चुलाचुली-२ मा सडक, शिक्षा, खानेपानी र धार्मिक पूर्वाधारका १५ विकास योजना सम्पन्न

चुलाचुली गतिविधि

  नयाँ बुलन्द
77 Shares

चुलाचुली : इलामको चुलाचुली गाउँपालिका-२ मा आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सडक स्तरोन्नति, शिक्षा, खानेपानी, धार्मिक तथा वातावरण संरक्षणसँग सम्बन्धित १५ वटा विकास निर्माणका योजना सम्पन्न भएका छन् । चुलाचुली गाउँपालिका योजना शाखाले उपलब्ध गराएको असार १९ गतेसम्मको प्रगति विवरणअनुसार स्थानीय पूर्वाधारको विकास, सुरक्षित आवागमन, शैक्षिक वातावरण सुधार तथा सामुदायिक संरचनाको संरक्षणलाई प्राथमिकतामा राखेर योजना कार्यान्वयन गरिएको हो ।

वडाभरिका सडकलाई वर्षभरि सञ्चालनयोग्य बनाउने उद्देश्यले आवश्यकताअनुसार वडा भित्रका सडकको दायाँ–बायाँ सरसफाइ तथा ग्रेडर र रोलर सञ्चालन गरिएको छ । राष्ट्रिय रोजगार प्रबर्द्धन कार्यक्रमसँगको साझेदारीमा सम्पन्न उक्त योजनाले स्थानीय बेरोजगार नागरिकलाई रोजगारी उपलब्ध गराउनुका साथै सडकको गुणस्तर सुधार गरेको छ ।

यसैगरी खानेपानी मार्ग र शान्ति चर्च मार्गमा थप लुज ग्राभेल, फायरलाइनदेखि चन्द्र अधिकारीको घर हुँदै पूर्वी सिमानासम्मको सडकमा लुज ग्राभेल, लेक्वा चोकदेखि अमृत बोर्डिङ हुँदै अमर चोकसम्म थप लुज ग्राभेल तथा संगीत मार्गको अधुरो काम पूरा गरी चेम्जोङ शहीद मार्गमा लुज ग्राभेल गर्ने कार्य सम्पन्न भएको छ । यी योजनाले वडा नम्बर २ का विभिन्न बस्तीमा आवागमनलाई सहज र सुरक्षित बनाएको गाउँपालिकाले जनाएको छ ।

वर्षायाममा हुने जलनिकासको समस्या समाधान गर्न तिनकुने क्षेत्रमा ड्रेन निर्माण तथा आवश्यक स्थानमा प्रिकास्ट स्ल्याब व्यवस्थापन, ह्युम पाइप खरिद तथा जडान र पञ्चकन्या आधारभूत विद्यालय जाने बाटोमा अपुरो ड्रेन निर्माण सम्पन्न गरिएको छ। यसबाट सडक संरक्षण र पानीको निकास व्यवस्थित भएको स्थानीयवासीले बताएका छन् ।

शिक्षा क्षेत्रअन्तर्गत श्री पञ्चकन्या आधारभूत विद्यालयको अपुरो घेराबारा तथा विद्यालय जाने बाटोमा ड्रेन निर्माण सम्पन्न गरिएको छ । राष्ट्रिय रोजगार प्रबर्द्धन कार्यक्रम र गाउँपालिकाको साझेदारीमा सम्पन्न यस योजनाले विद्यालयको सुरक्षा तथा विद्यार्थीको आवतजावतलाई सहज बनाएको छ ।

वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै तीनकुने पोखरी सिमसार क्षेत्र संरक्षण तथा सौन्दर्यीकरण गरिएको छ। यस योजनाले सिमसार क्षेत्रको संरक्षणसँगै स्थानीय जैविक विविधता र पर्यावरणीय सन्तुलन कायम राख्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

धार्मिक तथा सामुदायिक पूर्वाधारतर्फ दुर्गा मन्दिरको छानो निर्माण तथा शान्ति झुण्ड जलुके चर्च निर्माण सम्पन्न भएको छ । यी योजनाले धार्मिक आस्था र सामुदायिक गतिविधि सञ्चालनका लागि आवश्यक पूर्वाधारलाई थप व्यवस्थित बनाएका छन् ।

त्यसैगरी चाजु खोलामा बाँसको पाइलिङ निर्माण गरी खोलाको कटान नियन्त्रण तथा आसपासका बस्ती र कृषि योग्य जमिनको संरक्षण गर्ने कार्य सम्पन्न गरिएको छ ।

गाउँपालिकाका अनुसार योजना कार्यान्वयनमा उपभोक्ता समितिको सक्रिय सहभागिता, स्थानीय श्रमको उपयोग तथा प्रधानमन्त्री रोजगार कार्यक्रमसँगको सहकार्यलाई प्रभावकारी रूपमा परिचालन गरिएको थियो। यसबाट स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै विकास निर्माणका कार्य लागत प्रभावकारी रूपमा सम्पन्न भएका छन् ।

चुलाचुली गाउँपालिका-२ मा सम्पन्न भएका यी योजनाले सडक सञ्जाल सुधार, शैक्षिक पूर्वाधार सुदृढीकरण, खानेपानी तथा जलनिकास व्यवस्थापन, वातावरण संरक्षण र धार्मिक संरचनाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । गाउँपालिकाले आगामी वर्षहरूमा पनि स्थानीय आवश्यकताका आधारमा यस्ता विकास निर्माणका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार