
इलाम : यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुले चुनावी अभियान तीव्र बनाएका छन् । निर्वाचन निजिकिदैँ गर्दा दल र उम्मेदवारहरु विभिन्न समूह बनाएर चुनावी घरदैलो गरिरहेका छन् । दल र उम्मेदवारहरु यसपटक विगतमा जस्तो ठूलठूला चुनावी सभा तथा कोणसभा भन्दा घरदैलोमा व्यस्त देखिन्छन् ।
यसपटकको निर्वाचनमा इलाम-२ मा रोचक प्रतिष्पर्धा हुँदैछ । बुवासँग पराजित भएको १२ वर्षपछि पुन: छोरासँगको प्रतिष्पर्धाले इलाम-२ लाई थप रोचक बनाएको छ । २०७० सालमा भएको अर्को संविधानसभा निर्वाचनमा तत्कालीन एमाले उम्मेदवार सुवासचन्द्र नेम्बाङसँग पराजित कांग्रेस नेता भेषराज आचार्य १२ वर्षपछि उनै सुवासचन्द्रका छोरा सुहाङ नेम्बाङसँग प्रतिष्पर्धा गर्दैछन् । यस प्रतिष्पर्धालाई इलामे मतदाताले चासोका साथ लिएका छन् । नेम्बाङलाई बुवाको विरासत जोगाउन चुनौती छ भने आचार्यलाई बुवासँगको हारको बदला छोराबाट लिने मौकाको रुपमा हेरिएको छ ।
यसपटकको निर्वाचनमा मुख्य प्रतिष्पर्धाका रुपमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबिच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । चुनावी मैदानमा १४ जना उम्मेदवार छन् । यद्यपि राजनीतिक प्रभाव, संगठानात्मक क्षमता र विगतको मतपरिणामलाई हेर्दा एमाले र कांग्रेसका उम्मेदवारबिच नै प्रतिष्पर्धा हुने देखिन्छ ।
यसपटक एक्लाएक्लै निर्वाचनमा होमिएका सबै दलहरु आआफ्नै जित निश्चित भएको बताउँदै कार्यकर्ताहरुको मनोबल बढाइरहेका छन् । तर, २०८१ को उपनिर्वाचन र २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राप्त दल र उम्मेदवारहरुले पाएको मतलाई विश्लेषण गर्दा एमाले र कांग्रेसबिच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।
निवर्तमान सांसद समेत रहेका एमाले उम्मेदवार सुहाङ नेम्बाङ र कांग्रेसका उम्मेदवार भेषराज आचार्यले एक अर्कालाई मुख्य प्रतिष्पर्धी ठानेका छन् । २०८१ को उपनिर्वाचन र २०७९ को निर्वाचनमा समेत एमाले र कांग्रेसका उम्मेदवारबिच नै मुख्य प्रतिष्पर्धा भएको थियो ।
२०८१ को उपनिर्वाचनमा तत्कालीन माओवादी केन्द्रको समर्थनमा एमाले उम्मेदवार सुहाङ नेम्बाङले २७ हजार ७ सय ७२ मत पाएर निर्वाचित भएका थिए । निकटतम प्रतिष्पर्धीका रुपमा एक्लै प्रतिष्पर्धामा उत्रिएका कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका थिए । पहिचान पक्षधरहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ११ हजार ४ सय ५८ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले ५ हजार ५० मत प्राप्त गरेका थिए । अन्य १५ जना उम्मेदवारले एक हजार मत पनि कटाएका थिएनन् ।
२०८१ को उपनिर्वाचन नतिजालाई विश्लेषण गर्ने हो भने एमालेका लागि यो निर्वाचन जित्न त्यति सहज छैन । किनकि त्यतिबेला सत्ता साझेदार दल माओवादी केन्द्रले सघाएको थियो । माओवादी केन्द्रको करिब ५ हजार मत एमालेमा गएको देखिन्छ । २०७९ को निर्वाचनमा माओवादी केन्द्रले ५ हजार १ सय ५३ मत समानुपातिकमा पाएको थियो । उपनिर्वाचनमा सोही मतले एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई जितमा सहज बनेको विश्लेशण छ । यस पटक भने तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको दल एकीकरणबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले आफ्नै उम्मेदवार उठाएकाले त्यो मत एमाले नजाने देखिन्छ ।
२०७९ को निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्बाङ एक्लैले ३० हजार २० मत पाएर निर्वाचित भएका थिए । तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत पाएर उपविजेता बनेका थिए ।
समानुपातिकतर्फ एमालेले २६ हजार ५ सय ६२, कांग्रेसले २२ हजार ३ सय ३३, माओवादी केन्द्रले ५ हजार १ सय ५३ र राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार ६ सय ६८ मत पाएका थिए भने अन्य दलले एक हजार सात सय मत कटाएनन् ।
यसपटक उदाउँदो शक्तिका रुपमा श्रम संस्कृति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि पुरानै दलको मत काट्ने भएकाले समेत एमालेलाई जितमा त्यति सहज छैन । तथापि, मुख्य प्रतिष्पर्धा भने कांग्रेससँग नै देखिन्छ । एमालेले भने यसपटक पनि आफ्नो उम्मेदवारले सहज रुपमा जित्ने दावी गर्दै आएको छ ।
‘हामीले आफ्नो मत संरक्षणलाई पहिलो प्राथमिकता दिएर चुनावी अभियानमा लागिरहेका छौं, त्यतिमात्र गर्न सकेपनि जित सहज छ,’ एमाले सचिव रविन्द्र सुवेदीले भने, ‘करिब चारदेखि पाँच हजार मतान्तरमा चुनाव जित्ने पक्कापक्की छ ।’ उनले इलाम-२ एमालेको बलियो जनाधार क्षेत्र, सांसद हुँदा जिल्लामा बजेट ल्याउन निर्वाह गरेको भूमिका, विपदका समयमा देखाएको क्रियाशीलता एवम् जेन्जी आन्दोलनको माग र भावना अनुसारको युवा उम्मेदवार भएकाले समेत सुहाङको जितमा सहज भएको दावी गरे ।
एमाले उम्मेदजवारले जितेमा पार्टीको जनाधार एवम् नेम्बाङ परिवाको वर्चस्व र विरासत कायमै छ भन्ने अर्थ लाग्नेछ । पराजित भएमा पार्टी निरन्तर कमजोर हुँदै गएको, स्वयम् एमाले समर्थक मतदाताले सुहाङ नेम्बाङको उम्मेदवारी मन नपराएको, त्यसलाई वंशवाद ठानेको अर्थ लाग्नेछ ।
उता कांग्रेसले पनि यो जित्ने रणनीतिका साथ अभियान तीव्र बनाएको छ । कांग्रेसले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व छानेर जनतामा परिवर्तनको आभास दिलाएको छ । उम्मेदवार आचार्य आफैं पनि निष्ठावान्, असल, इमान्दार र भरोसायोग्य नेताका रुपमा चिनिन्छन् । उनी पार्टीभित्र मात्र होइन, बाहिर पनि रुचाइएका बौद्धिक नेताका रुपमा परिचित छन् । यही परिवेशमा आचार्यलाई बिलियो दाबेदारका रुपमा हेरिएको छ ।
विशेष महाधिवेशनपछि कांग्रेस रुपान्तरित भइसकेकाले जित पक्का भएको कांग्रेस सचिव पूर्ण गौतमले बताए । ‘विगतमा हामीभित्र केही समस्या थियो, अहिले रुपान्तरण भएर कांग्रेस एक भएर निर्वाचनमा होमिएको छ,’ गौतमले भने, ‘यसपटक हाम्रो उम्मेदवार ‘हेभीवेट’का छन्, त्यसैले पनि निर्वाचनमा सानदार विजयी हुनेछ ।’ लामो समय स्थानीय जनताको सुखदु:खमा भिजेका उम्मेदवार भएका कारण अन्य पार्टीले समेत आचार्यलाई मत दिएर जिताउने गौतमको दावी छ ।
कांग्रेस पराजित भए खासै अर्थपूर्ण रहँदैन । किनकि विगत तीन दशकयता पाँच निर्वाचनमा कांग्रेसले एक पटक पनि जितेको छैन । कांग्रेस हार्यो भने पुरानै हारको पुनरावृत्ति मात्र हुनेछ, कुनै नयाँ कुरा हुने छैन । तर, कांग्रेसले जित्यो भने थप उपलब्धि हुनेछ ।
यो निर्वाचनममा एकताबाट बनेको नयाँ दल नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङ, नयाँ दल श्रम संस्कृति पार्टीका सुदिप राई र राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले एमाले र कांग्रेसको मत तानेर चुनाव जित्ने रणनीतिमा छन् । तर, उनीहरुको साङ्गठानिक जनआधार नभएपनि एमाले र कांग्रेसको मत तानेर नै चुनाव जित्ने दावी गर्दै आएका छन् ।
सो क्षेत्रमा १३ राजनीतिक दल र एक स्वतन्त्र गरी १४ जना उम्मेद्वार चुनावी प्रतिष्पर्धामा छन् । राष्ट्रिय परिवर्तन पार्टीका दिवस राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, मंगोल नेशनल अर्गनाइजेशनका श्याबहादुर लिम्बू, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीका पवित्रा लिम्बू तुम्बाहाम्फे, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का होमप्रसाद खतिवडा, जनता समाजवादी पार्टीका बलबहादुर आङदेम्बे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सादरसिंह मादेन (लिम्बू) र स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम मत माग्दै गाउँगाउँमा पुगिरहेका छन् ।
इलाम-२ मा चुलाचुली गाउँपालिकाका सबै ६ वटा वडा, माङसेबुङ गाउँपालिकाका सबै ६ वटा वडा, फाकफोकथुम गाउँपालिकाका सबै ७ वटा वडा, देउमाई नगरपालिकाका सबै ९ वटा वडा, इलाम नगरपालिकाका ११ वटा वडा (१० बाहेक) र माई नगरपपालिकाका ३ वटा वडा (६, ७ र ८) वटा गरी ४२ वटा वडा पर्दछन् ।
जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार इलाम-२ मा २ लाख ३१ हजार ८ सय ९ जना मतदाता रहेका छन् । १ लाख १९ हजार ६ सय ४८ पुरुष, १ लाख १२ हजार १ सय ५८ महिला र ३ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।

















































