पत्रकार आक्रमणमा संलग्‍न ३ पक्राउ, कडा कारवाही गर्न विभिन्‍न सञ्‍चारसम्बद्ध संस्थाको माग

नयाँ बुलन्द

इलाम : बुधबार राती इलामका दुई पत्रकारमाथि भएको आक्रमणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय चियाबारी एफएममा कार्यरत कृष्ण पाठक र प्रकाश न्यौपानेलाई कुटपीट गरी फरारमध्ये तीन जनालाई प्रहरीले बिहीबार दिउँसो पक्रेको हो ।

पक्राउ पर्नेमा इलाम नगरपालिका ९ का १९ वर्षीय रविन मगर, इलाम नगरपालिका ६ का २२ वर्षीय मनोज मगर र फाकफोकथुम गाउँपालिका एकतप्पाका १८ वर्षीय किशोर लिम्बू रहेका छन । उनीहरुलाई इलाम नगरपालिका ९ को जंगलमा भाग्दै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक रमेश बस्नेतले जानकारी दिए । घटनामा संलग्न परार एक जनाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

चियावारी एफएमका बजार व्यवस्थापक पाठक र प्राविधिक न्यौपानेलाई बुधबार राती ९ बजे रेडियाबाट डेरा फर्कने क्रममा गोलबस्तीको पोखरी स्कूल छेउमा एक समुहले कुटपीट गरी लुटपाट गरेको थियो ।

सो समूहले व्यवस्थापक पाठकको साथमा रहेको नगद ४५ हजार रुपैयाँ र एक थान मोवाइल तथा त्यस्तै प्रविधिक न्यौपानेको साथमा रहेको सुनको सिक्री लुटेको छ ।

आक्रमणका क्रममा न्यौपाने भाग्न सफल भए पनि भाग्न नपाएका पाठकलाई सो समूहले मरणासन्न हुने गरी कुटपीट गरेको थियो । कुटपीटबाट पाठकको दाहिने हात, टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । पाठकको झापाको विर्तामोडस्थित विर्तासीटी अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था गम्भीर रहेको छ ।

घटनापछि पाठकका बाबु नारदमणीले आक्रमणकारी रविन मगर सहितको समूहलाई पक्राउ गरी कारवाही गर्न, पीडिको उपचारलगायतका माग राखी जिल्ला प्रहरी कार्यालमा किटानी जाहेरी दिएका थिए ।

यसैबीच पत्रकार आक्रमणको घटनाको जिल्लास्थित विभिन्न सञ्चारसम्बद्ध संस्थाहरुले निन्दा र भ्रत्सर्ना गरेका छन् । विहीबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, नेपाल प्रेस युनियन र चियाबारी एफएमले छुट्टाछुट्टै विज्ञप्ती निकाल्दै दोषीलाई तत्काल पक्राउ गरी कारवाहि गर्न र पीडितलाई न्याय दिलाउन प्रहरी प्रशासन समक्ष माग गरेको छ ।

युनियनका सचिव गणेश घिमिरे, पत्रकार महासंघका अध्यक्ष राम योङहाङ र चियाबारी एफएमका रेडियोका स्टेशन म्यानेजर प्रेम अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा कुटपिट र लुटपाटको घटनाले आम सञ्चारकर्मीहरुले स्वतन्त्र रुपमा काम गर्न पाउने वातावरण समेत खलबलिएको जनाईएको छ । उनीहरुले पीडितलाई न्याय दिई दोषीलाई कडा कारवाही गर्न माग गर्दै सञ्चारकर्मीमाथि भएको आक्रमणको निन्दा र भर्सना गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार