
इलाम : इलामको माई नगरपालिका–९ बोरुङका किसान व्यावसायिक केरा खेतीबाट आत्मनिर्भरतर्फ उन्मुख भएका छन्। परम्परागत अन्नबालीको तुलनामा कम श्रम, कम लगानी र छिटो प्रतिफल दिने भएकाले यहाँका किसानले केरा खेतीलाई मुख्य आम्दानीको स्रोत बनाउँदै लगेका हुन्।
स्थानीय किसानका अनुसार केरा खेतीबाट अन्नबालीको तुलनामा तीन गुणासम्म बढी आम्दानी भइरहेको छ। यही आम्दानीले घरखर्च धान्ने, बालबालिकाको शिक्षा खर्च जुटाउने र खेती विस्तार गर्न सहयोग पुगेको छ।
किसान टुपेन्द्र लिम्बूले पाँच वर्षअघि सुरु गरेको केरा खेती अहिले परिवारको मुख्य आयस्रोत बनेको बताए। उनले करिब १० रोपनी क्षेत्रफलमा एक हजार बोट केरा लगाएका छन्। तीमध्ये करिब पाँच सय बोटले उत्पादन दिन थालेका छन्।
“अन्नबाली लगाइने खेतबारीमा केरा रोपेँ। अहिले आधा बोटबाटै घरी लाग्न थालेको छ,” लिम्बूले भने, “प्रतिघरी ३०० देखि ७०० रुपैयाँसम्ममा बगानबाटै बिक्री हुन्छ। अन्नबालीभन्दा धेरै लाभ हुने रहेछ।”
उनका अनुसार रोपेको नौ महिनादेखि एक वर्षभित्र उत्पादन लिन सकिने भएकाले केरा खेतीले किसानलाई छिट्टै प्रतिफल दिन्छ। लिम्बूले वार्षिक दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।
अर्का किसान मिलन राईले पनि केरा खेतीबाट वार्षिक डेढ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन्। तीन वर्षअघि सुरु गरेको खेती विस्तार गर्ने तयारीमा रहेका उनले पाँच सय बोट केरा रोपेका छन्। तीमध्ये तीन सय बोटले नियमित उत्पादन दिइरहेका छन्।
उनका अनुसार उत्पादन बजारसम्म पुर्याउने झन्झट नहुनु किसानका लागि थप सुविधा बनेको छ। यसले खेती विस्तार गर्न उत्साह थपेको छ।
केरा खेतीले ग्रामीण अर्थतन्त्रलाई टेवा पुर्याएको अनुभव अर्का किसान तीर्थ साउदेनसँग पनि छ। गत वर्षदेखि पाँच रोपनी क्षेत्रफलमा दुई सय बोट केरा लगाएका उनले पहिलो वर्षमै ८० हजार रुपैयाँ आम्दानी गरेका छन्।
“केही बोटले मात्रै उत्पादन दिन थालेका छन्,” उनले भने, “यसले घरव्यवहार चलाउन सहयोग पुगेको छ। आगामी वर्ष उत्पादन अझै बढ्ने अपेक्षा छ।”
बोरुङका किसानले चिनीचम्पा, धुस्रे, काबेली, झाजी, भण्डारी र झपरीलगायत स्थानीय प्रजातिका केरा उत्पादन गर्दै आएका छन्। स्थानीय हावापानी र माटो अनुकूल भएकाले यी प्रजातिको उत्पादन राम्रो हुने गरेको किसानको अनुभव छ।
उत्पादन बढ्दै गए पनि बजारको अभाव भने देखिएको छैन। व्यापारीहरू बगानमै पुगेर केरा खरिद गर्ने गरेका छन्। यसले किसानलाई ढुवानी खर्च र बजार व्यवस्थापनको झन्झटबाट मुक्त बनाएको छ।
वडा सदस्य विनोद साउदेनका अनुसार यातायात पूर्वाधार विस्तार भएपछि किसानले उत्पादनको उचित मूल्य पाउन थालेका छन्।
“यहाँ उत्पादन भएको केरा बिक्रीमा कुनै समस्या छैन,” उनले भने, “व्यापारी गाउँमै आएर खरिद गर्छन्। सडक पहुँच राम्रो भएपछि मूल्य पनि सन्तोषजनक पाउन थालेका छन्।”
स्थानीय नमूना सामुदायिक वन उपभोक्ता समूह र माई नगरपालिकाको सहकार्यमा बोरुङ टोलसम्म सडक विस्तार भएपछि कृषि उत्पादनको बजारीकरण सहज भएको छ। अहिले यहाँ उत्पादन भएको केरा झापाको बिर्तामोड, काँकडभिट्टा र दमक, सुनसरीको धरान, मोरङको विराटनगर हुँदै काठमाडौंसम्म पुग्ने गरेको छ।
दक्षिणी इलामका विभिन्न क्षेत्रमा पछिल्ला वर्ष व्यावसायिक केरा खेतीप्रति आकर्षण बढ्दो छ। माई नगरपालिकाको बोरुङसँगै दानाबारी, महमाई र चिसापानी क्षेत्रमा पनि खेती विस्तार भइरहेको छ। माङसेबुङ गाउँपालिकाका बाँझो, सिङफेरे, मार्चेबुङ र सिमलटार तथा चुलाचुली गाउँपालिकाका तोरिबारी र साकफारालगायतका क्षेत्रका किसानले समेत केरा खेतीलाई व्यावसायिक रूपमा अंगाल्दै आएका छन्।
कृषि क्षेत्रमा बढ्दो लागत, श्रमिक अभाव र अन्नबालीबाट घट्दो प्रतिफलका बीच केरा खेतीले ग्रामीण किसानका लागि नयाँ सम्भावना देखाएको छ। बाँझो तथा कम उपयोगमा रहेका जमिनको सदुपयोग गर्दै लाखौं रुपैयाँ आम्दानी गर्न सकिने उदाहरण बोरुङका किसानले प्रस्तुत गरेका छन्।
कहिल्यै अन्नबालीको भरमा सीमित रहेको बोरुङ अहिले केराको उत्पादन केन्द्रका रूपमा परिचित बन्दै गएको छ। यही परिवर्तनले गाउँको आर्थिक गतिविधि चलायमान बनाउँदै किसानलाई आत्मनिर्भरतर्फ डोर्याइरहेको छ।


















































