फाक्तेप आयुर्वेद औषधालयद्वारा नागरिक आरोग्य कार्यक्रम

  युद्धबहादुर बोहोरा
161 Shares

पाँचथरः फाल्गुनन्द गाउँपालिका–५ स्थित फाक्तेप आयुर्वेद औषधालयको आयोजनामा ‘नागरिक आरोग्य कार्यक्रम’ आइतबार सम्पन्न भएको छ। ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रमको उद्देश्य शारीरिक, मानसिक तथा आध्यात्मिक रूपमा स्वस्थ नागरिक तयार गर्नु रहेको औषधालय प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिए।कार्यक्रममार्फत नागरिकलाई नसर्ने रोगको जोखिम न्यूनीकरण गर्ने उपाय, आयुर्वेद उपचार, योग अभ्यास तथा स्थानीयस्तरमा पाइने जडीबुटीको प्रयोगबारे सचेत गराइएको थियो। संघीय सरकारको ३० हजार रुपैयाँ शसर्त बजेटबाट कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा फाल्गुनन्द गाउँपालिका नागरिक आरोग्य समिति, वडा नं. ५ का नागरिक आरोग्य समूह, जनप्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, संघसंस्थाका प्रतिनिधि तथा सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण पालिका आयुर्वेद शाखा प्रमुख राजु पराजुली र वरिष्ठ कविराज राजकुमार श्रेष्ठले गरेका थिए। वडा नं. ५ का अध्यक्ष विष्णुकुमार चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह तथा सुरक्षाकर्मीको उल्लेखनीय सहभागिता रहेको थियो। आयुर्वेद, योग र समुदायको सक्रिय सहभागिताले फाल्गुनन्द गाउँपालिका स्वस्थ समाज निर्माणतर्फ अघि बढिरहेको समापनमा प्रमुख अतिथि चेम्जोङले बताए ।

यस पालिकामा रहेका फाक्तेप र पिपलबोटे आयुर्वेद औषधालयले बाथरोग, जण्डिस, ग्यास्ट्रिक, पायल्स, सुगर, प्रेसर, दम, ढाड तथा नसासम्बन्धी रोगको उपचार गर्दै आएका छन्। यी औषधालयमा योग, पञ्चकर्म, शिरोधारा र स्वेदनजस्ता सेवा उपलब्ध छन्। पालिकाले सबै वडामा नागरिक आरोग्य केन्द्र स्थापना गर्दै आयुर्वेद तथा प्राकृतिक उपचारको पहुँच विस्तार गरिरहेको जनाएको छ। विद्यालयस्तरमै आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सञ्चालन गरी विद्यार्थीमार्फत समुदायमा स्वास्थ्य चेतना फैलाउने काम भइरहेको छ। महिला स्वास्थ्य स्वयंसेविकामार्फत जेष्ठ नागरिक, सुत्केरी आमा तथा अपांगता भएका व्यक्तिलाई घरमै सेवा पुर्याइँदैछ। दैनिक २०–२५ जना स्थानीय बासिन्दा नियमित योग अभ्यासमा सहभागी हुने गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार