जनकल्याण माविद्वारा सरस्वती पूजाको अवसरमा ३१ जनालाई सम्मान

  युद्धबहादुर बोहोरा
168 Shares


पाँचथरः सरस्वती पूजाको अवसरमा फाल्गुनन्द गाउँपालिका–५ स्थित जनकल्याण मावि, कोल्बुङले शुक्रबार ३१ जना शिक्षक तथा विद्यार्थीलाई सम्मान गरेको छ। विद्यालयका संस्थापक स्व. सुवासचन्द्र चेम्जोङ र धर्मपत्नी पवित्राको नाममा स्थापना गरिएको ६ लाख १५ हजार रुपैयाको अक्षय कोषको व्याजबाट यो सम्मान कार्यक्रम आयोजना गरिएको हो।

समाजका गरीब र जेहेनदार विद्यार्थीमध्ये २७ जना छात्रछात्रा (नर्सरीदेखि १२ कक्षासम्म) सम्मानित भए भने पुस्तकालय सञ्चालन र व्यवस्थापनमा योगदान पुर्याएका शिक्षक करिस्मा लिम्बु र अविचन्द्र चेम्जोङ पनि सम्मानित भए। यसैगरी, साहित्यकार, योगगुरु, लिम्बु भाषा, संस्कार र संस्कृति क्षेत्रमा योगदान पुर्याउने शिक्षक लालबहादुर चेम्जोङ र उत्कृष्ट लिम्बु भाषाका विद्यार्थी मविना चेम्जोङलाई नगदसहित पुरस्कार प्रदान गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष विष्णुकुमार चेम्जोङ, व्यवस्थापन समिति अध्यक्ष शेर बहादुर चेम्जोङ, शिक्षक अभिभावक संघ अध्यक्ष राजेश चेम्जोङ, तथा अक्षयकोषदाता परिवारका नन्द र विरेन्द्र चेम्जोङले सम्मानितहरूलाई पुरस्कार प्रदान गरे।

विद्यालयले २०२३ सालमा स्थापना भएदेखि विभिन्न विधाका विद्यार्थी र शिक्षकलाई अक्षय कोषको व्याजबाट नियमित सम्मान गर्दै आएको छ। नर्सरीदेखि १२ कक्षासम्म संचालन भइरहेको यस विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आएको छ। २०७८ सालमा फाल्गुनन्द गाउँपालिका स्तरीय उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्दै नमुना विद्यालयको उपाधि पाएको थियो र दुई लाख रुपैयाँ अनुदान प्राप्त गरेको थियो।

विद्यालयले ग्रामीण क्षेत्रका निम्न परिवारका बालबालिकालाई निःशुल्क अंग्रेजी माध्यमबाट अध्ययनको अवसर दिँदै आएको छ। हाल २३ रोपनी जमीनमा फैलिएको विद्यालयको खेल मैदान र भौतिक संरचना सन्तोषजनक भए पनि प्रधानाध्यापक पूर्णकुमार सदेम्बाका अनुसार घेराबारा र मुख्य प्रवेशद्वार तथा अन्य संरचना अझै सुधार गर्नुपर्ने आवश्यक छ। कार्यक्रम सञ्चालन शिक्षक गोपाल चेम्जोङले गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार