
राम योङ्हाङ
इलाम : विभिन्न मुद्धामा कैद भुक्तान गरिहेका २५ जना कैदीबन्दी शनिबार इलाम कारागारबाट कैदमुक्त भएका छन् ।
गणतन्त्र दिवसको अवसरमा असल चालचलन भएका ४० प्रतिशत कैद भुक्तान भएका कैदीबन्दीको कैद मिनाहामा परेका २४ पुरुष र एक महिला कैदमुक्त भएका हुन् । कैदी महिलासहित रहेका निर्दोष दुइ बालबालिका समेत आमासँगै घर फर्केको कारागारका जेलर सिर्जना लुइटेलले जानकारी दिईन् ।
नेपाल सरकार मन्त्री परिषदको बैठकले देशैभरका कारागारबाट गणतन्त्र दिवसको अवसरमा बाँकी कैद भुक्तान गर्न बाँकी रहेका कैदीको माफी मिनाहा गर्ने निर्णय गरेको थियो ।
मन्त्री परिषदले विभिन्न कारागारमा थुनामा रहेका असल चालचलन भएका ४० प्रतिशत कैद भुक्तान भएका, ६५ वर्षपुरा भएकाको हकमा २५ प्रतिशत कैद भुक्तान भएका, अशक्तको हकमा बाँकी कैद मिनाहा गर्न कारागार नियमावली २०२० को नियम २९ बमोजिम तथा जेष्ठ नागरिक ऐन २०६३ बमोजिम बाँकी कैद छट्याई माफी मिनाहा गर्ने निर्णय गरेको थियो ।
इलाम कारागारबाट भने जेष्ठ नागरिक र अशक्त नभएकाले कैदमुक्त भएका सबै असल चालचलन भएका ४० प्रतिशत कैद भुक्तान भएका कैदीबन्दी रहेको कारागारले जनाएको छ ।
इलाम कारागारमा यसअघि दुर्इ सय ७६ पुरुष, ३० महिला र ६ जना बालबालिकाले कैद भुक्तान गरिरहेका थिए । बालकालिका भने सबै निर्दोष हुन् । आमासँगै बस्ने भएकाले मात्र बालबालिका पनि कैदीको तथ्याङ्कमा देखिएको कारागारले जनाएको छ ।



















































