
चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत १८ लाख ७२ हजार बराबरका सात वटा श्रममूलक विकास योजना सञ्चालन गरेको छ । नेपाल सरकारको शर्त अनुदान (चालु) अन्तर्गत सञ्चालन गरिएका यी योजनामार्फत स्थानीय बेरोजगार नागरिकलाई रोजगारी उपलब्ध गराउनुका साथै सडक, खानेपानी, तारजाली, कल्भर्ट तथा सार्वजनिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ।
गाउँपालिकाको प्रगति विवरणअनुसार वडा नम्बर ४ मा विभिन्न स्थानमा तारजाली निर्माण, वडा नम्बर ३ मा खलबले-होलीवनपाले हुँदै होली तथा पर्यटन मार्ग जाने बाटो मर्मत तथा तिलतले सुपारीबोटे चिसापानी खानेपानी व्यवस्थापन, वडा नम्बर ६ मा दशमीमा पार्क निर्माण, वडा नम्बर २ मा सडक स्तरोन्नति तथा विद्यालय जाने बाटोमा ड्रेन निर्माण, र वडा नम्बर १ मा झ्यारझ्यारे र मछेलु जोड्ने कल्भर्ट निर्माणका योजना सञ्चालन भएको रोजगार संयोजक मनिष श्रेष्ठले जानकारी दिए । रोजगार संयोजक श्रेष्ठका अनुसार सबै योजनाका लागि चुलाचुली गाउँपालिकाले पनि १८ लाख ७२ हजार बराबारको साझेदारी गरेको थियो ।
राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमले श्रममा आधारित विकास योजनामार्फत स्थानीय नागरिकलाई रोजगारी सिर्जना गर्नुका साथै समुदायलाई आवश्यक पूर्वाधार निर्माण गर्ने उद्देश्य राखेको छ । चुलाचुली गाउँपालिकाले पनि सोही उद्देश्यअनुसार कार्यक्रम कार्यान्वयन गर्दै स्थानीय विकास र रोजगारी प्रवर्द्धनलाई सँगसँगै अघि बढाएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए ।
















































