
पाँचथरः फाल्गुनन्द-३ चिम्फुलास्थित मेची राजमार्ग छेउमा अवस्थित जलसिंह माध्यमिक विद्यालय परिसरमा सरस्वती मन्दिर निर्माणको शुक्रबार औपचारिक रूपमा शिलान्यास गरिएको छ। करिब २ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त मन्दिर विद्यालय व्यवस्थापन समिति अध्यक्ष मणी कुमार लावतीले आफ्ना जीवित बुबा लक्ष्मी दास लावती र आमा पूर्ण माया नेम्वाङ लावतीको नाममा निर्माण गर्न लागेका हुन् ।

सरस्वती पूजाको अवसरमा गरिएको उक्त शिलान्यासले विद्यालयको शैक्षिक तथा सांस्कृतिक वातावरणलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। मन्दिरको अभावका कारण यसअघि विद्यार्थीहरूलाई पूजा–पाठ तथा धार्मिक गतिविधि सञ्चालन गर्न असहज हुँदै आएको थियो।
२०३५ सालमा स्थापना भएको जलसिंह माध्यमिक विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ। विद्यालयमा २१ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् भने करिब तीन सय विद्यार्थी अध्ययनरत छन्। विद्यालयको भौतिक विकासमा स्थानीय तह र समुदायको उल्लेखनीय योगदान रहँदै आएको छ। वडा कार्यालयबाट एक लाख रुपैयाँ सहयोग प्राप्त भएको छ भने विद्यालय रङरोगन, छ वटा कोठामा भुईँ प्लास्टर, स्कुल वाल मेसनरी लगायतका विभिन्न संरचनात्मक कार्यहरू जनश्रमदानमार्फत निरन्तर रूपमा सम्पन्न हुँदै आएको विद्यालयका प्रधानाध्यापक चन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
हाल विद्यालयसँग ५ रोपनी जग्गा रहेको छ। भौतिक संरचना सन्तोषजनक भए पनि अझ व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको विद्यालय प्रशासनको भनाइ छ। विशेषगरी खेल मैदानको अभावका कारण विद्यार्थीहरूलाई विभिन्न खेलकुद अभ्यास तथा प्रतियोगितामा सहभागी हुन कठिनाइ भइरहेको छ। त्यस्तै, माथिल्लो कक्षाका लागि विषयगत शिक्षकको अभाव पनि विद्यालयको प्रमुख चुनौतीका रूपमा देखिएको छ। विद्यालयका केही संरचना अझै अस्थायी प्रकृतिका छन् ।
आज शिलान्यास गरिएको सरस्वती मन्दिर यसै वैशाख महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ। विद्यालय प्रशासन तथा स्थानीयवासीहरूले उक्त मन्दिरले शैक्षिक वातावरणलाई थप अनुशासित, सकारात्मक र प्रेरणादायी बनाउने विश्वास व्यक्त गरेका छन्।






















































