
इलाम : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाममा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । मतदान प्रक्रियालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन तालिमपछि निर्वाचन कर्मचारीहरूले आवश्यक सामग्री बुझेर तोकिएका मतदानस्थलतर्फ जान सुरू भएको छ ।
निर्वाचन आयोग नेपालको कार्यतालिका अनुसार जिल्लामा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सहयोगी कर्मचारीहरूले मतपत्र, मतपेटिका, मतदान गोप्य कक्ष, छाप, मतदाता नामावलीलगायतका अत्यावश्यक सामग्री बुझेर आ-आफ्ना केन्द्रतर्फ जान थालेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि इलाममा २ लाख ३१ हजार ८ सय ९ जना मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय इलामको तथ्याङ्क अनुसार इलाममा १ लाख १९ हजार ६ सय ४८ पुरुष, १ लाख १२ हजार १ सय ५८ महिला र ३ जना तेस्रो लिङ्गी मतदाता रहेका हुन् । १० वटा पालिका रहेको इलाममा प्रतिनिधिसभा निर्वाचनका लागि दुईवटा निर्वाचन क्षेत्र छन् ।
निर्वाचनका लागि इलाममा एक सय ५० मतदान स्थालमा २ सय ९० मतदान केन्द्र रहेका छन् । दुर्गम भूगोल र विकट बस्तीका आधारमा निर्वाचन सामग्री वितरण गर्न थालिएको जिल्ला निवार्चन कार्यालयका निर्वाचन अधिकारी देबी चरण फुएलले बताए । सुरक्षा व्यवस्थासहित कर्मचारीहरू चरणबद्ध रूपमा केन्द्रमा परिचालन गरिएको निवार्चन अधिकारी फुएलको भनाई छ ।
मतदातालाई तोकिएको समयमै मतदान केन्द्रमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिएको छ । जिल्ला प्रशासन र निर्वाचन कार्यालयले शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन सबै पक्षसँग सहयोगको अपेक्षा गरेका छन् ।


















































