चलचित्र ‘सायाबुङ’ काठमाण्डौमा प्रदर्शन

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ (शीरफुल) को भव्य प्रदर्शन भएको छ । किरात राई यायोक्खा केन्द्रिय कार्यालय कोटेश्वरस्थित सुम्नीमा हलमा शनिबार विशेष प्रदर्शनी भएको हो ।

द ह्वाइट फेसको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति किरात राई यायोक्खाका कार्यबहाक अध्यक्ष दिवश राईले फिल्म निर्माण टिमलाई बधाई दिए । प्रिमियर शो उद्घाटन गर्दै उनले यस्तो फिल्मको निर्माणले संस्कृतीको संरक्षणमा ठूलो योगदान पुग्ने बताए ।त्यस्तै नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा संघीय सांसद सुदन किरातीले संस्कृती संरक्षण तथा पहिचानको आन्दोलनमा चलचित्र क्षेत्रको पनि ठूलो भूमिका रहेको बताए ।

व्यापक दर्शकको उपस्थितिले हलमा अटाउन हम्मेहम्मे परेको थियो । दर्शकको उपस्थितिले आफुलाई थप काम गर्ने जाँगर आएको मात्र नभएर गर्व महसुस भएको निर्मात्री साया राईले बताइन ।

द पाल्म ग्रुप प्रा. लि. को ब्यानरमा निर्माण गरिएको सायाबुङ चलचित्र किरात राई सँस्कृतिमा आधारित रहेको छ । चलचित्रले किरातीहरुको परम्परागत मूल्य, मान्यता, प्रेम तथा विवाह जस्ता संस्कारहरु समेत समेटिएको छ । चलचित्रको नाम किराती सभ्यता र भाषाबाट लिइएको भएपनि पनि चलचित्र नेपाली भाषामा रहेको छ । पूर्वी नेपालको उच्च पहाडी भेगमा रहेको चौरी गोठ पालनको संस्कृतीलाई पनि चलचित्रमा समेटिएको छ । बस्ती भन्दा धेरै टाढा गोठ पालन गरि बस्ने युवा र बस्तीमा रहेकी युवती बीच झागिएको प्रेम वरिपरि फिल्मको कथा घुमेको छ ।

मोफसलमा निर्माण भएकाले केही प्राविधि कमजोरीका बाबजुद फिल्म राम्रो रहेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । मोफसलमा मात्र होइन समग्र नेपाली फिल्म उद्योगले नै हलिउडको जस्तो साइन्स फिक्सन दिन नसक्ने भएकाले अब नेपाली फिल्मले सायाबुङले जस्तै कन्टेन दिनु पर्ने फिल्म हेरिसकेपछि किरात राई युवा संघका केन्द्रिय अध्यक्ष सञ्जय राईले बताए ।

चलचित्रको छायाँङ्कन पूर्वी नेपाल भारत सीमाना सन्दकपुर, फालेलुङ, सिदिन, सिलौटी, लब्रेकुटी र भारतको मणीपुरका रमणीय स्थानहरुमा गरिएको छ ।

सौजन सुब्बा, निशा राई, सगुन सुसारा, साया राई, राहुल राई, दर्पण राई, उमेश राई र दिब्य आङ्देम्बेको अभिनय रहेको यस चलचित्र साया राईले निर्माण गरेका हुन । भगिराज राईको लेखन निर्देशन, भक्त सुनुवार र उदय नेमबाङको संगीत रहेको छ । देबजंग थापाले सम्पादन गरेका छन् । चलचित्रमा दिपक लिम्बू, रजिना रिमाल, दिपा लामा, उदय नेम्बाङ गौरिमान राई र भगिराज राईको गीत समेटिएको छ ।

काठमाडौंको विशेष प्रदर्शनपछि झापा, बिर्तामोड, इलाम, धरान लगायत नेपालको अन्य ठाउँमा समेत प्रदर्शन गरिने निर्देशक भगीराज राईले बताए । त्यसैगरी भारतको दार्जी्लिङ, सिक्किम, मणिपुर, कालेबुङ, दिल्ली र साउदी अरबमा पनि प्रदर्शन गर्ने मिति तय भइसकेको राईले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार