
इलाम : गत असोज १८ र १९ गते आएको प्राकृतिक प्रकोपपछि इलाम जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरिए पनि सो घोषणा व्यवहारमा लागू हुन नसकेको भन्दै जिल्लाका विभिन्न संघ–संस्थाले गम्भीर ध्यानाकर्षण गराएका छन्।
ईलाम उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ इलाम शाखा, होटल व्यवसायी संघ, निर्माण व्यवसायी संघ, यातायात व्यवसायी संघलगायत सरोकारवाला संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै जिल्लाको भौतिक पूर्वाधार, विशेषगरी सडक सञ्जालको अवस्था झनै दयनीय बन्दै गएको बताईएको छ ।
विज्ञप्तिमा जनाइए अनुसार संकटग्रस्त जिल्ला घोषणा पश्चात सडक तथा पुलको पुनर्निर्माण, मर्मत र स्तरोन्नतिका लागि प्राथमिकताका साथ पर्याप्त बजेट विनियोजन हुने अपेक्षा गरिए पनि हालसम्म मुख्य तथा सहायक सडकहरू जिर्ण अवस्थामा रहेका छन्।
मेची राजमार्गसहित अन्य ग्रामीण सडकहरू अवरुद्ध, जोखिमपूर्ण र आवागमनका लागि अत्यन्त कठिन बनेको उद्योग वाणिज्य संघ इलाम अध्यक्ष कृष्ण पौडेलले बताए । यस अवस्थाले सर्वसाधारणको दैनिक जनजीवन कष्टकर बनाउनुका साथै स्थानीय अर्थतन्त्र, व्यापार–व्यवसाय, पर्यटन र लगानीको वातावरणमा गम्भीर नकारात्मक प्रभाव पारेको अध्यक्ष पौडेलको भनाई छ।
सम्बन्धित निकायको ध्यानाकर्षण पटक–पटक गराउँदा पनि संकटग्रस्त जिल्ला घोषणा कागजमै सीमित रहनु दुःखद भएको भन्दै अब कागजी प्रक्रिया मात्र नभई व्यवहारमै देखिने गरी बजेट विनियोजन, योजनाको शीघ्र कार्यान्वयन र प्रभावकारी अनुगमन अपरिहार्य भइसकेको होटल ब्यबसायी संघ इलामका महासचिव प्रकाश चापागाईंको भनाइ छ।
वर्षायाम अगावै सडक तथा पुल पुनर्निर्माण सुरु नगरे इलाम सदरमुकामसँगै पाँचथर र ताप्लेजुङसँगको सडक सम्पर्क विच्छेद हुने जोखिम रहेको विज्ञप्तिमा चेतावनी दिइएको छ। यसले विगत वर्षझैं जनजीवन थप कष्टकर बन्ने भएकाले तत्काल भौतिक रूपमा पुनर्निर्माण प्रक्रिया सुरु गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको इलामका नागरिक अगुवा इस्वर चिपालुले बताए । उनले आफुहरुको माग प्रती सरकार सकारात्मक नबने र तत्काल बजेटको ब्यबस्थापन गरेर पुनर्निर्माणको काम सुचारू नगरे कडा आन्दोलनमा उत्रने समेत बताए ।
























































