घुर्विसे पञ्चमीको खेलमैदानमा जेठ २५ गतेदेखि खुल्ला नक-आउट फुटबल प्रतियोगिता

  युद्धबहादुर बोहोरा
140 Shares

घुर्विसे पञ्चमीः इलाम-पाँचथरको सिमानास्थित घुर्विसे पञ्चमी बजारको खेलमैदानमा आगामी जेठ २५ गतेदेखि खुल्ला नक-आउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित स्थानीय युथ एफ.सी.को आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

आयोजकका अनुसार प्रतियोगिता जेठ २५ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ। खेलकुदको विकास, युवाहरूमा खेलप्रतिको आकर्षण वृद्धि तथा खेलप्रेमीलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ। प्रतियोगिताको विजेता टोलीले नगद ६० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई नगद ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई समेत विशेष पुरस्कार तथा सम्मान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा बढीमा १६ टोलीको मात्र सहभागिता रहनेछ। सहभागी टोलीका लागि प्रवेश शुल्क ४ हजार रुपैयाँ तथा धरौटी शुल्क १ हजार रुपैयाँ तोकिएको छ। शुल्क अनलाइनमार्फत समेत बुझाउन सकिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। टोली दर्ताको अन्तिम समय जेठ २४ गते बिहान १० बजेसम्म निर्धारण गरिएको छ। सोही दिन बेलुका ७ बजे प्रतियोगिताको टाइसिट सार्वजनिक गरिने कार्यक्रम रहेको छ।

प्रतियोगिता अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को नियमावलीअनुसार सञ्चालन गरिनेछ। खेलमा ७ जना मैदानमा र ३ जना अतिरिक्त खेलाडीसहित कुल १० जना खेलाडी समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।खेलका क्रममा उत्पन्न हुने कुनै पनि विवादमा रेफ्रीको निर्णय अन्तिम मानिने तथा खेलाडी घाइते भएमा सम्बन्धित टोली स्वयं जिम्मेवार हुने नियम तय गरिएको युथ एफ.सी.का अध्यक्ष चिरन राई र सचिव विनोद आङदेम्बेले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार