शिक्षा क्षेत्रको विकासमा भरथेग गर्दै कोशी प्रदेश सरकार

  युुवराज भट्टराई (विप्लव)
84 Shares

इलाम : इलाम नगरपालिका-५ बिब्ल्याँटेकी चेसुुङ जवेगु सदरमुकामका नाम चलेका बोर्डिङ स्कुल छाडेर गाउँकै सरकारी स्कुलमा जान थालिन् । कक्षा ७ सम्म बिब्ल्याँटेको माउन्टमेरी स्कुलमा अध्ययन गरेकी जवेगुुलाई थप अध्ययनका लाागि थुुप्रै विद्यालयहरु विकल्पमा थिए । अहिले कक्षा ९ मा अध्ययनरत उनी गाउँको अमर कल्याण मावि रोज्नुको मुख्य कारण मान्छिन्, त्यहाँको प्रविधिमैत्री अध्ययन अध्यापन गर्ने शैली ।

कम्युुटर इन्जिनियरिङकी विद्यार्थी जवेगुु आफूूले चाहेको विषयको प्रयोगात्मक सिकार्ई अनि सबै कक्षा प्रविधियुक्त भएपछि मन तानिएको बताउँछिन् । उनका साथीहरु स्वस्तिका दुलाल र आइशा घिमिरेको पनि सरकारी विद्यालयप्रतिको आकर्षण बढ्नुका कारण उस्तै छन् । अंग्रेजी विषयको पढाई गर्ने आइशाको बुुझाईमा विषय सम्बन्धित प्रविधिमैत्री कक्षा हुने भएकाले सिकाई प्रकृयामा सहज छ । तीन जनाले बोर्र्डिङको विकल्पमा आफ्नै गाउँको सरकारी विद्यालय रोजेका हुन् ।

उनीहरु जस्तै यो विद्यालयमा अध्ययन गर्ने धेरै विद्यार्थीको आर्कषणको केन्द्र वनेको विद्यालयको विषेशता नै प्रविधिमैत्री सिकाई प्रकृया हो । कक्षा नर्सरीदेखि १२ सम्मको पढाई हुने यस विद्यालयमा ९ सय विद्यार्थी छन् । सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण कम भएको अवस्थामा पनि यो विद्यालयमा क्षमताभन्दा धेरै विद्यार्थी आउने गरेका छन् ।

त्यसै पनि पहाडी जिल्लाका हरेक विद्यालयमा विद्यार्थीको संख्या पातलिँदै गएको छ । त्यसमा पनि बोर्डिङ स्कुलसँगको प्रतिस्पर्धाले सरकारी विद्यालयको अवस्था कमजोर बन्दा यो विद्यालय उदाहरणका रुपमा स्थापित हुँदै जानु यस क्षेत्रका हरेक अभिभावकका लागि खुशीको विषय बनेको छ ।

विद्यालयको उक्सँदो साखमा सघाएको हो प्रदेश सरकारमार्फत् विद्यालयलाई प्रविधिमैत्री बनाउँदै लैजाने रणनीतिले । ‘हरेक कक्षामा विषयवस्तु अनुसार कम्युुटरदेखि डिजिटल डिस्प्ले र विज्ञान प्रयोगशालाको भरपूर प्रयोग गरिएको छ,’ प्रधानाध्यापक सोमनाथ निरौलाले भने, ‘कतिपय विद्यालयमा जडान भएका यस्ता सामग्रीले काम गर्न छाडेको गुुनासो आएपनि हाम्रो विद्यालयमा अपटुडेट राखेका छौं ।’

यो विद्यालयलाई आर्थिक वर्ष २०७७/०७८ मा कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मार्फत् १० लाख रुपैयाँको सहयोग प्राप्त भएको थियो । त्यही रकमबाट विज्ञान प्रयोगशालासहित आवश्यक आइसिटीको प्रवन्ध गरियो । विद्यालयमा स्थापित कम्युुटर ल्याबमा ४६ वटा कम्युुटर दुुरुस्त अवस्थामा राखिएका छन् ।

‘विषय अनुुसार हरेक विद्यार्थीले ल्याबको प्रयोगमा अवसर पाउँछन्,’ कम्प्यूूटर शिक्षक नवीन खतिवडाले भने । विद्यालयमा इ-एजुुकेशनमार्फत स्मार्टबोर्डको व्यवस्था गरिएको छ । यस विद्यालयमा अध्यापन गराउने सबै ५३ जना शिक्षक कम्युुटरमा दक्ष छन् । जसका कारण अध्यापन गराउन थप सहज भएको प्रधानाध्यापक निरौलाको भनाई छ ।

यसैगरी वौद्धिक अपाङ्गता भएका विद्यार्थीको पनि आवासीय कक्षाको व्यवस्था यहाँ गरिएको छ । प्रदेश सरकारको सहयोगमा भवन मर्मतदेखि उनीहरुका लागि लत्ताकपडा, फर्निचर, शौचालयको व्यवस्था र खेलकुदका लागि आवश्यक प्रवन्ध मिलाइएको विद्यालयले जनाएको छ ।

‘अझै पनि वौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुका लागि व्यवस्थित भवनको अभाव छ,’ निरौलाले भने, ‘फरक क्षमताका विद्यार्थी भएकाले उनीहरुका गतिविधि पनि भिन्न हुुँदा व्यवस्थित र खुल्ला क्षेत्र र भवनको आवश्यकता छ ।’ पहिलेजस्तै यसका लागि पनि प्रदेश सरकारले आगामी दिनमा सहयोग गर्ने विश्वास उनले व्यक्त गरे ।

विद्यालयले यसका लागि पनि प्रदेश सरकारसँग पहल गर्ने समेत जनाएको छ । यो कक्षामा साबिक मेची अञ्चल इलाम, झापा, पाँचथर र ताप्लेजङका २५ जना विद्यार्थी अध्ययनरत छन् । सदरमुकामदेखि ६ किलोमिटर उत्तरमा रहेको यो विद्यालयमा मुख्यगरी ग्रामीण क्षेत्रका विद्यार्थीहरुको आर्कषण धेरै छ ।

यसअघि सदरमुकामका नाम चलेका विद्यालयमा विद्यार्थी लाने प्रकृया टुुट्दै गएको छ । उत्तरी सन्दकपुर गाउँपालिका, इलाम नगरपालिकाका केही वडा तथा अन्य क्षेत्रवाट आसपासमा डेरा लिएरै विद्यार्थी पढाउने अभिभावक टन्नै भेटिन्छन् । ‘नानीहरु पढाउनकै लागि डेरा लिएरै बसेको छुु,’ सन्दकपुर-५ जमुनाकी अभिभावक रितु गुुरुङले भनिन् ।

विद्यालयमा ९ देखि १२ कक्षासम्म मात्र ५ सय विद्यार्थी अध्ययनरत छन् । ११ र १२ मा २ सय विद्यार्थी छन् । नियमित अतिरिक्त कृयाकलापले प्रविधिमैत्री सिकाईमा व्यस्त विद्यार्थीलाई थप सहज भएको छ । चालुु आर्थिक वर्षमा पनि प्रदेश सरकारले विद्यालयलाई २ लाख रुपैयाँ सहयोग गरेको छ ।

मुलुक नयाँ संरचनामा गएपछि विद्यालयहरु सम्बन्धित पालिका अन्तर्गत रहे । पालिकामा हरेक क्षेत्रबाट थेग्नै नसक्ने गरी योजना र रकम माग हुने गरेकाले शिक्षा क्षेत्रका न्यूनतम आवश्यकता पूरा गर्न पनि कठिन थियो । तर यही बीचमा कोशी प्रदेश सरकारले विद्यालयको भौतिक पूर्वाधार निर्माणदेखि आइसिटी, नमूना विद्यालय, बालमैत्री वातावरण निर्माण, पिउने पानीको व्यवस्था लगायतमा सहयोग पुर्यायो । जसका कारण विद्यालयको पूर्वाधार विकाससँगै गुणस्तरीय शिक्षा प्रदान गर्न पनि सहयोग मिलेको अनुुभूति मिलेको छ ।

दक्षिणी इलामको माङ्सेवुुङ गाउँपालिका-५ मा रहेको सरस्वती माध्यमिक विद्यालय जिल्लाकै विकट क्षेत्रमा रहेको शैक्षिक केन्द्र हो । किराँत धार्मिक स्थल लारुम्वामा रहेको यो विद्यालय त्यस क्षेत्रको एक मात्र विकल्प हो । यो विद्यालयको विकल्पमा विद्यार्थीले अध्ययनका लागि झापाको दमक पुुग्नु पर्छ या उत्तिकै दूरीमा रहेको पाँचथर सीमावर्ती पञ्चमी वजार ।

त्यहाँका बासिन्दाको मूूख्य शैक्षिक केन्द्रको रुपमा रहेकाले यसको भौतिकदेखि शैक्षिक गुणस्तर विकास गर्नु बाहेक अरु विकल्प थिएन । यही अवस्थामा गएको आर्थिक वर्षमा कोशी प्रदेश सरकारले प्रदेश नमूना विद्यालय विकास कार्यक्रम प्रदान गर्यो । त्यसयता विद्यालयले काँचुुली फेर्ने क्रम सुुरु भएको छ ।

आर्थिक वर्ष ०७९/८० मा कार्यक्रम अन्तर्गत विद्यालयमा ४२ लाख ५० हजार प्राप्त भयो । सो रकमबाट ४ कोठे भवन, ३ थान प्रोजेक्टर, ३ थान स्मार्टबोर्ड, २६ थान सिसी क्यामेरा सेट, २५ सेट डेस्क बेन्च, खानीपानीको फिल्टर जडान, स्काउट ड्रेस र भवनमा अत्यावश्यक मर्मत गर्ने काम समेत सम्पन्न भयो ।

‘पूर्वाधार विकाससँगै आवश्यक शैक्षिक सामग्रीको अभावमा निर्वाहमुखी पठनपाठन भइरहेको अवस्थामा कोशी प्रदेश सरकारको यो सहयोग हाम्रा लागि अत्यन्तै महत्वपूणर् रहयो,’ सरस्वती माविका प्रधानाध्यापक हरिप्रसाद आङदेम्वेले भने, ‘अहिले विद्यार्थीलाई गुुणस्तरीय शिक्षा दिन पनि सहज भएको छ ।’

आधुनिकता ढल्कदै गएको समाजमा सोही बमोजिमको शिक्षा दिन अझै पनि थुुप्रै अभाव भए पनि तत्काललाई शैक्षिक गुणस्तरमा प्रभाव परेको अनुुभूूति गरिएको छ । चालु आर्थिक वर्षमा पनि सोही कार्यक्रमले निरन्तरता पाएको छ । यो पटक विद्यालयले ३५ लाख रुपैयाँको कार्यक्रम प्राप्त गरेको हो । जसबाट अघिल्लो वर्ष बनेको भवनमा तला थपिँदैछ ।

त्यस्तै, २ थान स्मार्टबोर्ड, २ थान प्रोजेक्टर, छ थान सिसी क्यामेरा जडान, ३३ सेट डेस्क बेन्चकोे व्यवस्था गरिएको छ । विद्यालयमा नर्सरीदेखि १० सम्म ४ सय ५७ जना, ११ मा ४८ र कक्षा १२ मा ४९ जना अध्ययनरत् छन् ।

लारुम्वा क्षेत्रमा बाक्लो बस्ती रहेको र आसपास अन्य विद्यालय नभएकाले विद्यार्थीको चाप धेरै हुने यो विद्यालयलाई अझै पनि भौतिक पूर्वाधारको अभाव छ । पुराना भवन जीणर् बन्दै गएकाले नयाँ भवन बनाउनु पर्ने, हरेक कक्षामा कम्युुटर कक्षाको व्यवस्था गर्नु तत्काल आवश्यक देखिएको छ । विद्यालयमा घेरावारासमेत नभएकाले त्यसको समेत व्यवस्थाका लागि प्रदेश सरकारसँग अपेक्षा गरिएको प्रधानाध्यापक आङदेम्वे बताउँछन् ।

यो विद्यालयमा ९ देखि १२ कक्षासम्म बाली विज्ञान पढाई हुन्छ । यसका लागि केन्द्र सरकारले सहयोग गरेको भए पनि प्रयोगशाला लगायत अत्यावश्यक शैक्षिक व्यवस्थापनका लागि थप सहयोगको अपेक्षा विद्यालयको छ । विद्यालयमा २ निजी सहित ३१ जना शिक्षक र कर्मचारी छन् ।

प्रदेशको उत्कृष्ट विद्यालय घोषित भएवापत देउमाई नगरपालिकाको भानुुभक्त माध्यमिक विद्यालयमा गत आर्थिक वर्ष प्रदेश सरकारको १४ लाख ५० हजार रुपैयाँ वरावरको रकम पर्यो । यो कार्यक्रमबाट विद्यार्थीका लागि फिल्टर सहितको खानेपानीको व्यवस्थापन, घेराबारा, बाल कक्षाकालागि खेल सामग्री लगायतको व्यवस्था गरिएको थियो ।

०७७/७८ मा प्रदेश सरकारले सूूचना प्रविधि र विज्ञान प्रयोगशाला व्यवस्थापनका लागि १६ लाख ५० हजार रुपैयाँ प्रदान गरेको थियो । जसबाट व्यवस्थित साइन्स ल्याबसँगै कम्युटर कक्षा तथा स्मार्टबोर्डको व्यवस्था गरिएको विद्यालयका लेखापाल दिपक दाहालले बताए ।

देउमाई नगरपालिकाको केन्द्रमा रहेको यो विद्यालयमा विद्यार्थीको आकर्षणसमेत थपिँदै गएको छ । गुुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानमा जुुटेको यो विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म ९ सय १ जना विद्यार्थी रहेका छन् । यसैगरी, शिक्षक र कर्मचारी गरी ५१ जना छन् ।

जिल्लाका ग्रामीण र सहरी क्षेत्रका धेरै विद्यालयहरुले विभिन्न शीर्षकमा प्रदेशबाट सहयोग पाएका छन् । तर कतिपय विद्यालयमा त्यसको निरन्तरमा भने कठिनाई देखिएको छ । शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाउने क्रममा चुुनौती र समस्या देखिएका हुन् ।

विद्यालय विदा भएको समयमा कम्युुटर लगायत विद्युतीय सामग्री प्रयोग नगर्दा समस्या आउने गरेको छ भने दक्ष जनशक्तिको अभाव, मर्मत सम्भारमा रकम नहुुनुु, कम गुणस्तरीय सामग्री जडान हुनु जस्ता कारण पनि कतिपय विद्यालयमा समस्या देखिएको छ ।

बन्द कोठामा बिहानदेखि बेलुुकासम्म स्मार्टबोर्ड मार्फत पढाउँदा पनि विद्यार्थी र शिक्षक दुुवैलाई समस्या हुने गरेको अनुुभव पनि कतिपयको छ । ‘विषयवस्तुु अनुसार आवश्यक पर्दा मात्र स्मार्टबोर्डको प्रयोग गर्नु पर्ने देखियो,’ फाकफोकथुुमका एक शिक्षकले भने, ‘सवै विषयको पढाईलाई बिहानदेखि बेलुकासम्म नै स्मार्टबोर्डको प्रयोग गर्दा विद्यार्थीमा नकारात्मक प्रभाव समेत पर्ने देखिएको छ ।’

धेरै हुुस्सुु लाग्ने उच्च पहाडी क्षेत्रका कतिपय विद्यालयमा राखिएका स्मार्टबोर्डमा पनि समस्या देखिने गरेको छ । सम्बन्धित निकायबाट निरन्तर अनुुगमन नहुुँदा पनि कतिपय स्थानमा प्रदेश सरकारबाट प्राप्त सहयोगको राम्रो प्रयोग नभएको देखिएको छ ।

‘विद्यालयको आवश्यकता अनुसार प्रदेश सरकारले शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ,’ पूूर्व आन्तरिक मामिला तथा कानुुनमन्त्री शम्सेर राईले भने,’ ‘सरकारी विद्यालयको स्तर उकास्न प्रदेश सरकारले गरेको सहयोग धेरै स्थानमा प्रभावकारी देखिएको भए पनि यसलाई निरन्तर अनुुगमन र थप सहयोग प्रदान गरेर प्रदेश सरकारको भूूमिका बृद्धि हुने गरी लाग्नु पर्छ ।’

इलाम क्षेत्र नम्बर १ (ख) का प्रदेश सांसद राईले शैक्षिक स्तर उकास्न गरिने सबै गतिविधिमा तीन तहकै सरकारबीच सहकार्यको आवश्यकता रहेकाले त्यसका लागि गम्भीर बन्न पनि आग्रह गरे । मुलुक संघीय संरचनामा गइसकेपछि प्रदेश सरकार आएको र आफ्नो क्षेत्रका शिक्षालगायत क्षेत्रको विकासमा नजिकबाट ध्यान पुग्न थालेको उनको भनाइ छ । यसैगरी, स्थानीय सरकारहरुले पनि शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै आएकाले अझ प्रभावकारी हुने राईले बताए ।

जन्मदर कम हुनुु र बसाई सराईका कारण पहाडी क्षेत्रका विद्यालयहरुमा विद्यार्थीको संख्या घट्दो छ । त्यसमा पनि सुविधा सम्पन्न स्थानमा लगेर बालबच्चालाई वोर्डिङ स्कुल पढाउने पुुरानो चलन छँदैछ । यो अवस्थामा सरकारी ठूलो लगानी रहेका सरकारी विद्यालयलाई नै हरेक तवरले मजबुुत बनाउनुको विकल्प छैन ।

पछिल्लो समय प्रदेश सरकारले विद्यालयहरुका समस्या पहिल्याउँदै सहयोग गरेकाले पूर्वाधार विकास र गुुणस्तर सुुधारमा सकारात्मक प्रभाव देखिएको छ । यो कार्यलाई निरन्तरता दिँदै देखिएका समस्या र चुनौती हल गर्नु पर्ने दायित्व विद्यालय परिवारसँगै सबै सरकारहरुको भूमिका जिम्मेवार बन्नु पर्ने आवश्यकता छ ।

विद्यालयलाई राजनीति भन्दा टाढै राखेर नितान्त पठनपाठनलाई उपलब्धिमूलक बनाउने ध्येयका साथ लाग्नुको विकल्प नरहेको सरोकारवालाहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार