अन्तर विद्यालय फुटसल लिग : सोमबार ३ खेल सम्पन्‍न

  राम योङहाङ
0 Shares

इलाम : इलाममा जारी अन्तरविद्यालय स्तरीय फूटसल लिग प्रतियोगिता सोमबार ३ खेल सम्पन्न भएका छन् ।

समूह ‘ए’ अन्तरगत माउण्टमेची अंग्रेजी बोर्डिङ स्कूल र ग्रीनभ्याली एकाडेमीबीच भएको पहिलो खेलमा १२-५ गोल अन्तरले माउण्टमेची बिजेता बन्यो । जितसँगै माउटमेचीले ३ अंक बटुल्न सफल भएको छ ।

दोस्रो खेलमा समूह ‘बी’ अन्तरगतको ज्योति सदन अंग्रेजी बोर्डिङ स्कूल र मन्टेश्वरी अंग्रेजी बोर्डिङ स्कूलबीच भएको खेलमा ९-१ ले मन्टेश्वरी विजेता बन्यो । मन्टेश्वरीले पनि ३ अंक बटुल्न सफल बनेको छ ।

त्यस्तै अन्तिम खेलमा समूह ‘ए’ अन्तरगतको ज्योति विद्या मन्दिर र माउण्ट मेचीबीच भएको खेलमा १३-३ ले ज्योति विद्या विजेता बन्यो । ज्योति विद्याले पनि ३ अंक जोड्न सफल बनेको छ ।

समूह ‘ए’ मा ज्योति विद्या शीर्ष स्थानमा छ । दुई खेल खेलेको ज्योति विद्याले द्वैमा जित दर्ता गर्दै ६ अंकका साथ शीर्ष स्थान कायम गर्न सफल भएको छ । दुई खेल खेलेको माउण्ट मेचीले भने एकमा जित र एकमा हार व्यहोर्दै ३ अंकमा साथ दोस्रो स्थानमा छ । एक/एक खेलमात्र खेलेको समता शिक्षा निकेतन मावि र ग्रीन भ्याली एकाडेमीले भने हार व्यहोर्दै कुनै पनि अंक प्राप्त गर्न सकेको छैन ।

यस्तै समूह ‘बी’ मा जुबिलेन्ट इलाइट एकाडेमी ६ अंकका साथ शीर्थ स्थानमा छ । दुई खेल खेलेको जुबिलेन्टले दुवै खेलमा जित दर्ता गरेको थियो । एक खेलमात्र खेलेको मन्टेश्वरी ३ अंकका साथ दोस्रो स्थानमा छ । दुई खेल खेलेको ज्योति सदन भने दुवैमा हार व्यहोर्दै कुनैपनि अंक बटुल्न सकेको छैन भने एक खेलमात्र खेलेको इलाम विद्या मन्दिर पनि शुन्य अंकमा नै सीमित छ ।

प्रतियोगिता अन्तरगत तेस्रो दिन मंगलबार पनि ३ खेल संचालन हुनेछन् । मंगलबारको पहिलो खेलमा समूह ‘बी’ अन्तरगतको इलाम विद्या मन्दिर र मन्टेश्वरी, दोस्रो खेलमा समूह ‘ए’ अन्तरगतको समता शिक्षा निकेतन र माउण्ट मेची तथा अन्तिम खेलमा समूह ‘बी’ अन्तरगतको इलाम विद्या मन्दिर र ज्योति सदनबीच प्रतिष्पर्धा हुनेछ ।

इलाम स्पोर्ट सेन्टर इलामको आयोजनामा भएको प्रतियोगिताको फाइनल १२ पुसमा हुनेछ । प्रतियोगितामा सदरमुकामका ८ नीजि विद्यालयको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार