मुन्धुममा “थेवा माङ” को सान्दर्भिकता सम्बन्धी विचार गोष्ठी

  नयाँ बुलन्द
511 Shares

काठमाडौं : याक्थुङ नेम्बाङ समाज काठमाडौंको आयोजनामा एक विशेष विचार गोष्ठी अनामनगरस्थित युनियन हाउसमा सम्पन्न भएको छ। गोष्ठीको प्रमुख अतिथि पूर्व कुलपति तथा ख्यातिप्राप्त मुन्धुम व्याख्याता तिल विक्रम नेम्बाङ ‘वैरागी कांईला’ रहनुभएको थियो।

“मुन्धुम जीवन दर्शन हो” भन्ने वैरागी कांईलाको भनाइ उद्धृत गर्दै गोष्ठीमा मुन्धुममा वर्णित थेवा माङको सैद्धान्तिक र आध्यात्मिक पक्षहरूबारे गहन छलफल गरिएको थियो। उहाँले मुन्धुमलाई ब्रह्माण्ड, प्रकृति र मानव जीवनबीचको सम्बन्ध व्याख्या गर्ने ज्ञानको स्रोत बताउँदै, थेवा माङलाई शक्तिको ऊर्जाका रूपमा पुजिने देवताका देवता भएको स्पष्ट गर्नुभयो।

कार्यक्रममा विभिन्न विद्वान र शोधकर्ताहरूले आफ्नो धारणा प्रस्तुत गरे। येहाङ लावतीले थेवा माङलाई सम्पूर्ण लिम्बू समुदायले मान्ने सामाङ्ग (सामूहिक देवता) भएको तर्क प्रस्तुत गरे भने अमर तुम्याङ्गले थेवाका चरित्रमा आधारित भएर उनी माङ हुन् भन्ने सैद्धान्तिक आधारहरू औंल्याए। पूर्व प्राध्यापक अर्जुन नुगो लिम्बूले मुन्धुम अध्ययनलाई आधुनिक विज्ञानसँग जोडेर अनुसन्धानको क्षेत्र विस्तार गर्नुपर्ने धारणा राखे।

नवीन लिङ्देन र मुन्धुम लिम्बू मिभकले थेवा माङलाई किरात धर्म अनुसार हाङसाम (घरायसी संरक्षक देवता) को रूपमा प्रत्येक घरमा पुजिने देवता भएको उल्लेख गर्दै, थेवा शक्तिशाली हाङसामको रूपमा स्वीकारिने बताए।

गोष्ठीमा झण्डै ६० जना सहभागी भएका थिए। सहभागीतामा मुन्धुम र दर्शनमा चासो राख्ने विद्यार्थी, पीएचडी स्कलरहरू सूर्य माखिम (बौद्ध दर्शन) र दीपक गुप्ता (वैदिक एवं रैथाने ज्ञान), नेपाल प्रहरीका ए.आई.जी. चन्द्र कुबेर खापुङ, अधिकृत दिल कुमार योङहाङ, सञ्जय इङनामलगायत विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा याक्थुङ नेम्बाङ समाजका केन्द्रीय सल्लाहकार बिरदल नेम्बाङले “थेवा माङहिम” गतिविधिबारे जानकारी दिनुहुँदै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। इष्ट ब्लक सेन्टरका भेषराज चेम्जोङले पनि मन्तव्य राख्नुभएको थियो।

गोष्ठी समाजका अध्यक्ष प्रिय कुमार नेम्बाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन थेवा विषयमा शोधरत मुकुम नेम्बाङले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार