
काठमाडौँ : बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा देशभर चुनावी रुझान हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकछत्र लहर देखिएको छ । शुक्रबार दिउँसो तीन बजेसम्म रास्वपाले ८९ स्थानमा अग्रता लिएको छ । पुराना प्रमुख पार्टी नेपाली कम्युनिस्ट पार्टी ९, नेपाली कांग्रेस ७ र नेकपा एमाले ८ स्थानमा अग्रता लिएको छ ।
काठमाडौँ–१ बाट रास्वपाकी रञ्जु दर्शनाले खाता खोल्दा मुस्ताङ–१ बाट योगेश गौचन थकालीले खाता खोलेका छन् । अहिलेसम्म एमाले र नेकपाले एक स्थानमा पनि खाता खोल्न सकेको छैन । यो पटकको निर्वाचनमा कांग्रेस, एमाले र नेकपाका प्रभावशाली नेताहरू निकै पछाडि परेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो रहेको झापा–५ पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओली रास्वपाका वरिष्ठ नेता बालेन शाह भन्दा धेरै मतान्तरले पछाडि छन् । बालेन ५ हजार २५४ मतसहित अग्रता लिँदा ओली एक हजार २४८ मतले पछ्याइरहेका छन् ।
पूर्वप्रधानमन्त्री ओली फराकिलो मतान्तरले पछाडि हुँदा रुकुम पूर्वमा पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता कायमै राखेका छन् । प्रचण्ड पाँच हजार ३९ मतले अग्रता कायमै राख्दा एमालेका लीलामणि गौतम एक हजार ६२४ मतले पछ्याइरहेका छन् । हरेक वर्ष निर्वाचन क्षेत्र फेर्दै आएका उनी यसपटक माओवादी आधार क्षेत्र रुकुम पूर्व पुगेका हुन् ।
_fLqCQHfGXo.jpg)
काठमाडौँ–५ मा एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल एक हजार ९०८ मतसहित तेस्रो स्थानमा छन् । रास्वपाका सस्मित पोखरेल ११ हजार ४३३ मतले अग्रता लिइरहँदा कांग्रेसका महामन्त्री प्रदीप पौडेल तीन हजार ५५६ मतले पछ्याइरहेका छन् ।
दाङ–२ मा रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य दुई हजार ४२९ मतले अग्रता लिइरहँदा एमालेका महासचिव शंकर पोखरेल ५८३ मतले पछ्याइरहेका छन् । यता गुल्मी–१ मा पनि रास्वपाका उम्मेदवार सागर ढकाल ६२२ मतले अग्रता लिइरहेका छन् । दाङ–१ मा पनि रास्वपाका देवराज पाठक ७ हजार ३७० मतले अगाडि रहेका छन् । दुई हजार २२९ मतले कांग्रेसका योगेन्द्र चौधरीले पछ्याइरहँदा नेकपाका मेटमणि चौधरी ८४६ मत सहित तेस्रो स्थानमा छन् ।
गुल्मी–१ प्रारम्भिक नतिजा अनुसार रास्वपाका सागर ढकाल ६२२ मतले अग्रता लिएका छन् । एमालेका प्रदीप ज्ञवाली ४४९ मतले पछ्याइरहेका छन् । कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीले ३३६ मत प्राप्त गरेका छन् । गुल्मी–२ एमालेका उपाध्यक्ष गोकर्ण विष्ट रास्वपाका गोविन्द पन्थीभन्दा पछाडि छन् । पन्थीले ५०२ मत ल्याउँदा विष्टले २९९ मत प्राप्त गरेका छन् ।

रुपन्देही–२ मा पूर्वअर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल धेरै मतान्तरले पछाडि रहेका छन् । यहाँ रास्वपाका सुलभ खरेल १६ हजार ७८८ मतसहित अग्रता लिएका छन् । पौडेल तीन हजार ५१७ मत प्राप्त गरेका छन् । मोरङ–६ मा कांग्रेसका डा. शेखर कोइराला रास्वपाकी रुविना आचार्य भन्दा फराकिलो मतान्तरले पछाडि छन् । आचार्यले ६ हजार ६०१ मत ल्याउँदा कोइरालाले एक हजार ४२७ मत प्राप्त गरेका छन् ।
मोरङ–४ मा कांग्रेसका महामन्त्री गुरुराज घिमिरे पछाडि परेका छन् । यहाँ पनि रास्वपाका सन्तोष राजवंशी ११ हजार ५९७ मतले अगाडि छन् । घिमिरेले दुई हजार ६५२ मत प्राप्त गरेका छन् । महोत्तरी–१ मा नेकपाका गिरिराजमणि पोखरेल तीन हजार १८ मत सहित दोस्रो स्थानमा छन् । रास्वपाका प्रमोदकुमार महतो ७ हजार ३१५ मत सहित अग्रता लिइरहेका छन् ।
धादिङ–१ राजेन्द्र पाण्डे चौथो स्थानमा पुगेका छन् । यहाँ रास्वपाकी आशिका तामाङ ४ हजार ३७५ मतले अग्रता लिइरहँदा एमालेका भूमि त्रिपाठी दुई हजार ९४ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा कांग्रेसका कृष्ण रिजाल एक हजार १८६ मत प्राप्त गरेका छन् ।

चितवन–३ मा रास्वपाका सभापति रवि लामिछाने १० हजार ८२२ फराकिलो मतान्तरले अगाडि छन् । दोस्रोमा कांग्रेसकी मीनाकुमारी खरेलले तीन हजार ३१९ मत प्राप्त गरेकी छिन् । सुदूरपश्चिमको अछाम–१ मा डा. भीम रावल ३६४ मतले अग्रता लिइरहँदा एमालेका दीपकबहादुर साउदले २१४ मतले पछ्याइरहेका छन् ।
झापा–२ मा रास्वपाकी उम्मेदवार तथा पूर्वउपसभामुख इन्दिरा राना दुई हजार ९६० मतले अग्रता लिइरहँदा घिमिरेले जम्मा ५३१ मत प्राप्त गरेका छन् । भक्तपुर–२ मा एमालेका सचिव महेश बस्नेत फराकिलो मतान्तरले पछाडि छन् । यहाँ रास्वपाका राजीव खत्री चार हजार ८४ मतले अग्रता लिइरहँदा बस्नेतले जम्मा एक हजार ८१९ मत प्राप्त गरेका छन् । पूर्वसभामुख देवराज घिमिरे फराकिले मतान्तरले पछाडि परेका छन् ।



















































