रेडपाण्डा लुक्ने इलामको डाँडामा म्याराथन हुँदै


इलाम :  जैविक विविधता संरक्षण र दुर्लभ वन्यजन्तु रेडपाण्डाबारे जनचेतना बढाउने उद्देश्यसहित इलाममा रेडपान्डा म्याराथन हुने भएको छ । म्याराथन आगामी पुस १ गते आयोजना हुने भएको हो । इलाम बजारदेखि जिल्लाकै अग्लो डाँडो सन्दकपुरसम्म ४४.२ किलोमिटर दूरीमा म्याराथन (दौड) प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक दीपज्योति युवा क्लबले जानकारी दिएको छ।

समुद्री सतहदेखि १,८२० मिटरदेखि ३,६१० मिटर उचाइ समेट्ने गरी सञ्चालन हुने म्याराथनमा करिब एक सय धावक सहभागी हुने अनुमान गरिएको आयोजकका प्रतिनिधि राम रिमालले बिहीबार इलाममा पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

म्याराथनमा पुरुष खुला, महिला खुला र स्थानीय (इलाम, पाँचथर, ताप्लेजुङ) गरी तीन विधा रहनेछन्। खुला तर्फ पुरुष तथा महिलाका पुरस्कार राशि बराबर राखिएको क्लबले बताएको छ। पहिलो हुनेले डेढ लाख, दोस्रोले एक लाख, तेस्रोले ५० हजार र चौथो हुने धावकले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्। स्थानीय विधामा पहिलो हुनेले २५ हजार, दोस्रोले २० हजार, तेस्रोलाई १० हजार तथा चौथोलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ।

दौडका क्रममा स्वास्थ्यकर्मी सहितको टोली परिचालन गरिने र विभिन्न स्थानमा पानी, फलफूल तथा प्राथमिक उपचारको व्यवस्था रहने आयोजकले जानकारी दिएको छ ।

लोपोन्मुख जातिमा रहेको जनावर रेडपान्डा नेपालमा झण्डै एक हजारको बसोबास रहेको मानिन्छ। पूर्वी पहाडका इलाम, पाँचथर, ताप्लेजुङ र भारतीय सीमावर्ती क्षेत्र रेडपान्डाको प्रमुख आवास क्षेत्र मानिन्छ। संरक्षणका लागि विभिन्न संघ–संस्थाले करोडौँ रुपैयाँको परियोजना सञ्चालन गर्दै आएका छन्। सोही अभियानलाई थप प्रभावकारी बनाउन तथा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन म्याराथन आयोजना गरिएको बताईएको छ ।

युवा क्लबले गत वर्ष ताप्लेजुङमा अन्तर्राष्ट्रिय ट्रेल म्याराथन आयोजना गरेको थियो। खेलकुदलाई प्रकृति संरक्षणसँग जोड्न सकिन्छ भन्ने सन्देश दिनु नै हाम्रो उद्देश्य हो रहेको रिमालको भनाइ थियो, “यस किसिमका कार्यक्रमले स्थानीय समुदायमा वन्यजन्तु संरक्षणप्रति जागरुकता बढ्छ भन्ने आशा छ।”रिमालले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार