
इलाम : इलामको ‘तेह्रकुनेपोखरी’ पछिल्लो समय पर्यटकको रोजाई बन्दै गएको छ । दक्षिणी इलामको माई नगरपालिका-१ र ९ को संगमस्थलमा पर्ने तेह्रकुनेपोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको भिड लाग्ने गरेको छ ।
स्थानीयबासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै ढुङ्गा समेत सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढेको हो । जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौगोलिका सहजताले पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको स्थानीय सुवर्ण राईले बताए। ‘शनिबार र सार्वजनिक विदाको दिन पोखरी घुम्न आउने पर्यटकको भिडभाड हुने गर्दछ,’ उहनले भने, ‘पोखरी घुम्न आउने पर्यटकले यस क्षेत्रको चहलपहल समेत बढेको छ ।’
तेह्रकुनेपोखरी आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माई नगरपालिकामा आजदेखि तेह्रकुने पोखरी पर्यटन महोत्सव आयोजना हुँदैछ । स्थानीय वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता संस्थाको आयोजनामा माई नगरपालिका-१ र ९ को संगमस्थलमा महोत्सव सञ्चालन हुन लागेको हो ।
यही फागुन ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय मौलिका संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनको प्रयास गरिने आयोजक समितिका अध्यक्ष पदम राईले बताए । महोत्सवमा आदिवासी लिम्बू, राई, मगर, तामाङलगायत विभिन्न जातजातिका साँस्कृतिक झाँकी र भेषभूषा प्रदर्शनीमा राखिने उनले जानकारी दिए ।
किरातीहरुको प्रथम राजा ‘यलम्बर’को मुर्ति स्थापना सहयोगार्थ प्रत्येक दिन साँझमा ‘यलम्बर साँझ’ साँगीतिक कार्यक्रम तय गरिएको छ । कार्यक्रममा पहिलो दिन गायक तथा संगीतकार कृष्णभक्त राई, दोस्रो दिन हाँस्यकलाकार पदम राई र तेस्रो दिन हाँस्यकलाकार ह्विलसनविक्रम (तोक्मे बुढा) को प्रस्तुति रहनेछ ।
पर्यटकहरुलाई तेह्रकुनेपोखरीसम्म पुग्न सहजताका लागि सडक विस्तारसँगै नाली निर्माण, विद्युत विस्तारलगायत पूर्वाधार विकासको काम भइरहेको छ । इलाम सदरमुकामबाट ३४ किलोमिटर दक्षिणमा पर्ने यो पोखरी स्थानीयको पर्यटन विकासप्रतिको मोह र सक्रियाताका कारण आकर्षक गन्तव्यका रुपमा विकास भएको हो । चुरे क्षेत्रमा संरक्षण गरिएको जैविक र पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न २०७८ दर्खि बर्सेनि महोत्सव समेत आयोजना गरिँदै आएको छ ।














































