च गर्छन् । किनभने ‘’यस्तो स्थितिमा विद्यार्थी अनि शिक्षकको ध्यान भाषा सिक्नमै एकाग्र रहन्छ र गणित, विज्ञान र साक्षरतामा ध्यान कम जान्छ।‘’ ((रिकार्डो र नोलास्को, सन् २००९: ११) ।
माथिका उदाहरणमा हामीले के देख्यौं भने विश्वभरिका खोज तथा विशेषज्ञहरूले शिक्षाको सफलता केवल मातृभाषाबाटै सम्भव छ भन्ने पक्का प्रमाण पेस गरेका छन् । तर भारतमा शिक्षा र भाषाबारे नीति बनाउनेहरु भने आँखामा पट्टी बाँधेर कानमा अङ्ग्रेजी रूईको ठूल्ठूलो डल्ला हालेर ‘अङ्ग्रेजी-अङ्ग्रेजी’ कराइरहेका छन् । यसरी कराउँदा कराउँदै देशको भाषा, शिक्षा र संस्कृतिलाई बर्बादीको पटरीमा ल्याएर उभ्याइदिएका छन् । यस लेखको उद्देश्य यो अज्ञानतालाई हटाउन अनि रूईको डल्लालाई निकाल्न गरिएको एक विनम्र प्रयासमात्र हो ।
क्रमश:
अनुवादक : वीरेन्द्र खड्का
इसमताबाट