
माङसेबुङ : पहिरोका कारण इलामको माङसेबुङ गाउँपालिकाका २ घरपरिवार विस्थापित भएका छन् ।
३ दिनदेखि परेको लगातारको वर्षाका कारण पहिरोले घर जोखिममा परेपछि माङसेबुङ गाउँपालिका १ सिम्लेटारका जगत नेपालको परिवार विस्थापित भएको हो । घरमुनि पहिरो जान थालेपछि उनको घर जोखिममा परेको हो ।
घर जोखिममा परेपछि नेपालको ३ जनाको परिवार अहिले छिमेकीको घरमा शरण लिएर बसेका छन् । बुधबार दिउँसो करिब १ बजेबाट सुरु भएको पहिलोरले नेपालको घरको खम्बा र वालमा क्षति पुर्याएको छ ।
त्यस्तै सोही वडाका साङ्रेम टोलका जयकमार राईको परिवार पनि विस्थापित भएको छ । माथिबाट खसेको पहिरोले राईको घर पुरेको छ । ५ जनाको परिवार लिएर राई पनि छिमेकमा शरण लिन पुगेको स्थानीय मणीकुमार लिम्बूले जानकारी दिए ।
वडाअध्यक्ष भक्तराज लिम्बूले भोलि नै आवश्यक सर्जिमन मुचुल्का गरि गाउँपालिकाबाट राहतको लागित पहल प्रतिवद्धता जनाए ।
















































