पहिलो सुझाव नेपाली कांग्रेसलाई
नेपाली कांग्रेस सम्बद्ध नेतृत्वप्रति म केही विचार राख्न चाहन्छु—यो आन्दोलनको सन्दर्भमा।
हरेक आन्दोलन वा बिद्रोहले समाजमा केही न केही दबाब सिर्जना गर्छ। यसपल्ट पनि निशाना कांग्रेस बन्यो। यस्ता संकट हामीले पहिले पनि भोग्यौं, सम्हाल्यौं। गाउँघरमा उठिबास भइयो, घर लुटियो, पितापुर्खा जेल परे, सम्पत्ति जफत भयो। कांग्रेस भएका कारण, मानव अधिकार र स्वतन्त्रताको पक्षमा उभिएका कारण, यस्तो दुख पाइयो—अहिलेसम्म पनि त्यही अवस्था छ। आज पनि हामीले समाजवादी सिद्धान्तमा काम गर्दै, आफ्नो स्पेसभित्र राष्ट्र निर्माणको अभियान चलाउनु परेको छ। यही सुरक्षित दायरा हो।
काठमाण्डौं उपत्यकामा घर जल्नेहरूलाई म सहानुभूति दिन्छु, तर अनुरोध गर्छु—अब सोही ठाउँमा हाइफाई जीवनशैली प्रदर्शन नगर्नुहोस्। सामान्य जीवन बिताउनुहोस्। सरल जीवन, सरल विचारको बाटो अपनाउनुहोस्। आफ्ना सन्तानलाई पनि यही शिक्षा दिनुहोस्। समाजवादी जीवनपद्धति र त्यागी राजनीति कांग्रेसको पहिचान हो। यसलाई जीवनमा लागू गर्नुहोस्। राजनीतिमा लागेपछि जनतासँग जोडिनु, उनीहरूको प्रश्नको जवाफ दिनु, कठोरता र त्यागका साथ अगाडि बढ्नु कांग्रेसको धर्म हो।
यदि तपाईँहरू फेरि गगनचुम्बी महल निर्माण र विलासी जीवनशैलीतिर लाग्नुहुन्छ भने, त्यो कांग्रेस र लोकतन्त्रका लागि अभिशाप हुनेछ। जनताले तपाईँहरूलाई नियालेर हेरिरहेका छन्। नेपोटिज्म, सन्तानप्रेम र भोगवादी जीवनशैली आजका युवा पुस्ताका असन्तोषका कारण हुन्। यसले विस्फोट गराएको छ। त्यसको जवाफ कांग्रेसले दिनै पर्छ।
हामी लोकतान्त्रिक विचारधारामा सफल भयौं। तर व्यवहारमा, जीवनशैलीमा, सिद्धान्तमा असफल भयौं। त्याग, निष्ठा, आदर्श हराइसकेको छ। बीपी कोइरालाका वाणीहरू हामीलाई अब अर्थहीन लाग्न थालेका छन्। अब विचार र आचरण दुवै शुद्ध पार्न जरुरी छ। यसैबाट पार्टी पुनर्गठन र राष्ट्र निर्माण सम्भव हुन्छ।
दोस्रो सुझाव जेनजी पुस्तालाई
सर्वप्रथम, सहिदप्रति श्रद्धाञ्जली, घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
तपाईँहरू आन्दोलनमा उत्रिनुभयो—नेपालको भविष्यको खोजीमा। १३-२८ वर्षका युवाहरूले देश बनाउन थाले, यो प्रशंसनीय छ। तर, सिंहदरबार, सर्वोच्च अदालत, निजी सम्पत्ति र व्यापारिक घरानामा गरिएको तोडफोडले आन्दोलनको गरिमा घटायो। यसले मुलुकलाई मात्र होइन, समग्र प्रणालीलाई गम्भीर चोट पुर्यायो। उद्योगपति, लगानीकर्ता डराएका छन्। त्यसको असर पूँजी पलायन, बेरोजगारी, लगानीको कमी, र अन्ततः देशको अस्थिरतामा पर्न सक्छ। तपाईँहरूको आन्दोलन भ्रष्टाचार, निष्पक्षता, समानताका पक्षमा थियो—सही उद्देश्यमा आधारित। तर अनुशासनको कमीले यसलाई क्षति पुर्यायो। अब यही पुस्ताले जिम्मेवारी लिनुपर्छ—राष्ट्र पुनर्निर्माणको। संविधान संशोधनको बहस चलिरहेको छ। यसमा समावेशिता, स्वतन्त्रता, समानता, समाजवादजस्ता मूल्यहरू जोगाउनु तपाईँहरूको दायित्व हो।
“हरियो समाजवाद” का आठ महल—गाउँ, गरिब, किसान-मजदुर, सुकुम्बासी, अल्पसंख्यक/असक्तता, सिमान्तकृत, दलित, महिला—यिनीहरूलाई सशक्त बनाउनु पर्छ। राजनीतिमा सहभागी बनाउनु पर्छ। “उद्यमीहरूको साथी, आठ महलको सहयोगी सरकार” को अवधारणामा अगाडि बढ्नुपर्छ। यो वाई-फोकल चश्माजस्तै हो—एक आँखाले आठ महल हेर्न सक्ने, अर्काले उद्यमीहरूको सुरक्षामा ध्यान दिन सक्ने।
युवा पुस्ताले अब सशक्त, परिश्रमी, आत्मनिर्भर राष्ट्र बनाउने अभियानमा नेतृत्व लिनुपर्छ। यदि आर्थिक दृष्टिकोण स्पष्ट छैन भने, आन्दोलन निष्प्रभावी हुन्छ। विचार, बहस, वैचारिक दृष्टिकोण र जिम्मेवारीसाथ अघि बढ्नुहोस्। अनि मात्रै “फुस्स” हुने डर हट्छ।
हामीले अब विचारकाे स्पष्टता, व्यवहारमा सरलता र जीवनमा निष्ठा अपनाउनैपर्छ। कांग्रेसले आत्मपरीक्षण गर्नैपर्छ। त्याग, शालीनता, विवेक र निष्ठाले मात्रै देश उठ्छ, कांग्रेस फर्कन्छ, लोकतन्त्र बलियो बन्छ। जेनजी पुस्ताले आन्दोलनभन्दा अघि “निर्माण” र “संवाद” रोज्नैपर्छ।
लेखक परिचय
धर्मेन्द्र नेम्बाङ
लेखक, विश्लेषक र समाजवादी विचारक
(“बिपी विचारधारा र हरियो समाजवाद”, “रातो बाघ”, “नेपाली कांग्रेसको रुपान्तरण” आदि पुस्तकका लेखक)
नेम्बाङ समकालीन नेपाली राजनीतिक, सामाजिक र साहित्यिक लेखनमा सक्रिय नाम हुन्। उनका प्रकाशित कृतिहरूमा नेम्बाङका भीरैभीरको रंग (२०६०, २०६५), सामान्य बहुलरंगवाद, एउटा ट्राभलिङ फिलसफीको परिकल्पना (२०६७), रातो बाघ (२०६९, २०८२), युवा विचार, युवा नेपाल, आमूल परिवर्तनको पक्षमा एक अवधारणा (२०७२), मैले बोल्दा देशको नक्सा हल्लिन्छ (२०७५), बीपी विचारधारा र हरियो समाजवाद (२०८०), कांग्रेस पार्टीको रूपान्तरण र देश बनाउने विधि (२०८१), पितापुर्खाको कथा (२०८२) र कृष्णविक्रम नेम्बाङले हिँडेको क्रान्तिको बाटो (२०८२, सम्पादन) उल्लेख्य छन्। नेम्बाङको लेखनमा राजनीति, समाजवाद, बहुलरंगवाद, युवा विचार र नेपालीपनको दर्शन मुख्य केन्द्रबिन्दु बनेका छन्। उनका कृतिहरूले विचार र साहित्यलाई एउटै धारा-“सामाजिक रुपान्तरण”–तर्फ अभिमुख गराएका छन्।

















































