चुलाचुलीमा एक वर्षमा ६ हजार ६ सय ९६ जन्म दर्ता, १ हजार ७०० जनाको मृत्यु दर्ता

चुलाचुली गतिविधि

  नयाँ बुलन्द
0 Shares

चुलाचुली : इलामको चुलाचुली गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ को असार १९ गतेसम्म  व्यक्तिगत घटना दर्ता प्रणालीमार्फत ६ हजार ६ सय ९६ वटा जन्म दर्ता र १ हजार ७०० वटा मृत्यु दर्ता भएको छ । पञ्जीकरण शाखाका एमआइएस अपरेट प्रविन परियारका अनुसार जन्म दर्तामध्ये ३ हजार ३ सय ६६ जना पुरुष, ३ हजार ३ सय २९ जना महिला र १ जना तेस्रो लिङ्गी रहेका छन् । यसले गाउँपालिकामा जन्म दर्ताको पहुँच बढ्दै गएको र अधिकांश बालबालिकाको समयमै दर्ता हुने क्रम सुदृढ बन्दै गएको देखाउँछ ।

त्यसैगरी सोही अवधिमा १ हजार ७०० जनाको मृत्यु दर्ता भएको छ । तीमध्ये ९५२ पुरुष, ७४७ महिला तथा १ जना तेस्रो लिङ्गी रहेका छन् ।

विवाह दर्तातर्फ २ हजार ८८४ जोडीले विवाह दर्ता गरेका छन् भने २५० जोडीले सम्बन्ध विच्छेद गरेका छन् । सो अवधिमा १ हजार ३४ परिवारका २ हजार ९०१ जना बसाइँ सराइ गरी चुलाचुलीमा भित्रिएका छन् भने १ हजार १९२ परिवारका ३ हजार २७३ जना बसाइँसराइ अन्यत्र गएका छन् ।

गाउँपालिकाका सबै ६ वटै वडाबाट व्यक्तिगत घटना दर्ताको विवरण संकलन गरिएको हो ।

व्यक्तिगत घटना दर्ता नागरिकको कानुनी पहिचान, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य सेवा, नागरिकता प्राप्ति तथा सरकारी सेवा प्रवाहको आधारभूत अभिलेख भएकाले समयमै घटना दर्ता गराउन गाउँपालिकाले नागरिकलाई आग्रह गर्दै आएको छ । स्थानीय तहले वडास्तरबाटै सहज सेवा उपलब्ध गराउँदै घटना दर्ता प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार