चुलाचुली : इलामको चुलाचुली गाउँपालिका–१ मा आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन गरिएका सडक, शिक्षा तथा सार्वजनिक पूर्वाधारसँग सम्बन्धित आठ वटा विकास निर्माणका योजना सम्पन्न भएका छन् । गाउँपालिका योजना शाखाका अनुसार स्थानीयको दैनिक जीवन सहज बनाउने, शैक्षिक पूर्वाधार सुदृढ गर्ने तथा सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएका योजना निर्धारित अवधिमा सम्पन्न भएका हुन् ।
सम्पन्न योजनामध्ये रेडक्रस भवन मर्मत गरी भवनको संरचनालाई थप सुरक्षित र उपयोगी बनाइएको छ । यसैगरी वडा कार्यालय टहरा निर्माण सम्पन्न भएपछि सेवाग्राहीलाई सेवा प्रवाह गर्न थप सहज वातावरण बनेको गाउँपालिकाले जनाएको छ ।
पूर्वाधार विकासअन्तर्गत राई टोल जाने कुमाले खोलामा कजवे निर्माण (बहुवर्षीय योजना) सम्पन्न गरिएको छ । यस योजनाले वर्षायाममा अवरुद्ध हुने आवागमनलाई सहज बनाउँदै स्थानीय बासिन्दा, विद्यार्थी तथा किसानलाई प्रत्यक्ष लाभ पुगेको अपेक्षा गरिएको छ ।
त्यसैगरी झ्यारझ्यारे र मछेलु जोड्ने कल्भर्ट निर्माण योजना सम्पन्न भएको छ । राष्ट्रिय रोजगार कार्यक्रमसँगको साझेदारीमा सञ्चालन गरिएको यस योजनाले स्थानीय बेरोजगार नागरिकलाई रोजगारी उपलब्ध गराउनुका साथै बस्तीबीचको यातायात सम्पर्कलाई थप सुरक्षित र सहज बनाएको छ ।
शिक्षा क्षेत्रतर्फ शिवज्योति आधारभूत विद्यालयको घेराबारा निर्माण सम्पन्न भएको छ । विद्यालय परिसर व्यवस्थित र सुरक्षित बनेसँगै विद्यार्थीका लागि अध्ययन वातावरणमा सुधार आएको विद्यालय व्यवस्थापन पक्षले जनाएको छ। यस्तै लायफाङ्ग बहुभाषिक पाठशालाको पूर्वाधार निर्माण सम्पन्न भएपछि विद्यालयको भौतिक सुविधा विस्तार भएको छ ।
सडक पूर्वाधार सुधारअन्तर्गत साधु मार्गमा ह्युमपाइप जडान, ग्राभेल तथा बागद्धार खोलामा तटबन्धन निर्माण सम्पन्न गरिएको छ । यस योजनाले सडकको दिगोपना बढाउनुका साथै वर्षायाममा हुने कटान तथा क्षतिलाई न्यूनीकरण गर्न सहयोग पुगेको गाउँपालिकाले जनाएको छ ।
अन्य थुप्रै योजनाहरु अन्तिम चणमा पुगेको योजना शाखाले जानकारी दिएको छ ।















































