राम योङहाङ
इलाम : पाँच महिनादेखि बन्द इलामको एक रेडियो पुनः प्रसारणमा आएको छ । जिल्लाको दुर्गम एकमात्र गाउँपालिका माङसेबुङबाट सञ्चालित रेडियो माङसेबुङ १०४ दशमलव ६ मेगाहर्ज ट्रान्समिटर मर्मतपछि प्रशारण आएको हो ।
गत २५ भदौमा हावाहुरी र वर्षासँगै परेको चट्याङले ट्रान्समिटरमा क्षति पुर्याएपछि सोही दिनदेखि रेडियो बन्द भएको थियो ।
ट्रान्समिटर मर्मतका लागि काठमाडौंसम्म लैजानुपरेको र प्राविधिक कठिनाईका कारण समयमै आइनपुग्दा रेडियो सञ्चालनमा ढिलाई भएको स्टेशन म्यानेजर सुमन लावतस्ले जानकारी दिए । ‘वर्षाद्का कारण बाटो हिलाम्य भएकाले समयमै पठाउन सकिएन’ लावतीले भने, ‘त्यसपछि पनि मर्मतमा समय लागेकाले केही ढिलाई भयो ।’
करिब सात लाख १५ हजार रुपैयाँको लागतमा ट्रान्समिटर मर्मत गरी रेडियो सञ्चालनमा ल्याईएको लावतीले बताए । यसअघि रेडियो बन्द रहँदा पश्चिमी क्षेत्रका बासिन्दा सूचनाको पहँचबाट टाढिएका थिए ।
मेवानाम्बिन संचार सहकारी संस्थाद्वारा सञ्चालित सो रेडियो जिल्लाको गाउँपालिकामा सञ्चालित एकमात्र रेडियो हो । विद्युत र यातायाताको समेत असुविधा रहेको ठाउँबाट सञ्चालित सो रेडियो विहान ५ देखि राति १० बजेसम्म नियमित प्रशारण हुँदै आएको छ । सो अवधिमा विविसी नेपाली सेवासहित ८ वटा समाचार बुलेटिन र विविन्न जनचेतना र मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्दै आएको छ ।
सो रेडियो पूर्वी नेपालका इलाम, झापा, पाँचथर, ताप्लेजुङ, मोरङ, धनकुटा र सुनसरीका विभिन्न क्षेत्रसम्म सुन्न सकिन्छ ।


















































