फाल्गुनन्दमा विद्यार्थी क्षमता परीक्षणसंगै ज्ञानवर्दक कार्यक्रम

  युद्धबहादुर बोहोरा
224 Shares

पाँचथर: फाल्गुनन्द गाउँपालिकाले विद्यार्थी क्षमता परीक्षणसंगै ज्ञानवर्दक कार्यक्रम निरन्तर संचालन गर्दै आएको छ । विहिबार ४ नम्बर वडास्थित पैंयौबोटे आधारभूत विद्यालय, चिलिङदिन हेलाङमा आधारभूत तह (कक्षा ६–८) का विद्यार्थीहरूबीच अन्तर आवि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ।

पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालय फाक्तेप कोल्बुङ प्रथम, सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडा दोस्रो, जलसिंह माध्यमिक विद्यालय चिम्फुला तेस्रो तथा जयनारायण माध्यमिक विद्यालय मेहेलबोटे सान्त्वना स्थानमा परेका छन्। विजेतालाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। पुरस्कार स्वरूप प्रथमलाई ५ हजार, दोस्रोलाई ४ हजार, तेस्रोलाई ३ हजार र सान्त्वनालाई २ हजार रुपैयाँ दिइएको आयोजकले जानकारी दिए। प्रतियोगितामा १८ सामुदायिक र १ निजी विद्यालय गरी जम्मा १९ विद्यालयका तीन–तीन जना विद्यार्थी सहभागी थिए। विभिन्न चरणमा विज्ञान, गणित, सामाजिक, भाषा–साहित्य, संस्कृति, स्वास्थ्य, खेलकुद र समसामयिक विषयका प्रश्न सोधिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष ठाकुरसिं नेम्बाङले विजेतालाई पुरस्कार वितरण गर्दै बधाई र शुभकामना व्यक्त गरे। उनले भने, “यस विद्यालयमा पहिलो पटक पालिका स्तरीय कार्यक्रम भएको हुँदा सबै हर्षित भएको  पाइयो ।’  आगामी दिनमा दुर्गम र विकट विद्यालयमा पनि यस्ता कार्यक्रम संचालन हुने उनले बताए । कार्यक्रम विद्यालयका प्रधानाध्यापक सन्तोष चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो।  ४ नम्बर वडाध्यक्ष दलबहादुर नेम्बाङ, महिला सदस्य विमला लिम्बु, शिक्षा शाखा प्रमुख मेदनी प्रसाईं र शिक्षा शाखाका बाबुराम राई, व्यवस्थापन समिति अध्यक्ष सन्तबहादुर नेम्बाङ र अभिभावकको  उपस्थिति रहेको थियो।

यसअघि पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले माध्यमिक तह (कक्षा ९–१२) का विद्यार्थीहरूबीच जलसिंह माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो। सो प्रतियोगितामा सिद्धदेवी मावि नवमीडाँडा प्रथम, जयनारायण आदर्श मावि मेहेलबोटे दोस्रो, सारताप मनोरत्न मावि तेस्रो तथा जनकल्याण मावि फाक्तेप सान्त्वना स्थानमा रहेका थिए। विजेतालाई क्रमशः नगद ९ हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्रदान गरिएको थियो। सहभागी सबै विद्यालयलाई दुवै कार्यक्रममा यातायात खर्च र सहभागिताको प्रमाणपत्र पनि दिइएको थियो।

यस पालिकाको शिक्षा शाखाले यस्ता कार्यक्रममार्फत स्थानीय पाठ्यक्रम प्रवर्द्धन, शैक्षिक गुणस्तर सुधार, विद्यार्थी प्रतिभा पहिचान र विद्यालय अनुगमनमा सहयोग पुर्‍याउँदै आएको जनाएको छ। साथै शाखाले स्थानीय पाठ्यक्रम प्रमोधिकरण कार्यक्रम, रियल प्लान अभिमुखीकरण तथा कार्यान्वयन र विद्यालय अवलोकन तथा शैक्षिक सुधारका पहलहरू निरन्तर अघि बढाउँदै आएको छ। प्रतियोगिताले विद्यार्थीहरूलाई ज्ञानवर्दक वातावरणमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै पालिकास्तरीय शिक्षा कार्यक्रमको महत्व र विद्यार्थी क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार