
इलाम : इलामको माङसेबुङ गाउँपालिकाले किसानले उत्पादन गरेको बेसारलाई बजारीकरणका लागि ‘माङसेबुङको बेसार’ नामक आफ्नै ब्राण्डसिहत बेसार प्रशोधन केन्द्र स्थापना गरेको छ । स्थानीय महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्थासँगको सहकार्यमा माङसेबुङ गाउँपालिकाले बेसार प्रशोधन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको हो । माङसेबुङ गाउँपालिका-१ स्थित गजुरमुखीमा स्थापना गरिएको प्रशोधन केन्द्रको आइतबार माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले उद्घाटन गरे ।
‘बेसार प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत गाउँपालिकाको छ लाख ७५ हजार (७० प्रतिशत) र सहकारी संस्थाको दुई लाख ८९ हजार (३० प्रतिशत) लागत साझेदारी गरी कूल नौ लाख ६४ हजारको लागतमा बेसार प्रसोधन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।
माङसेबुङ क्षेत्रमा उत्पादन हुने बेसार गुणस्तरीय तथा अर्गानिक भएकाले त्यसलाई स्थानीय पहिचानसँग जोडेर ब्राण्डिङ गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । ‘प्रशोधन केन्द्रमार्फत अब स्थानीय किसानले उत्पादन गरेको बेसार सफाइ, सुकाइ, पिसाइ तथा प्याकेजिङ गरी बजार पठाइनेछ,’ अध्यक्ष राईले भने, ‘यसले कच्चा उत्पादन बिक्री गर्नुपर्ने बाध्यता हटाउँदै किसानलाई राम्रो मुल्य पाउने वातावरण समेत सिर्जना भएको छ ।’
कृषिलाई व्यावसायिक र आयमुखी बनाउन गाउँपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम तर्जुमा गर्ने गरिएको उल्लेख गर्दै अध्यक्ष राईले आगामी दिनमा समेत कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।
गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङले बेसारको ब्राण्डिङ भएपछि स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग मिल्ने विश्वास व्यक्त गरे । ‘अब किसानले उत्पादन मात्र होइन, आफ्नै ब्राण्डमा बजार पाउने अवस्था बनेको छ,’ उपाध्यक्ष नेम्बाङले भने, ‘यसले माङसेबुङको उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग मिल्ने विश्वास लिएका छौं ।’
प्रशोधन केन्द्र सञ्चालनमा आएपछि किसानहरु समेत आफूले उत्पादन गरेको बेसारले राम्रो मुल्य पाउनेमा आशावादी छन् । ‘गाउँमै प्रसोधन केन्द्र सञ्चालनमा आएपछि किसानले उचित मुल्य पाउने तथा रोजगारी सिर्जना हुने वातावारण बनेको छ,’ गजुरमुखी महिला सहकारी संस्थाकी अध्यक्ष समेत रहेको किसान डिकमाया लुहागुनले भनिन्, ‘यसले स्थानीय उत्पादनप्रति उपभोक्ताको विश्वास बढ्ने अपेक्षा छ ।’
१ नं. वडा अध्यक्ष भूपाल योङहाङले कृषिको व्यावसायीकरण तथा बजारीकरणका माध्यमले रोजगारी सिर्जना गरी गरिबी निवारण गर्ने उद्देश्यले आफ्नै ब्राण्डसहित बेसारको उत्पादन र बजारीकरणको सुनिश्चित गरिएको बताए । वडा कार्यालयले ३ वर्ष पहिले उद्यमशीलता तथा बेसार खेती अभिमुखीकरण तालिम दिएर किसानलाई बेसारको बीउ वितरण गरेको थियो ।
महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्थामार्फत साझेदारी मोडेलमा वडाभित्रका २८ जना किसानलाई अनुदानमा १५ क्विन्टल बेसारको बीउ उपलब्ध गराएको थियो । त्यसपछिका वर्षहरुमा सुरुमा २८ जना किसानलाई दिइएको बीउबाट उत्पादन भएको बेसार अन्य किसानलाई समेत उपलब्ध गराएर अन्य किसानमा बेसार खेती विस्तार गरिएको वडाअध्यक्ष योङहाङले बताए ।
इलाममा एक सय २३ हेक्टर क्षेत्रमा बेसार खेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । बेसार १० गुणा बढी फल्ने किसानहरु बताउँछन् । एक किलोग्राम बेसारबाट १० किलोग्रामसम्म उत्पादन हुने किसानहरुको भनाइ छ ।

बेसार विभिन्न जाताका हुन्छन् । मसलाका रुपमा बेसारलाई तरकारीमा प्रयोग गरिन्छ । यसलाई औषधीय गुणका रुपमा लिने गरिन्छ । बेसारको नियमित प्रयोगले चिसोबाट बच्न सकिने आयुर्वेदका जानकारहरु बताउँछन् । उनीहरुका अनुसार शरीरका हरेक अङ्गलाई फाइदा पुर्याउने स्वास्थ्यवर्द्धक मानिएको जडिबुटीमा बेसार बहुउपयोगी औषधि हो । ‘एन्टिबायोटिक’ बनाउँदा बेसारको प्रयोग हुने गरेको छ । बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नका साथै ‘इन्फेक्सन’ बाट पनि बचाउँछ ।
बेसार मुख्यतया उष्ण हावापानीमा हुने बाली हो । समुन्द्र सतहदेखि करिब एक हजार दुई सय मिटर उचाइसम्म बेसार खेती गर्न सकिन्छ । यसको खेती सिंचित र असिंचित हल्का कालोदेखि दोमट र रातो माटफमा गर्न सकिने भएपनि पानी नजम्ने बलौटे दोमट माटो यसको लागि उपयुक्त मानिन्छ ।
बेसार खेती पनि नगदे बाली भएको र तत्कालै नबिग्रिने भएकाले किसानको आकर्षण बेसार खेतिप्रति बढेको किसानहरुको भनाइ छ ।




















































