
पाँचथरः कुम्मायक गाउँपालिका-५ स्थित गुह्येश्वरी आधारभूत विद्यालय दुम्सिपोखरीमा दाताहरूको सहयोग निरन्तर बढ्दै गएको छ। आइतबार आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई स्कुल ब्याग, पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको हो।
अधिकारी निर्माण सेवा पाँचथरका सञ्चालक शिव अधिकारीले विद्यालयका ४५ जना विद्यार्थीलाई करिब ३० हजार रुपैयाँ बराबरका स्कुल ब्याग प्रदान गर्नुभयो। नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीका लागि ब्याग उपलब्ध गराएको भन्दै विद्यालयले उहाँलाई कदरपत्रसहित सम्मान गरेको थियो।त्यस्तै विद्यालयमा स्थापना भएका विभिन्न अक्षयकोषको ब्याज रकमबाट ४५ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ। अविमाया ढकाल, मिना सोडरी, दुर्गादेवी भण्डारी, रञ्जीत तथा गंगा भण्डारी र पाँचथर दोहा कतार सेवा समाजका अक्षयकोषबाट प्राप्त करिब २० हजार रुपैयाँबाट पोशाक वितरण गरिएको प्रधानाध्यापक भक्तबहादुर तामाङले जानकारी दिए।
विद्यालयको शैक्षिक विकासमा योगदान पुर्याएका १२ जना अक्षयकोष दातालाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा सव डिभिजन वन कार्यालय यासोकका प्रमुख चन्द्रकान्त झाले पनि शैक्षिक सामग्री वितरण गरे।यसै अवसरमा ३० वर्ष सेवा गरी अवकाश लिनुभएका शिक्षक रामकुमार सम्बाहाम्फेले ३० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुका साथै ५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गरे। पूर्व शिक्षक खगेन्द्र प्रसाद खतिवडाले पनि २० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको विद्यालयले जनाएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कुम्मायक गाउँपालिका अध्यक्ष वमप्रसाद लावती प्रमुख अतिथि थिए । कार्यक्रममा सहयोगी दाता, अतिथि तथा सञ्चारकर्मीहरूलाई समेत मायाको चिनो प्रदान गरिएको थियो। विद्यार्थी र अभिभावकसहित १३५ जनाको सहभागिता रहेको कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको विद्यालयले जनाएको छ।



















































