
चुलाचुली : इलामको चुलाचुली गाउँपालिका–५ मा आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सडक, खानेपानी, स्वास्थ्य, धार्मिक तथा सामुदायिक पूर्वाधार विकाससँग सम्बन्धित १८ वटा योजना सम्पन्न भएका छन् ।
गाउँपालिका योजना शाखाले उपलब्ध गराएको असार १९ सम्मको योजना प्रगति विवरणअनुसार स्थानीय नागरिकको आवश्यकता र वडाको समग्र विकासलाई केन्द्रमा राखी सडक स्तरोन्नति, खानेपानी, ढल व्यवस्थापन, धार्मिक स्थल संरक्षण तथा सामुदायिक भवन निर्माणका योजना कार्यान्वयन गरिएको हो ।
वडा नम्बर ५ मा ग्रामीण सडकको स्तरोन्नति र आवागमनलाई सहज बनाउन विभिन्न योजना सम्पन्न भएका छन् । गैरी गाउँ बाटो स्तरोन्नति, बरबोटे बाटो स्तरोन्नति, भानु माध्यमिक विद्यालय पूर्वको बाटो स्तरोन्नति तथा रेडक्रस भवन पश्चिम ढल निकास निर्माण, शान्ति राज राईको घर पूर्व पोखरी जाने बाटो स्तरोन्नति, सिक्किमे मार्ग तथा महेन्द्र कार्कीको घर दक्षिणतर्फको बाटो स्तरोन्नति, बानु टोल मार्ग स्तरोन्नति तथा जेसिबी सञ्चालनमार्फत विभिन्न सडक निर्माण र मर्मत सम्पन्न गरिएको छ ।
यसैगरी जोगबहादुरको घर दक्षिणतर्फ रहेको खोल्सामा कल्भर्ट निर्माण सम्पन्न भएपछि वर्षायाममा पनि स्थानीय बासिन्दाको आवागमन सुरक्षित र सहज भएको गाउँपालिकाले जनाएको छ ।
वडामा झगरसिंह खानेपानी योजना स्तरोन्नति सम्पन्न गरिएको छ । यस योजनाले स्थानीय बासिन्दालाई सुरक्षित तथा नियमित खानेपानी सेवा उपलब्ध गराउन सहयोग पुगेको छ ।
स्वास्थ्य सेवाको पूर्वाधार सुदृढ बनाउन बुकुवा स्वास्थ्य चौकीको घेराबारा निर्माण गाउँपालिकासँगको साझेदारीमा सम्पन्न गरिएको छ । यसबाट स्वास्थ्य संस्थाको सुरक्षा र व्यवस्थापनमा सुधार आएको जनाइएको छ ।
धार्मिक तथा सामाजिक क्षेत्रलाई सुदृढ बनाउन ज्योति चर्च व्यवस्थापन तथा स्तरोन्नति, महिमा मण्डली कोलडाँडा व्यवस्थापन, महिमा मण्डली कोलडाँडा भवन स्तरोन्नति, महिमा मण्डली चपेटी पूर्वाधार स्तरोन्नति तथा पाथीभरा मन्दिर निर्माण (सहिद चन्द्र टोल) सम्पन्न गरिएको छ । यी योजनाले धार्मिक गतिविधि सञ्चालनका साथै स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा टेवा पुर्याएको गाउँपालिकाले जनाएको छ ।
वडामा चेतनशील युवा क्लब भवन निर्माण सम्पन्न भएको छ । यस भवनले स्थानीय युवा तथा सामाजिक गतिविधि सञ्चालनका लागि आवश्यक पूर्वाधार उपलब्ध गराएको छ ।
यसैगरी मलामी टहरा संरक्षण कार्य सम्पन्न गरिएको छ । यसले स्थानीय समुदायलाई अन्त्येष्टि तथा सामाजिक कार्यमा आवश्यक सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
सडकलाई दिगो र सुरक्षित बनाउने उद्देश्यले बरबोटे सडक संरक्षण सम्बन्धी कार्य पनि सम्पन्न गरिएको छ । यसले वर्षायाममा हुने सडक क्षति न्यूनीकरण गरी यातायात सेवा नियमित सञ्चालनमा सहयोग पुर्याउने विश्वास गरिएको छ । अन्य योजनाहरु समेत अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।
चुलाचुली गाउँपालिकाका अनुसार वडा नम्बर ५ मा सम्पन्न भएका यी योजनाले सडक सञ्जालको सुधार, खानेपानी सेवाको विस्तार, स्वास्थ्य पूर्वाधारको सुदृढीकरण, धार्मिक तथा सामुदायिक संरचनाको संरक्षण र सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याएका छन् । योजना कार्यान्वयनमा उपभोक्ता समिति, स्थानीय समुदाय र गाउँपालिकाबीचको सहकार्य प्रभावकारी रहेको जनाइएको छ ।















































