
पाँचथरः फिदिम नगरपालिकामा सञ्चालन गरिएको पाँचदिने निशुल्क पातञ्जल योग विज्ञान शिविर बिहीबार सम्पन्न भएको छ। क्षितिज नाट्य समूह पाँचथरको आयोजनामा सम्पन्न उक्त शिविरको सहजीकरण पातञ्जल योग समितिका केन्द्रीय उपाध्यक्ष जिपी तिवारी, केन्द्रीय सदस्य श्याम ल्वागुन र हेमन्तीदेवी गजुरेल तथा प्रदेश सचिव लोकनाथ गजुरेलले गरेका थिए।
शारीरिक र मानसिक रूपमा स्वस्थ, निरोगी र सन्तुलित जीवनशैली अपनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकहरूले जनाएका छन्। शिविरको समापन समारोहका अवसरमा पहिलोपटक हेम प्रकाश गौतमको अध्यक्षतामा नौ सदस्यीय पातञ्जल योग समिति गठन गरिएको छ। नवगठित समितिमा रुपादेवी पोख्रेल उपाध्यक्ष, कुवेरनाथ ढकाल सचिव, बालकृष्ण बास्कोटा सह–सचिव, भुमादेवी खतिवडा कोषाध्यक्ष र अन्य पाँच जना सदस्य रहेका छन्।
त्यस्तै, पातञ्जल योग समितिका प्रशिक्षकका रूपमा राजेन्द्र अधिकारी, शंकर आङदेम्बे र भुमादेवी खतिवडालाई जिम्मेवारी दिइएको छ। एक महिनासम्म सञ्चालन गरिएको भौतिक तथा अनलाइन कक्षा सम्पन्न गरेपछि ती प्रशिक्षकहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
शिविरको उद्घाटन आइतबार फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्लेले गरेका थिए भने समापन उपप्रमुख राधाकृष्ण न्यौपानेले गरेका थिए। समापन कार्यक्रममा फिदिम–४ का वडाध्यक्ष उपेन्द्र लाओती, उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष नरेन्द्र प्रसाद अधिकारी र जिल्ला आयुर्वेद कार्यालयका कविराज टेकनाथ अर्याल लगायतको उपस्थिति थियो।
शिविरमा करिब ४५ जना सहभागी भएका थिए। सहभागीहरूले योगमार्फत तनावमुक्त जीवनशैली र निरोगी समाज निर्माणमा योगदान पुर्याउने संकल्प गरेका छन्।






















































