इलाम : इलाम नगरपालिका सिङ्फ्रिङका मिलन भण्डारीले ५२ रोपनी ७ आना जग्गाको एकीकृत सम्पत्ति कर आर्थिक वर्ष ०७४/७५ मा ५ सय ५० रुपैयाँ तिरेका थिए । आर्थिक वर्ष ०७६/७७ मा उनले यही जग्गाको ४ हजार २३६ रुपैयाँ कर तिरे । नगरपालिका भए पनि ग्रामीण क्षेत्रमा उनको घरजग्गा छ ।
घरसम्म पुग्ने सडक कालोपत्रे भए यही जमिनको कर प्रतिआना ५० रुपैयाँका दरले ४१ हजार ९५० तिर्नुपर्ने नगरकै कर्मचारीबाट जानकारी पाएपछि उनी झनै डराएका छन् । उनको केही जमिनमा खेतीपाती छ भने केही पाखोबारी छ । ‘कालोपत्रे सडक त चाहिएको छ तर करको कुरा सुनेपछि मनै भरंग भएको छ,’ उनले भने । यसअघि इलाम नगरपालिकाले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५० पैसाका दरले कर लगाएको थियो तर नगरवासीको तीव्र विवादका कारण त्यसलाई हटाएको छ । यसअघि लिँदै आएको दमकलको २० प्रतिशत कर खारेज गरेको छ । सडकबत्तीको २० प्रतिशत कर पनि हटाएको छ तर व्यवसाय करमा भने १० प्रतिशत वृद्धि गरेको छ ।