फाकफोकथुम-४ का एमाले कार्यकर्ता सामूहिक अदुवा खेतीमा जुट्यो

  नयाँ बुलन्द
350 Shares

इलाम : नेपाल कम्युनिष्ट पार्टी (एमाले) फाकफोकथुम गाउँपालिका कमिटीले कार्यकर्तालाई उत्पादन र सामूहिक श्रमसँग जोड्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको छ। अभियानअन्तर्गत वडा नं. ४ कमिटीले सामूहिक रूपमा अदुवा खेती सुरु गर्दै उत्पादनमुखी कार्यक्रमलाई व्यवहारमै उतारेको हो ।

वडा कमिटी अध्यक्ष अम्बरबहादुर लिम्बू तथा उत्पादन फाँटका प्रमुख ढाकाबहादुर मगरको नेतृत्वमा कार्यकर्ताहरू सामूहिक श्रममा जुटेर अदुवा रोपाइँ गरिएको एमालेले जनाएको छ। स्थानीय स्तरमै उत्पादन वृद्धि गर्दै श्रम संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

गाउँकमिटी अध्यक्ष अर्जुनकुमार लिम्बुले वडा नं. ४ ले थालेको अभियानलाई उदाहरणीय कार्यको रूपमा प्रशंसा गरेका छन् । उनले सामूहिक श्रम र उत्पादनले पार्टीभित्र नयाँ ऊर्जा थपेको उल्लेख गर्दै यस्ता अभियानलाई आगामी दिनमा अन्य वडामा समेत विस्तार गरिने बताए ।

उनका अनुसार उत्पादनसँग जोडिने अभियानले कार्यकर्ताबीच एकता, आत्मनिर्भरता र श्रमप्रतिको सम्मान बढाउने विश्वास लिइएको छ । एमाले फाकफोकथुम गाउँपालिका कमिटीले कृषि उत्पादनमार्फत स्थानीय अर्थतन्त्रमा समेत टेवा पुग्ने अपेक्षा गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार