
पाँचथरः पाँचथरमा उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच कार्यगत एकता गरी चुनावी अभियान तीव्र बनाइएको छ। दुबै दलबीच गत माघ १ गते ८ बुँदे सम्झौता गरी पार्टी एकताको सहमति भएको जनाइएको छ । यद्यपि, निर्वाचन सम्पन्न भएपछि मात्र कानुनी रूपमा पार्टी एकता हुनेछ। निर्वाचन प्रक्रिया अघि बढेकाले हाल कार्यगत एकता गरिएको र कानुन अनुसार पार्टीको नाम र चुनाव चिन्ह यथावत राखिएको छ। निर्वाचनपछि भने पार्टीको नाम र चुनाव चिन्ह ‘उज्यालो नेपाल’ नै रहने सहमति भएको छ।
प्रत्यक्षतर्फ केही स्थानमा ‘चिम’ र समानुपातिकतर्फ ‘बासुरी’ चुनाव चिन्ह रहे पनि पाँचथर सहित ११ क्षेत्रमा प्रत्यक्ष र समानुपातिक दुवैमा ‘बासुरी’ चुनाव चिन्ह प्रयोग गरिएको छ। उज्यालो नेपाल पार्टीको समानुपातिक बन्द सूची शून्य भएकाले राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक बन्द सूचीमा दुवै पक्षका उम्मेदवार समायोजन गरी ‘बासुरी’ चुनाव चिन्हबाट समानुपातिक उम्मेदवारी दर्ता गरिएको हो।
उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो, टोल समिति गठन, मतदाता शिक्षा, उम्मेदवार भेटघाट, चुनावी र्याली, कोणसभा तथा आमसभा कार्यक्रमलाई तीव्र बनाएको छ। जेनजी युवा तथा कार्यकर्तासहित करिब तीन सय जनशक्ति परिचालन गरी जिल्लाका सबै वडामा एजेन्डा सहितको घरदैलो कार्यक्रम सञ्चालन भइरहेको छ। अभियान फागुन ४ गते च्याङथापुबाट सुरु भई जिल्लाका विभिन्न वडामा विस्तार भएको छ। हालसम्म जिल्लाभर ६० वटा टोल तथा वडा समिति गठन भएका छन्। उज्यालो नेपाल पार्टी पाँचथरका अध्यक्ष दिलेन्द्र कुरुम्बाङको संयोजकत्वमा १४५ सदस्यीय जिल्ला निर्वाचन परिचालन समिति गठन गरी अभियान सञ्चालन भइरहेको छ। पार्टीका अनुसार प्रत्यक्ष उम्मेदवार टेक बहादुर सुब्बा तथा समानुपातिक उम्मेदवारहरू प्रा.डा. महेन्द्र सुन्दर लावती, ज्योतिका राई र श्याम बहादुर मगर रहेका छन्।

पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङ फागुन १२ गते पाँचथर आउने कार्यक्रम तय भएको छ। सो अवसरमा जिल्ला समन्वय समिति, पाँचथरको प्राङ्गणबाट अभियानलाई औपचारिक रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। “अब उज्यालोको युग सुरु गरौँ, कुलमानसँगै उज्यालोको यात्रा प्रारम्भ गरौँ” भन्ने नारासहित घरदैलो, टोल भ्रमण र प्रत्यक्ष जनसम्पर्कलाई अभियानको आधार बनाइने बताएका छन्।
पाँचथरभर कार्यकर्ता तथा समर्थकको उत्साहजनक सहभागिता, घरदैलो र र्याली कार्यक्रमले उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीको प्रभावशाली उपस्थिति देखिएको छ। नयाँ राजनीतिक ऊर्जा र संगठनात्मक सक्रियताका कारण पुराना दलहरूलाई चुनौती दिने अवस्थामा पुगेको उज्यालो नेपाल पार्टी संघीय निर्वाचन परिचालन समिति सदस्य सजिब योङ्याले बताएका छन्।

















































