
इलाम : स्थानीय तहको नेतृत्वमा रहँदा विकास र सुशासनका कार्यक्रममार्फत पहिचान बनाएका रणबहादुर राई अहिले प्रतिनिधिसभा सदस्य पदका लागि चुनावी मैदानमा छन् । उनी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नं. १ मा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट ‘तारा’ चिन्मा उम्मेदवार बनेका छन् ।
उनले आफूले नेतृत्व गरेको इलामको सूर्योदय नगरपालिकाको मुहार फेरेझैँ अब समग्र जिल्लाको मुहार फेर्न आफू संसदमा पुग्न आवश्यक रहेको दाबी गरेका छन् ।
राईले मेयरको रूपमा कार्यभार सम्हालेपछि पूर्वाधार विस्तार, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन र सामाजिक सेवामा उल्लेख्य काम भएको छ । विशेषगरी सडक सञ्जाल विस्तार, खानेपानी आयोजना, विद्यालय तथा स्वास्थ्य चौकी स्तरोन्नतिमा गरिएको लगानीले स्थानीयको दैनिकीमा प्रत्यक्ष प्रभाव पारेको उनको दाबी छ ।
राईले मेयर रहँदा बालबालिकाको आर्थिक सुरक्षाका लागि ‘बाल बचत’ कार्यक्रम सुरु गरेका थिए । उक्त कार्यक्रमले बालबालिकाको भविष्य सुरक्षामा सहयोग पुगेको दाबी गरिएको छ ।
पूर्वाधारतर्फ उनले सबै वडालाई जोड्ने अलवेदर सडक निर्माण र कालोपत्रे विस्तारलाई प्राथमिकता दिएका थिए । दुर्गम बस्तीसमेत यातायात सञ्जालमा जोडिएपछि स्थानीयको आवतजावत र कृषिजन्य उत्पादन ढुवानीमा सहजता आएको छ ।
महिला सशक्तीकरणतर्फ ‘छोरी-बुहारीलाई शिक्षा’ अभियान सञ्चालन गरी उच्च शिक्षासम्म पहुँच विस्तार गर्ने नीति लिइएको थियो । यसले आर्थिक रूपमा कमजोर परिवारका छोरी-बुहारीलाई उच्च शिक्षा अध्ययन निरन्तरतामा टेवा पुगेको छ ।
कृषि र पशुपालन क्षेत्रमा व्यापक अनुदान वितरण, आधुनिक प्रविधि विस्तार तथा किसान लक्षित कार्यक्रममार्फत उत्पादन वृद्धि गर्न सहयोग पुगेको थियो । इलामको पहिचानसँग जोडिएको चियाको न्यूनतम मूल्य निर्धारणमा नगरपालिकाले पहल गरेपछि किसानले उचित मूल्य पाउन थालेको दाबी गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा आधारभूत सेवामा पहुँच विस्तार, स्वास्थ्य चौकी स्तरोन्नति र विपन्न वर्गलाई सहज उपचार सुविधा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको थियो । त्यस्तै, खानेपानी सुविधा विस्तार गरी धेरै बस्तीमा स्वच्छ पानीको पहुँच सुनिश्चित गरिएको दाबी छ ।
विविध सेवाग्राहीलक्षित कार्यक्रम र उपलब्धिका आधारमा सूर्योदय नगरपालिका उत्कृष्ट नगरपालिका घोषित भएको उल्लेख गर्दै राईले स्थानीय तहमा देखिएको परिणाम संघीय तहमा पनि दोहोर्याउने प्रतिबद्धता जनाएका छन् ।
‘सूर्योदयमा सम्भव भएको परिवर्तन जिल्लाभरि पनि सम्भव छ,’ राई भन्छन्, ‘नीति निर्माणको तहमा पुगेर स्रोत र अवसरलाई जनताको हितमा केन्द्रित गर्नेछु ।’

राईका समर्थकहरू स्थानीय तहमा देखिएको कार्यशैली, बजेट कार्यान्वयनको क्षमता र जनतासँगको प्रत्यक्ष सम्वादलाई उनको बलियो पक्षका रूपमा प्रस्तुत गर्छन् । उनीहरूले ‘काम गर्ने नेतृत्वलाई अवसर’ दिनुपर्ने तर्क गर्दै यसपटक संघीय संसदमा पनि परिणाममुखी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
चुनावी प्रचारप्रसारको अन्तिम समयसम्म पनि राईले घरदैलो अभियानलाई तीव्र पारेका छन् । गाउँ-टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले विकासका अपूरा काम पूरा गर्ने प्रतिबद्धता दोहोर्याइरहेका छन् ।
उनले ‘समृद्ध इलाम’ निर्माणको रणनीति सार्वजनिक गरी मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् । राईले अलैँची, चिया, अदुवा, कुचो, सुपारी, कफी र किवीजस्ता नगदे बालीको व्यवसायीकरण, ब्रान्डिङ तथा अन्तर्राष्ट्रिय बजार विस्तार गर्दै निर्यातमुखी नीति सुधारमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
निजी साझेदारी मोडेलमार्फत उद्योगमा नयाँ लगानी भित्र्याउने, कच्चा पदार्थ र विद्युत् आपूर्तिमा देखिएका समस्या समाधान गर्ने तथा उत्पादनलाई बजारीकरणमुखी बनाउने योजना अघि सारेका छन् । मासु तथा दूध उत्पादन वृद्धि, खोरेँतमुक्त क्षेत्र घोषणा र नस्ल सुधार कार्यक्रममार्फत पशुपालनलाई आधुनिक र व्यावसायिक बनाइने योजना रहेको छ ।
किवी र गाई जोनलाई ‘सुपर जोन’मा स्तरोन्नति गर्दै आलु विकास केन्द्रमार्फत वैज्ञानिक खेती प्रविधि भित्र्याइने उल्लेख छ । कृषि तथा पशु बिमालाई घरदैलोमै पु¥याउने, सुपारी खेतीलाई औपचारिक कृषि उपजमा सूचीकृत गराउने तथा भारतको क्वारेनटाइन सूचीमा नपरेका उपजहरू सूचीकरणका लागि पहल गरिने प्रतिविद्धतामा छ । विद्यालय तथा क्याम्पसहरूलाई डिजिटल ल्याब र अनुसन्धान केन्द्रमा रूपान्तरण गरिने तथा विद्यालय तहदेखि नै कोडिङ र आइटी शिक्षा लागू गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
इलामलाई कोसी प्रदेशकै ‘एजुकेसन हब’का रूपमा विकास गर्दै उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गरी देशभरका विद्यार्थी आकर्षित गर्ने लक्ष्य राखिएको छ । शिक्षालाई सीपमूलक र रोजगारमूलक बनाउन तीनै तहका सरकारबिच समन्वय गरी नीतिगत सुधार गरिने उल्लेख छ । अन्तरपालिका पर्यटन गुरुयोजना निर्माण गरी धार्मिक, सांस्कृतिक, शैक्षिक, कृषि तथा साहसिक पर्यटन सर्किट विकास गरिने राईले बताएका छन् । मदन भण्डारी राजमार्गलाई इलाम-१ को आर्थिक मेरुदण्डका रूपमा विकास गर्दै विभिन्न आर्थिक तथा शहरी केन्द्रसँग जोडिने तथा सुरक्षित र व्यवस्थित सहर निर्माण गरिने उल्लेख गरिएको छ । यसै गरी, क्षेत्र नं. १ का सडक सञ्जाललाई वर्गीकरण गरी अन्तरपालिका र अन्तर जिल्ला सडक स्तरोन्नति गरिने योजना छ ।
बालबालिका, महिला र ज्येष्ठ नागरिकका लागि मैत्रीपूर्ण पूर्वाधार निर्माण, भूमिहीन र सुकुम्वासी समस्याको दीर्घकालीन समाधान तथा वैदेशिक रोजगारीबाट फर्केकाको सीप र उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने योजना छ । आदिवासी, जनजाति तथा स्थानीय समुदायको भाषा, लिपि, कला र परम्परागत ज्ञान संरक्षण गर्दै सांस्कृतिक पर्यटनसँग जोड्ने योजना छ । हात्ती, बाँदर र बँदेलबाट हुने क्षति न्यूनीकरणका लागि वैज्ञानिक समाधान तथा उचित क्षतिपूर्ति व्यवस्था गरिने र बाढी, पहिरो तथा चुरे संरक्षणका लागि तटबन्ध निर्माण र विपद् बिमा कार्यक्रम सञ्चालन गरिने योजना सार्वजनिक गरिएको छ ।
यस्तै, ‘इलाम डिजिटल हब’ स्थापना गरी स्थानीय युवालाई गाउँमै बसेर आइटी तथा आउट सोर्सिङ मार्फत आम्दानी गर्ने वातावरण सिर्जना गरिने तथा तीन तहका सरकार, निजी क्षेत्र र सहकारीबिच समन्वय गरी दिगो विकास लक्ष्य हासिल गरिने राईले बताएका छन् । यस क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण, सबै नागरिकलाई राष्ट्रिय स्वास्थ्य बिमामा आबद्ध गराई ‘डिजिटल हेल्थ रेकर्ड’ प्रणाली लागू गर्ने योजना अघि सारेका छन् । अधुरा खानेपानी आयोजना सम्पन्न गरी प्रत्येक घरमा शुद्ध खानेपानी पु¥याउने तथा कृषि उत्पादन वृद्धि गर्न आधुनिक प्रविधिसहित साना–ठुला सिँचाइ आयोजना निर्माण गरिने राईको योजना छ ।
इलाम १ मा उनका प्रतिष्पर्धाका रूपमा नेकपा एमालेबाट काजीमान कागते र नेपाली काँग्रेसका निष्कल राईसहित १३ जना चुनावी मैदानमा छन् ।
स्थानीय तहमा देखिएको विकासको निरन्तरता संघीय तहसम्म पुर्याउने लक्ष्यसहित संसद दौडमा रहेका रणबहादुर राईलाई मतदाताले कसरी मूल्याङ्कन गर्छन्, त्यसले आगामी राजनीतिक यात्राको दिशा तय गर्नेछ ।
राई २०७४ र २०७९ मा भएको स्थानीय तह निर्वाचनमा सूर्योदय नगरपालिकाको मेयरमा निर्वाचित भएर ९ वर्षसम्म सूर्योदयको नेतृत्व सम्हालेका थिए ।

















































