मुक्कुम्लुङ, नो केबलकार र ‘नो कोशी’ मुद्दामा ओमबहादुर गुरुङको प्रतिबद्धता, असहमत उम्मेदवारलाई ‘नो भोट’ चेतावनी

इलाम : प्रतिनिधिसभा सदस्य निर्वाचन इलाम-२ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ओमबहादुर गुरुङ (सौरव) ले मुक्कुम्लुङ संरक्षण, मुक्कुम्लुङमा केवलकार खारेजी तथा प्रदेश नं. १ को नाम ‘कोशी’ खारेजी आन्दोलनप्रति प्रतिबद्धता जनाएका छन् ।

इलाममा शनिबार आन्दोलनरत पक्षले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै गुरुङले आफू जनयुद्धकालदेखि उठाउँदै आएको पहिचानको मुद्दामा अडिग रहेको बताए । ‘पहिचान र आत्मसम्मानको प्रश्न जनयुद्धदेखि उठाउँदै आएका हौं, त्यसैले मुक्कुम्लुङ संरक्षण, केवलकार खारेजी र कोशी नाम खारेजीका विषयमा म स्पष्ट प्रतिबद्ध छु,’ उनले भने, ‘हामी निरन्तर तपाइँहरुसँगै रहनेछौं ।’

आन्दोलनरत समूहले इलामका विभिन्न उम्मेदवारलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा ‘सेभ मुक्कुमलुङ (मुक्कुम्लुङ संरक्षण/बचाउ)’, ‘नो केबलकार (मुक्कुम्लुङमा केवलकार खारेजी)’ र ‘नो कोशी (प्रदेश नं. १ मा कोशी नाम खारेजी)’ मुख्य एजेण्डा अघि सारेको छ ।

‘मुक्कुम्लुङ तान्सेप चुम्भो’, ‘मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समिति’ तथा ‘प्रदेश नं. १ पुनर्नामांकन संयुक्त संघर्ष समिति’ले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा  मुक्कुम्लुङ संरक्षण, नो कोशी र मुक्कुम्लुङमा नो केबलकारका लागि गरिएको आन्दोलनमा राज्य पक्षबाट चरम दमन, कुटपिट, पक्राउ, जेल तथा वारेन्ट जारी गर्ने काम भएको उल्लेख गर्दै विरोध जनाएको छ । आन्दोलनका क्रममा लाजेहाङ सुक्नावा लिम्बुले सहादत प्राप्त गरेको र धेरै आन्दोलनकारी घाइते भएको स्मरण गराएको छ ।

‘प्रदेश नं. १ पुनर्नामांकन संयुक्त संघर्ष समिति’ समितिका संयोजक डकेन्द्रसिंह थेगिमले आफ्ना मागप्रति स्पष्ट प्रतिबद्धता जनाउन उम्मेदवारहरूलाई आग्रह गरे । ‘सेभ मुक्कुमलुङ’, ‘नो केबलकार’ र ‘नो कोशी’ को एजेण्डाका विषयमा प्रतिबद्धता नजनाउने दल र उम्मेदवारलाई ‘नो भोट’ को अपिल गर्छौं,’ उनले भने ।

यस्तै श्रम संस्कृति पार्टी इलाम-२ का उम्मेदवार सुदिप राई, जसपा समानुपातिक उम्मेदवार छिकिन तामाङले पनि ज्ञापनपत्र बुझ्दै आन्दोलनरत पक्षको मुद्दाप्रति प्रतिबद्ध रहेको बताए ।

संघर्ष समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्ना एजेण्डाप्रति इमान्दार अडान लिने उम्मेदवारलाई पार्टी र जातिभन्दा माथि उठेर मतदान गर्न सर्वसाधारणसँग अपिल गरेको छ ।

देशमा भ्रष्टाचार, अनियमितता र कुशासनविरुद्ध उठेको जनआक्रोशका बीच घोषित निर्वाचनमा आफ्ना मुद्दालाई राष्ट्रिय बहसको केन्द्रमा पुर्‍याउने उद्देश्यसहित आन्दोलनरत पक्ष निर्वाचन अभियानमा सक्रिय रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार