
इलाम : इलामको माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङ जनता समाजवादी पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका छन् ।
मङ्गलबार इलामको माङसेबुङ गाउँपालिका-६ चिसोपानी पञ्चमी बजारमा एमालेको चुनावी भेटघाट कार्यक्रममार्फत नेम्बाङ एमाले प्रवेश गरेका हुन् ।
नेम्बाङलाई एमालेका केन्द्रीय सदस्य रामबहादुर मगर, केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य इलाम-२ का उम्मेद्वार सुहाङ नेम्बाङलगायतले स्वागत गरेका हुन् ।
एमाले प्रवेश गरेपछि उपाध्यक्ष नेम्बाङले एमाले मात्रै राष्ट्रवादी शक्ति भएको दावी गरे । उनले राष्ट्रवादी र गणतन्त्रवादी एक हुनुपर्ने सन्देशका साथ आफू एमाले प्रवेश गरेको बताए ।
नेम्बाङ २०७९ को स्थानीय तह निर्वाचनमा तत्कालीन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमुक्ति पार्टी र जनता समाजवादी पार्टी नेपालको संयुक्त गठबन्धनका तर्फबाट ‘ढल्केको छाता’ चिन्हबाट गाउँपालिका उपाध्यक्ष पदमा उम्म्द्वार भई निर्वाचित भएका थिए । उनले तत्कालीन गाउँपालिका उपाध्यक्ष समेत रहेकी एमाले उम्मेद्वार सुनिता सुब्बालाई पराजित गरेका थिए । २०७४ को निर्वाचनमा नेम्बाङ उनै सुब्बासँग उपाध्यक्ष पदमा पराजित भएका थिए ।
नेम्बाङ एमाले प्रवेश गरेपछि माङसेबुङको राजनीति वृतमा विभिन्न विश्लेषण र टिप्पणी सुरु भएको छ । सामाजिक सञ्जालमा एमाले समर्थकहरु स्वागत भन्दै खुसीयाली मनाईरहेका छन् भने तत्कालीन गठबन्धनका समर्थकहरु भने नेम्बाङले माङसेबुङबासीलाई धोका दिएको र नेम्बाङलाई उपाध्यक्षमा निर्वाचित गराउनु भूल गरिएको भन्दै टिप्पणी गर्न थालेका छन् ।
नेम्बाङ हाल अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य थिए । नेपाली कांग्रेसको पृष्ठभूमिबाट राजनीति प्रारम्भ गरेका नेम्बाङ २०६९ मा पहिचानका लागि भन्दै सङ्घीय समाजवादी पार्टीमा प्रवेश गरेका थिए । पार्टी एकीकरणका क्रममा उपेन्द्र यादवको बनेको जनता समाजवादी पार्टी नेपालका प्रदेश १ को कोषाध्यक्षका रुपमा रहेका नेम्बाङ अशोक राईले पार्टी विभाजन गरेर जसपा बनाएपछि त्यतातिर लागेर प्रदेश मुख्यसचिव भए ।
जसपा समेत विभाजन भएर राजेन्द्र श्रेष्ठको समूह नेपाली कम्युनिष्ट पार्टीमा एकता भएपछि उनलाई अशोक राई समूहले केन्द्रीय सदस्य बनाएका थिए । तर नेम्बाङले केन्द्रीय सदस्यको हैसियतमा कुनै बैठकमा सहभागी हुन नपाई सो पार्टी परित्याग गरी एमाले प्रवेश गरेका हुन् ।
उनी आगामी २०८४ को स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट माङसेबुङ गाउँपालिका अध्यक्षको टिकट दिने शर्तमा एमाले प्रवेश गरेको उनीनिकट एक कार्यकर्ताले बताए । तर एमालेले भने कामको आधारमा पछिको कुरा पछि नै निर्णय हुनेगरी एमाले प्रवेश गरेको बताएको छ ।
हरेक निर्वाचनमा फरक पार्टी र चिन्हबाट उम्मेद्वार
नेम्बाङ २०७० सालदेखिको हरेक निर्वाचनमा निर्वाचनमा प्रत्यासी बन्दै आएका छन् । तर फरक पार्टी र फरक चिन्हबाट । उनी २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा संघीय समाजवादी पार्टी ‘गोलाकारभित्रको छात्रा’ चिन्हबाट इलाम-२ मा उम्मेद्वार बने तर पराजित मात्र बनेनन् जमानत जफत नै भयो ।
स्थानीय तह पुनर्संरचनापश्चात २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर संघीय समाजवादी फोरम ‘एक हातले समातेको मसाल’ बाट माङसेबुङ गाउँपालिका उपाध्यक्षमा उम्मेद्वार बने । तर एमाले उम्मेद्वार सुनिता सुब्बासँग पराजित भए ।
२०७९ को निर्वाचनमा भने नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमुक्ति पार्टी र जनता समाजवादी पार्टी नेपालको संयुक्त गठबन्धनका तर्फबाट ‘ढल्केको छाता’ चिन्हबाट गाउँपालिका उपाध्यक्ष पदमा उम्म्द्वार भई निर्वाचित भए । उनले तत्कालीन गाउँपालिका उपाध्यक्ष समेत रहेकी एमाले उम्मेद्वार सुनिता सुब्बालाई पराजित गरेका थिए ।
नेम्बाङसँगै माङसेबुङ गाउँपालिकाका प्रवक्ता सुसन र राई र माई नगरपालिका कार्यपालिका सदस्य करसिंह राईलगायत समेत एमाले प्रवेश गरेको एमाले नेताहरुद्वारा सार्वजनिक गरिएको नामावलीमा उल्लेख छ । तर उनीहरु दुवैजना पार्टी प्रवेश कार्यक्रममा भने उपस्थित देखिएनन् ।
यस्तै सोही कार्यक्रमामार्फत पूर्वमाओवादी पृथीमान जवेगू समेत एमाले प्रवेश गरेका छन् । तत्कालीन माओवादी माङसेबुङ गाउँसमिति अध्यक्ष भइसकेका जवेगू गतवर्षदि राजनीतिक रुपमा निष्क्रिय थिए । गत फागुन २४ गते भएको माओवादीको दोस्रो गाउँ सम्मेलनबाट अध्यक्ष हुन नपाएपछि उनी माओवादी त्यागेर निष्क्रिय थिए ।
जवेगू पनि दुईपटक माङसेबुङ गाउँपालिका-२ को वडाअध्यक्षमा उम्मेद्वार बनेर पराजित भएका थिए । २०७४ को स्थानीय निर्वाचनमा माओवादीको तर्फबाट ‘गोलाकारभित्रको हँसिया हथौडा’ चिन्हमा र २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेस, जसपा, जनमुक्ति र माओवादीको संयुक्त गठबन्धमा ‘गोलाकारभित्रको हँसिया हथौडा’ चिन्हमा वडा अध्यक्षमा उम्मेद्वार बनेर पनि पराजित भएका थिए ।
माओवादीको दोस्रो गाउँ सम्मेलनबाट पुन: अध्यक्षमा दोहोरिन चाहन्थे । तर प्रतिनिधिको समर्थन नपाएपछि अध्यक्षको उम्मेद्वारी दर्ता गराएनन् ।
त्यसपछि माङसेबुङ इन्चार्ज मागेका थिए । तर माओवादीको इन्चार्ज प्रदेश सदस्यबाट बन्ने प्रावधान रहेकाले इन्चार्ज बन्न सकेनन् । त्यसपछि उनी कुनैपनि पार्टीमा प्रवेश नगरी निष्कृय बसेका थिए ।
माओवादीबाट वडाअध्यक्षको टिकट दुईपटक आफैं लिएर पराजित भएका जवुगू अन्तिममा माओवादीले अवसर नै नदिएको भन्दै एमाले प्रवेश गरेका हुन् । एमालेमा समेत भावी वडा अध्यक्षको बार्गेनिङ गरेर प्रवेश गरेको जानकारी प्राप्त भएको छ । उनीसँगै पूर्ण जवेगूलगायत एमाले प्रवेश गरेका छन् ।



























































