चुलाचुली गाउँपालिकाले पशु विकासमा ४९ लाख ५२ हजार लगानी, हजारौँ पशुपालक र पशुपन्छी लाभान्वित

चुलाचुली गतिविधि

  नयाँ बुलन्द
91 Shares

चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा पशुपालन व्यवसायलाई उत्पादनमुखी, व्यावसायिक तथा रोगमुक्त बनाउने उद्देश्यले ४९ लाख ५२ हजार ८५० बराबरका विभिन्न कार्यक्रम सञ्चालन गरी उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।

गाउँपालिकाको पशु सेवा शाखाले उपलब्ध गराएको असार १९ गतेसम्मको वार्षिक प्रगति विवरणअनुसार पशु नश्ल सुधार, पशु स्वास्थ्य, रोग नियन्त्रण, पशु आहारा विकास, खोप अभियान, दुग्धजन्य उत्पादन प्रवर्द्धन तथा प्राविधिक क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिएका छन् ।

पशु सेवा शाखाले आर्थिक वर्षभर पशुपालक किसानलाई प्रत्यक्ष सेवा दिने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरेको शाखा प्रमुख मशेसकुमार राईले जानकारी दिए । पशु सेवा प्रसार कार्यक्रमअन्तर्गत क्षेत्रीयस्तरमा तीन जना प्राविधिक तथा निजी पाराभेटलाई तालिम प्रदान गरिएको छ । यस कार्यक्रमका लागि २० हजार रुपैयाँ विनियोजन गरिएको थियो । तालिमले स्थानीय तहमा पशु स्वास्थ्य सेवा थप प्रभावकारी र गुणस्तरीय बनाउन सहयोग पुगेको शाखाको विश्वास छ ।

पशु नश्ल सुधार कार्यक्रमअन्तर्गत २ लाख रुपैयाँको बजेटबाट एक हजार १५ वटा गाईभैंसीमा कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको छ । यसैगरी कृत्रिम गर्भाधानबाट व्याएका दुहुना गाईभैंसीको स्वास्थ्य सुधारका लागि ४ लाख रुपैयाँको बजेटबाट ५ सय ६२ वटा गाईभैंसीलाई क्याल्सियम वितरण गरिएको छ । कृत्रिम गर्भाधान सेवालाई प्रभावकारी बनाउन नौ जना प्राविधिकलाई रेनकोट, झोला, एप्रोन र गमबुटलगायतका लजिस्टिक सामग्री खरिद गरी वितरण गरिएको छ, जसका लागि ५० हजार रुपैयाँ खर्च गरिएको छ।

पशु स्वास्थ्य कार्यक्रमअन्तर्गत रोग निदान तथा आन्तरिक–बाह्य परजीवी नियन्त्रणका लागि ३ लाख रुपैयाँ खर्च गरी ३२ हजार पशुपन्छीलाई सेवा प्रदान गरिएको छ । मेडिकल उपचार सेवाअन्तर्गत १ लाख ५० हजार रुपैयाँको बजेटबाट १२ हजार पशुपन्छीको उपचार गरिएको छ । सामान्य शल्यक्रिया आवश्यक पर्ने पशुका लागि १ लाख रुपैयाँ खर्च गरी ८ सय ७५ वटा गाईभैंसी, बाख्रा र सुँगुरमा माइनर सर्जिकल सेवा उपलब्ध गराइएको छ ।

त्यसैगरी प्रजननसम्बन्धी समस्या भएका २ सय ८० वटा गाईभैंसी तथा बाख्रालाई १ लाख रुपैयाँको बजेटमा गाइनोकोलोजिकल सेवा प्रदान गरिएको छ । महामारी तथा आकस्मिक रोग नियन्त्रणका लागि ६ लाख रुपैयाँ खर्च गरी १ हजार २ सय ५० पशुपन्छीलाई आकस्मिक उपचार सेवा उपलब्ध गराइएको शाखाले जनाएको छ ।

रेबिज रोग नियन्त्रण कार्यक्रमअन्तर्गत १ लाख ४० हजार रुपैयाँ खर्च गरी ७ सय वटा कुकुरलाई रेबिजविरुद्ध खोप लगाइएको छ । साथै कुकुरले टोकेका १ सय ६५ वटा गाईभैंसीको उपचार तथा आवश्यक व्यवस्थापनसमेत गरिएको छ ।

पशु आहारा विकास कार्यक्रमअन्तर्गत ६ लाख २५ हजार रुपैयाँको बजेटबाट १ हजार ७ सय घरधुरी कृषकलाई हिउँदे घाँस अर्थात् जई घाँसको बीउ वितरण गरिएको छ । यस कार्यक्रमले वर्षभरि हरियो घाँस उत्पादन गरी पशुपालनको लागत घटाउन र दूध तथा मासु उत्पादन वृद्धि गर्न सहयोग पुगेको गाउँपालिकाको विश्वास छ ।

संक्रामक रोग नियन्त्रणका लागि गाउँपालिकाले व्यापक खोप अभियान सञ्चालन गरेको छ । खोरेत रोगविरुद्ध २९ हजार ६ सय ३४ वटा गाईभैंसीलाई खोप लगाइएको छ, जसको व्यवस्थापन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, इलाममार्फत गरिएको हो । पी.पी.आर. रोगविरुद्ध २ लाख ३७ हजार ५ सय ६० रुपैयाँ खर्च गरी २३ हजार ७ सय ५६ वटा बाख्रालाई खोप लगाइएको छ ।

 क्लासिकल स्वाइन फिभर नियन्त्रणका लागि १ लाख ३९ हजार १ सय ६० रुपैयाँ खर्च गरी १३ हजार ९ सय १६ वटा सुँगुरलाई खोप लगाइएको छ भने लम्पी स्किन डिजिज नियन्त्रणका लागि १ लाख १ हजार १ सय ३० रुपैयाँ खर्च गरी ३ हजार ३ सय ७१ वटा गाईगोरुलाई खोप लगाइएको छ ।

नेपाल सरकारको सशर्त अनुदानअन्तर्गत पशु सेवा विभागमार्फत सञ्चालन गरिएको खोरेत रोग नियन्त्रण कार्यक्रमका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको थियो । उक्त रकमबाट खोप सुरक्षित रूपमा भण्डारण गर्न आवश्यक फ्रिजसहितका आधारभूत तथा लजिस्टिक सामग्री खरिद गरिएको छ ।

यसैगरी ८ लाख रुपैयाँको बजेटमा सञ्चालन गरिएको छुर्पी प्रवर्द्धन कार्यक्रममार्फत चार वटा दुग्ध डेरीलाई ५० प्रतिशत लागत साझेदारीमा अनुदान उपलब्ध गराइएको छ । यसबाट स्थानीय दुग्ध उत्पादनको प्रशोधन, मूल्य अभिवृद्धि र बजारीकरणमा टेवा पुगेको शाखा प्रमुख राईले बताए ।

चुलाचुली गाउँपालिकाका अनुसार आर्थिक वर्षभर सञ्चालन गरिएका यी कार्यक्रमले पशुपालन व्यवसायलाई थप व्यावसायिक बनाउन, पशु रोग नियन्त्रण गर्न, उत्पादन र उत्पादकत्व वृद्धि गर्न तथा किसानको आयआर्जन बढाउन महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

आगामी वर्षमा पनि आधुनिक प्रविधिमा आधारित पशुपालन, नश्ल सुधार, रोग नियन्त्रण, उत्पादन वृद्धि तथा किसानमैत्री कार्यक्रमलाई निरन्तरता दिँदै पशुपालन क्षेत्रलाई गाउँपालिकाको आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा विकास गरिने पशु सेवा शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार