
चुलाचुली : इलामको चुलाचुली गाउँपालिका–४ मा आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सडक, शिक्षा, धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षण, पूर्वाधार मर्मत तथा विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धित नौ वटा विकास योजना सम्पन्न भएका छन् ।
चुलाचुली गाउँपालिका योजना शाखाले उपलब्ध गराएको असार १९ गतेसम्मको योजना प्रगति विवरणअनुसार स्थानीय आवश्यकता र दीर्घकालीन विकासलाई केन्द्रमा राखेर सञ्चालन गरिएका यी योजनाले वडा नम्बर ४ को पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याएका छन् ।
वडा क्षेत्रमा निर्माण भएका पूर्वाधारको दिगोपन सुनिश्चित गर्न पूर्वाधार मर्मत–सम्भार कोष परिचालन गरी आवश्यक मर्मत तथा संरक्षणका कार्य सम्पन्न गरिएको छ । यसबाट यसअघि निर्माण भएका सार्वजनिक संरचनाको संरक्षण र नियमित उपयोगमा सहजता आएको गाउँपालिकाले जनाएको छ ।
शिक्षा क्षेत्रतर्फ बालज्योति माध्यमिक विद्यालयमा सटर निर्माण सम्पन्न गरिएको छ । विद्यालय भवनलाई थप सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले गरिएको यस कार्यले विद्यालयको भौतिक पूर्वाधारमा सुधार ल्याएको छ । त्यसैगरी किराँत चोलुङ आधारभूत विद्यालयमा टहरा निर्माण सम्पन्न भएपछि विद्यालयमा अतिरिक्त शैक्षिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्न सहज भएको छ ।
पर्यटन तथा वातावरणीय सौन्दर्य प्रवर्द्धनका लागि चुलाचुली प्रवेशद्वारदेखि देउरालीसम्म सडक सौन्दर्यीकरण गरिएको छ । सडक किनारको व्यवस्थापन तथा सौन्दर्यीकरणले गाउँपालिकाको प्रवेश क्षेत्रलाई आकर्षक बनाउनुका साथै पर्यटक र आगन्तुकका लागि सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ ।
धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिँदै पुण्येश्वर शिव पाञ्चायन मन्दिर व्यवस्थापन सम्पन्न गरिएको छ । यसले धार्मिक गतिविधि सञ्चालन र मन्दिर परिसरको संरक्षणमा सहयोग पुगेको छ । त्यस्तै गाउँपालिकाको साझेदारीमा किरात माङ्हिम मूर्ति व्यवस्थापन सम्पन्न गरिएको छ, जसले किरात समुदायको सांस्कृतिक तथा धार्मिक पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको गाउँपालिकाले जनाएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा भू–क्षय नियन्त्रणका लागि वडा नम्बर ४ का विभिन्न आवश्यक स्थानमा तारजाली (गेबियन) लगाउने योजना राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमसँगको साझेदारीमा सम्पन्न गरिएको छ । उक्त योजनाले खोल्सा तथा भिरालो क्षेत्रमा हुने कटान नियन्त्रण गरी सडक, बस्ती र खेतीयोग्य जमिनको संरक्षण गर्न सहयोग पुगेको छ । साथै यस कार्यक्रममार्फत स्थानीय श्रमिकलाई रोजगारीको अवसर समेत प्रदान गरिएको थियो ।
यसैगरी किरात माङ्हिम जाने बाटोलाई उच्चस्तरीय ग्राभेल गरी स्तरोन्नति गरिएको छ । यसबाट धार्मिक स्थलसम्म पुग्ने यात्रु, स्थानीय बासिन्दा तथा पर्यटकको आवागमन थप सहज र सुरक्षित भएको छ ।
गाउँपालिकाका अनुसार योजना कार्यान्वयनमा उपभोक्ता समितिको सक्रिय सहभागिता, स्थानीय स्रोतसाधनको अधिकतम उपयोग तथा समुदायको सहकार्यलाई प्राथमिकता दिइएको थियो । सम्पन्न भएका यी योजनाले शिक्षा, धार्मिक पर्यटन, वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण तथा सडक पूर्वाधार विकासमा उल्लेखनीय उपलब्धि हासिल गरेको गाउँपालिकाले जनाएको छ ।
चुलाचुली गाउँपालिकाले आगामी वर्षहरूमा पनि स्थानीय आवश्यकता र जनचाहनाअनुसार विकास निर्माणका कार्यक्रमलाई निरन्तरता दिँदै दिगो, समावेशी र गुणस्तरीय पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए ।















































