
इलाम : इलाम सदरमुकममा भोलि (शुक्रबार) ‘इलाम लगानी प्रवद्र्धन सम्मेलन-२०७५’ हुँदैछ । इलाम नगरपालिकाको आयोजनामा पहिलो पटक हुन लागेको सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नगरपालिकाले जनाएको छ ।
बाह्य लगानी भित्र्याउने र आन्तरिक स्रोतलाई परिचालन गर्ने उद्देश्यले आयोजना गरिने सम्मेलनको उद्घाटन प्रभानमन्त्री खड्गप्रसाद ओलीले उद्घाटन गर्नेछन् ।
सम्मेलनका लागि अतिथिहरुको स्वागत तथा मञ्च व्यवस्थापनको सबै तयारी पूरा भएको नगरपालिकाले जनाएको छ । सम्मेलनमा प्रधानमन्त्री तथा अन्य पाहुनाको स्वागतका लागि विभिन्न जातीय साँस्कृतिक झाँकीको समेत तयारी गरिएको छ ।
औद्योगिक पाटोमा जिल्लालाई अगाडि बढाउन सकिन्छ भन्ने सम्भावना देखेर दाताका बीच लगानी सम्मेलन आयोजना गर्न लागेको नगरप्रमुख महेश बस्नेतले बताए ।
नगरले पाँच वटा शीर्षकमा लगानी गर्न आह्वान गर्दै लगानी सम्मेलन गर्ने तयारी गरेको हो । जिल्लाका कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई लगानीका मुख्य क्षेत्रका रुपमा सम्मेलनमा लैजाने तयारी नगरपालिकाको छ । कृषितर्फ चिया, अदुवा, अलैंची, दूध, जडीबुटीलगायतका क्षेत्रमा दाताहरुलाई सम्भावना देखाउने छ । जिल्लामा उत्पादन हुने कृषि उपजलाई प्रशोधन र बजारीकरणका लागि उद्योगधन्दा स्थापना गर्न लगानी कर्ताको ध्यानाकर्षण हुने नगरपालिकाको अपेक्षा छ ।
सम्मेलनमा बैंक, वित्तीय संस्था तथा बिमा कम्पनी, जलविद्युत लगानीकर्ता, निजी विद्यालय सञ्चालक, उद्योगी, व्यवसायीलगायत एक सय भन्दाबढी लगानीकर्ताको सहभागिता रहने छ ।
प्रधानमन्त्री ओलीलाई अभिनन्दन गरिने
लगानी सम्मेलनमा प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई अभिनन्द गरिने भएको छ । ओलीले राष्ट्र निर्माणमा पु¥याएको योगदानको कदर गर्दै इलाम नगरपालिकाले अभिनन्द गर्ने जनाएको छ ।
इलामको विकासमा समेत प्रधानमन्त्रीले उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै सम्मानस्वरुप अभिनन्दन गरिने जनाइएको छ । सो अवसरमा पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, इलामबाट प्रतिनिधित्व गरेका सांसद तथा उद्योगीको समेत उपस्थिति रहने जनाएका छन् ।



















































