
इलाम : तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र (हालको नेपाली कम्युनिस्ट पार्टी) इलामका मतदाताले १२ वर्षपछि प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नै पार्टीको उम्मेदवारलाई भोट हाल्न पाउने भएका छन् ।
माओवादी केन्द्र इलामले २०७४ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा इलाम-१ र इलाम-२ दुवै क्षेत्रमा नेकपा एमालेलाई सघाएको थियो । त्यतिबेला इलाम-१ मा पूर्वप्रधानमन्त्री एवम् एमाले नेता झलनाथ खनाल र इलाम-२ मा पूर्वसंविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई सघाएको थियो । दुवै क्षेत्रमा एमालेले जित हासिल गर्योल ।
त्यस्तै २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा भने इलाम-१ मा नेकपा (एकीकृत समाजवादी) र इलाम-२ मा नेपाली कांग्रेसलाई सघाएको थियो । इलाम-१ मा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र इलाम-२ मा कांग्रेस इलाम सभापति डम्बरबहादुर खड्कालाई सघाएको थियो । तर दुवै क्षेत्रमा पराजय व्यहोर्नुपरेको थियो ।
माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका विभिन्न दलबिच एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीले आसन्न निर्वाचनमा भने दुवै क्षेत्रमा आफ्नै उम्मेदवार उठाएको छ । इलाम-१ मा नेकपा नेता सूर्योदय नगरपालिकाका तत्कालीन नगरप्रमुख रणबहादुर राई र इलाम-२ बाट तत्कालीन जनमुक्ति सेनाका कमाण्डर एवम् घाइते यौद्धा ओमबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ ।
राई २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा तत्कालीन एमालेबाट सूर्योदय नगरप्रमुख बनेका थिए । राई एमालेबाट माधव नेपालसँगै विद्रोह गरेर नेकपा एकीकृत समाजवादीमा लागेका थिए । त्यसपछि २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा समेत एकीकृत समाजवादीबाट दोस्रो कार्यकालका लागि नगर प्रमुखमा निर्वाचित भएका थिए । उनी हाल नेकपामा केन्द्रीय सदस्य छन् । भिजन भएका लोकप्रिय नेताका रुपमा परिचित छन् ।
गुरुङ भने तत्कालीन माओवादीको लडाकु जनमुक्ति सेनाका कमिसार कमाण्डार हुन् । उनी २०६२ सालमा तत्काली शाही सेनाको गोली लागेर घाइते योद्धा हुन् । उनको टाउको, पेट र तिघ्रामा गरी ६ वटा गोली लागेको थियो । उनी हाल नेकपाका प्रदेश सदस्य हुन् । पछिल्लो समय युवा उद्यमशीलतामा क्रियाशील गुरुङलाई नेकपाले उम्मेद्वार बनाएपछि पूर्वमाओवादी मतदाताहरु उत्साहित छन् ।
‘१२ वर्षपछि पार्टीले आफ्नै उम्मेदवार उठाएको छ, यसबाट हामी उत्साहित छौं,’ माङसेबुङ गाउँपालिका-३ का नेकपा नेता लक्षुमन राई (जनम) भने, ‘सधैँ अर्को पार्टीको उम्मेदवारलाई मत माग्दामाग्दा हैरान भएका हामी यसपटक आफ्नै पार्टीका उम्मेदवार आउँदा खुसी छौं ।’
माओवादीले २०७४ मा भएको प्रदेश सभा सदस्य निर्वाचनमा इलाम-२ (ख) बाहेक तीनवटै क्षेत्रमा एमालेका उम्मेदवारलाई सघाएको थियो । प्रदेश सभा सदस्य निर्वाचनमा माओवादीको सहयोगमा एमालेका तर्फबाट इलाम-१ (क) खिनु लङ्वा लिम्बू, इलाम-१ (ख) मा काजीमान कागते, इलाम-२ (क) मा राम राना निर्वचित भएका थिए । इलाम-२ (ख) मा भने एमालेको सहयोगमा तत्कालीन माओवादी नेता धिरेन्द्र शर्मा (रमन) निर्वाचित भएका थिए ।
२०७९ मा भएको प्रदेश सभा सदस्य निर्वाचनमा इलाम-१ (क) मा एकीकृत समाजवादी, इलाम-१ (ख) र इलाम-२ (क) मा कांग्रेसलाई सघाएको थियो । माओवादीको सहयोगमा इलाम-१ (क) मा एकीकृत समाजवादीकी खिनु लङ्वा लिम्बू, इलाम-१ (ख) मा कांग्रेसका समशेर राई र इलाम-२ (क) मा कांग्रेसकै गोविन्द गिरी निर्वचित भएका थिए । इलाम-२ (ख) मा भने कांग्रेसको सहयोग पाएको तत्कालीन माओवादी नेता हर्क लावती (कान्छा) ले पराजय बेहोर्नुपरेको थियो ।
आसन्न निर्वाचनका लागि इलामका दुईवटा क्षेत्रमा २७ जना चुनावी मैदानमा छन् । इलाम-१ मा नेकपाका राईसहित एमालेका काजीमान कागते, कांग्रेसका निश्कल राई, श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बू, उज्यालो नेपाल पार्टीका हरिबहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्वाला नेपाल, नेपाल मजदुर किसान पार्टीका तुल्सी केशरी प्रजापति, मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचे, नेपाल जनमुक्ति पार्टीका डम्बरसिंह लिम्बू, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का नारदमणी साङपाङ, जनता समाजवादी पार्टीका लिलाबहादुर सुनुवार र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रामप्रसाद लिम्बू चुनावी मैदानमा छन् ।
इलाम-२ मा नेकपाका गुरुङसहित १४ चुनावी मैदानमा छन् । एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका भेषराज आचार्य, श्रम संस्कृति पार्टीका सुदिप राई, राष्ट्रिय परिवर्तन पार्टीका दिवस राई, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, मंगोल नेशनल अर्गनाइजेशनका श्याबहादुर लिम्बू, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीका पवित्रा लिम्बू तुम्बाहाम्फे, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का होमप्रसाद खतिवडा, जनता समाजवादी पार्टीका बलबहादुर आङदेम्बे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सादरसिंह मादेन (लिम्बू) र डाकप्रसाद गौतमको स्वतन्त्र चुनावी मैदानमा छन् ।
इलाममा दुई लाख ३१ हजार आठ सय मतदाता
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि इलाममा ६ हजार ९ सय ३२ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय इलामको तथ्याङ्क अनुसार इलाममा २ लाख ३१ हजार ८ सय ९ जना मतदाता रहेका छन् । १ लाख १९ हजार ६ सय ४८ पुरुष, १ लाख १२ हजार १ सय ५८ महिला र ३ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।
यो अघिल्लो प्रतिनिधिसभा निर्वाचन-२०७९ को मतदाता सङ्ख्या भन्दा ६ हजार ९ सय ३२ ले बढी हो । अघिल्लो निर्वाचनमा इलाममा २ लाख २४ हजार ८ सय ७७ मतदाता थिए । जसमध्ये १ लाख १५ हजार ९ सय ५२ पुरुष, १ लाख ८ हजार ९ सय २३ महिला र २ जना तेस्रो लिङ्गी मतदाता थिए । फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने व्यक्तिले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
१० वटा पालिका रहेको इलाममा प्रतिनिधिसधा निर्वाचनका लागि दुईवटा निर्वाचन क्षेत्र छन् । आउँदो निर्वाचनका लागि क्षेत्र नम्बर-१ मा १ लाख १२ हजार ३ सय २० मतदाता रहेका छन् । ५८ हजार ६ सय ७३ पुरुष, ५३ हजार ६ सय ४६ महिला र १ जना तेस्रो लिङ्गी मतदाता रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णबहादुर लिम्बूले जानकारी दिए ।
क्षेत्र नम्बर-२ मा १ लाख १९ हजार ४ सय ८९ मतदाता रहेका छन् । ६० हजार ९ सय ७५ पुरुष, ५८ हजार ५ सय १२ महिला र २ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।
निर्वाचनका लागि इलाममा एक सय ५० मतदानस्थालमा २ सय ९० मतदान केन्द्र कायम गरिएको छ ।
समानुपातिक मत कसको कति?
२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेले ४७ हजा १२६, काँग्रेसको ३८ हजार ७८३, राष्ट्रिय स्वतन्त्र पार्टीको ९ हजार १३७, एकीकृत समाजवादीको ८ हजार ६०७, माओवादी केन्द्रको ६ हजार ८०२ मत पाएको थियो ।
त्यसैगरी मंगोल नेशनल अर्गनाइजेशनले ३ हजार ७७६, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ४९१, जनता समाजवादी पार्टी, नेपालले २ हजार ८८, राष्ट्रिय जनमुक्ति पार्टीले १ हजार ६७४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ हजार ४४५, जनमत पार्टीले २७२, आमूल परिवर्तन मसिहा पार्टी नेपालले १९० नेकपा मालेले १८०, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १३८, हाम्रो नेपाली पार्टीले १२१, नेपाल मजदुर किसान पार्टीले ११३, नेपाली जनता दलले १११ पाएको थियो । अन्य दलले सय मत कटाएनन् ।

















































