इलाम-२ मा एमालेको प्रतिबद्धता : परिणाममुखी काम गर्ने संकल्प (प्रतिवद्धतासहित)

इलाम : आगामी प्रतिनिधिसभा निर्वाचन-२०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनवादी) इलाम क्षेत्र नं. २ ले सोमबार आत्मसमीक्षासहित विस्तृत प्रतिबद्धता सार्वजनिक गरेको छ । पार्टीले जनताको विश्वासका साथ सार्वजनिक जीवनमा अघि बढ्दा सबै अपेक्षा पूरा गर्न नसकिएको यथार्थ स्वीकार गर्दै कृषि, रोजगारी, स्वास्थ्य र आधारभूत पूर्वाधारका समस्या अपेक्षित रूपमा समाधान हुन नसकेको जनाएको छ ।

पार्टीले ती कमीहरूलाई जिम्मेवारीबाट पन्छिने विषय नभई सुधारका अवसरका रूपमा लिएको उल्लेख गरेको छ । यस अवधिमा जनताका समस्या नजिकबाट बुझ्ने, अनुभव सँगाल्ने र सिक्ने अवसर प्राप्त भएको भन्दै अब प्रत्यक्ष संवाद, जवाफदेहिता र परिणाममुखी कामलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ । ‘वाचा होइन, कामबाट विश्वास जित्ने हाम्रो संकल्प हो,’ घोषणापत्रमा भनिएको छ।

संविधान, सुशासन र राष्ट्रिय एकतामा जोड

एमालेले नेपालको संविधानको रक्षा, नागरिक अधिकारको संरक्षण, मुलुकको एकता, अखण्डता र सार्वभौमिकताको सुदृढीकरणमा निरन्तर लागिरहने प्रतिबद्धता जनाएको छ । सबै जाति, भाषा, धर्म, संस्कृति र समुदायको सम्मान तथा संरक्षण गर्दै राष्ट्रिय एकता अभिवृद्धिमा बल पुर्‍याइने उल्लेख छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को मूल नारालाई आत्मसात गर्दै भौतिक पूर्वाधार, सेवा क्षेत्र, आर्थिक तथा सामाजिक विकासमा विशेष पहल गर्ने प्रतिवद्धता जनाइएको छ । सुशासन, पारदर्शिता र जवाफदेहितालाई कार्यशैलीको आधार बनाइने पार्टीको दाबी छ ।

पूर्वाधार र सडक स्तरोन्नतिमा प्राथमिकता

निर्माणाधीन तथा अलपत्र आयोजनाहरू समयमै सम्पन्न गराउने, नयाँ योजनाहरू कार्यान्वयन गर्ने तथा नागरिक आवश्यकताअनुसारका कार्यक्रम ल्याइने जनाइएको छ ।

केचना-कञ्चनजंघा कोरिडोर सडकलाई राष्ट्रिय राजमार्गका रूपमा विकास गर्न पहल गरिने र मेची राजमार्गलाई दुई लेनमा स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।

कृषि, उद्योग र रोजगारीमा विशेष कार्यक्रम

‘बिउदेखि बजारसम्म” को अवधारणा अघि सार्दै चिया, कफी, दुग्ध पदार्थ, नगदेबाली तथा जडीबुटीको व्यावसायिक तथा औद्योगिक विकासमा उन्नत प्रविधि प्रयोग गरिने उल्लेख छ । उत्पादनको बजारीकरण, गुणस्तर अभिवृद्धि तथा निर्यात प्रवर्द्धनमा विशेष पहल गरिने जनाइएको छ ।

स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्योग, व्यवसाय र कृषिलाई सहुलियत, अनुदान तथा प्रविधि उपलब्ध गराइने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ । प्राविधिक शिक्षा र सूचना प्रविधि (आईटी) लाई प्राथमिकतामा राखी नयाँ रोजगारीका अवसर सिर्जना गरिने उल्लेख छ । सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा आईटी तथा रोजगारमुखी विषय अध्यापनका लागि पहल गरिने, स्टार्टअप कोर्स र करार खेतीजस्ता नयाँ अवधारणा अघि बढाइने बताइएको छ ।

पर्यटन र ग्लोबल ब्रान्डको लक्ष्य

इलामलाई कला तथा साहित्य पर्यटन जिल्लाका रूपमा विकास गर्दै पर्यापर्यटन, खेल पर्यटन, चिया पर्यटन, साहसिक तथा कृषि पर्यटनको प्रवर्द्धन गरिने योजना अघि सारिएको छ ।

‘अबको इलाम, ग्लोबल ब्रान्ड’ नारासहित विदेशी तथा स्वदेशी उद्योगी-व्यवसायीलाई इलाममा आमन्त्रण गरी बाँस, चिया, छुर्पी र अलैंचीको बजार विस्तारका सम्भावना खोजिएको जनाइएको छ । केही चिया व्यवसायीलाई चीनको टी इन्स्टिच्युटमा प्याकेजिङ र गुणस्तर अभिवृद्धिसम्बन्धी अध्ययन अवलोकनको अवसर मिलेको उल्लेख गर्दै स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने अभियानलाई तीव्रता दिइने बताइएको छ ।

वातावरण, संस्कृति र सामाजिक सरोकार

पर्यावरण संरक्षण, सामुदायिक वन व्यवस्थापन, फोहोर व्यवस्थापन तथा जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा विशेष कार्यक्रम ल्याइने उल्लेख छ । मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण, लागूऔषध दुर्व्यसन नियन्त्रण, युवालाई सामाजिक कार्यमा प्रेरित गर्ने तथा सामाजिक सद्भाव सुदृढ गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

किराँत भाषा, संस्कृति तथा मातृभाषाको संरक्षण र प्रवर्द्धनमा पहल गरिने, शिक्षा, स्वास्थ्य तथा निजामती कर्मचारीसम्बन्धी ऐन सुधारका लागि विशेष पहल गरिने जनाइएको छ। विपद्पीडितका घर, विद्यालय र स्वास्थ्य चौकी पुनर्निर्माणलाई प्राथमिकतामा राखिने बताइएको छ ।

सुहाङ नेम्वाङलाई मतदान गर्न आह्वान

एमालेले इलाम जिल्ला संघीय निर्वाचन क्षेत्र नं. २ मा आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्ना उम्मेदवार सुहाङ नेम्बाङलाई सूर्य चिन्हमा मतदान गरी विजयी गराउन मतदातासँग अपिल गरेको छ । साथै दोस्रो मतपत्रमा पनि सूर्य चिन्हमा मतदान गरी समानुपातिक उम्मेदवारहरूलाई विजयी गराउन आह्वान गरिएको छ ।

इलाम-२ क्षेत्रीय कमिटीले जनताको शिर उच्च बनाउने संकल्पसहित पुनः विश्वासका लागि आग्रह गर्दै निर्वाचनमा सक्रिय सहभागिताको अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार