इलाम : इलामको माङसेबुङ गाउँपालिका-३ स्थित चतुरे बजारमा आजदेखि ‘चतुरे बजार कृषि तथा पर्यटन महोत्सव प्रथम खुला नकआउट फुटबल प्रतियोगिता’ सुरु हुँदैछ ।
चतुरे बजार कृषि तथा पर्यटन प्रवर्द्धन समितिको आयोजनामा वैशाख १ गतेसम्म सञ्चालन हुने चतुरे बजार कृषि तथा पर्यटन महोत्सवको अवसरमा फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो । महोत्सवसँगै फुटबल प्रतियोगिताको उद्घाटन माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले गर्नेछन् ।
उद्घाटन खेलमा एमपीसी मानपुर र गगन एफसीबिच प्रतिष्पर्धा हुँदैछ । त्यस्तै काका एफसी र पावा एफसीबिच पनि आजै दोस्रो खेल हुने खेल संयोजक प्रविन लिम्बूले जानकारी दिए ।
फुटबल प्रतियोगितामा झापा, इलाम र पाँचथरका १६ टिमको सहभागिता रहेको छ । फुटबलका विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।
महोत्सव अन्तर्गत भेट्रान्स फुटबल प्रतियोगिता, मैत्रीपूर्ण महिला फुटबल, मैत्रीपूर्ण कर्मचारी र शिक्षक फुटबल एवम् मैत्रीपूर्ण जनप्रतिनिधि र पत्रकारबिच समेत फुटबल खेल हुने संयोजक लिम्बूले जानकारी दिए ।
साथै महोत्सव अन्तर्गत पहिलो दिन कृषि तथा व्यापार प्रदर्शन, पिङ, स्वीङ झुल्लालगायत सुरु हुनेछ । महोत्सवमा फुटबल प्रतियोगितासँगै कृषिजन्य सामग्री प्रदर्शनी, व्यापारिक स्टल तथा सांगीतिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । चैत ३० गते कलाकार पदम राई र सम्झना योङहाङसहित अन्य स्थानीय कलाकारको साँगीतिक प्रस्तुती रहनेछ भने नयाँ वर्षको दिन वैशाख १ गते गायक प्रमोद एण्ड परम्परा ब्याण्ड र सिद्धान्त एण्ड लोटस ब्याण्डको साथमा अन्य स्थानीय कलाकारको प्रस्तुती रहनेछ ।
स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, पर्यटन सम्भावनाको प्रचारप्रसार, स्थानीय व्यापार व्यवसायको विकास तथा युवाहरूलाई खेलकुद र सांस्कृतिक गतिविधिमा संलग्न गराउने उद्देश्यले ‘चतुरे बजार कृषि तथा पर्यटन महोत्सव’ आयोजना गर्न गरिएको आयोजक समिति अध्यक्ष पूर्णबहादुर राई (रोशन) ले बताए ।
महोत्सवका लागि माङसेबुङ गाउँपालिकाले छ लाख रुपैयाँ सहयोग गरेको आयोजक समिति सचिव अनिस सुनुवारल् जानकारी दिए ।



















































